काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बागमती प्रदेशको सहकारी ऐन संसोधनको तयारी भइरहेको बताएका छन् । उनले सहकारी मार्फत गलत काम गर्नेलाई कारबाही गर्नपनि ऐन संसोधन गर्नुपर्ने भएको बताएका हुन् ।
बागमती प्रदेश सरकारको वित्तीय सहयोग र बागमती प्रदेश सहकारी संघको आयोजनामा पुष २५ गतेबाट ललितपुरमा सुरु भएको चारदिने सहकारी नेतृत्व विकास तालिकको उद्घाटन गर्दै उनले संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठनको प्रक्रिया अगाडी बढाएको पनि बताएका छन् ।
कतिपय सहकारी संस्थाले सदस्यको बचत अपचलन गरेर सञ्चालकहरु सम्र्पक विहिन भएको र केही सञ्चालकहरु विदेश समेत पलायन भएको भन्दै गलत गर्ने सहकारीलाई कारवाही गर्न मन्त्रालयले उक्त समिति गठनको प्रक्रिया अगाडी बढाएको बताए । प्रदेश सहकारी ऐन संम्सोधनको प्रक्रिया अगाडी बढाएको र सहभागीहरुले पनि ऐन संम्सोधनका लागि आफ्नो सुझाव दिन आग्रह गरे ।
गलत गर्ने सहकारी संस्थालाई कारवाही नगरेसम्म सहकारीको समस्या समाधान नहुने र यसले सहकारीप्रति सकरात्मक वातावरण सृजना नगर्ने भएकाले सदस्यको बचत दुरुपयोग गर्ने सहकारी संस्थालाई कानुनी दायरमा ल्याइने समेत उनले प्रष्ट पारे । उनले भने केही सहकारीलाइ कारबाही गरेरै देखाउँछै, गलत कार्यलाई निरुसाहित पार्न नसके सबै सहकारीप्रति सदस्यको विश्वास टुट्ने भयो ।
गल्ती गर्ने संस्थालाई सरकारले कारवाही गर्ने रहेछ भन्ने सन्देश दिएर सहकारीप्रति गुमेको विश्वास स्थापित गर्न आफुहहरु लागि परेको उनको भनाई छ । ‘अहिले सदस्यहरुमा सबै सहकारी नराम्रा छन् र मेरो बचत फिर्ता हुदैन कि भन्ने डर छ’ उनले भने, ‘गलत गर्ने सहकारीलाई कारवाही गरेर राम्रा सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्छ ।
गल्ती गर्ने सहकारी संस्थालाई कानुनी दायरामा ल्याउन नसके सदस्यमा सरकार रहेको अनुभव हुदैन र यसले सिङ्गो अभियानलाई नै धक्का पुग्छ ।’
विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीले सहकारी क्षेत्रलाई अप्ठ्यारोमा पारेको भए पनि केही सहकारीका कारण बचतकर्ता र सहकारीबीच अविश्वासको खाडल बढेको र यी दुईबीचको अविश्वासलाई कम गर्न सके सहकारीलाई पहिलाकै अवस्थामा फर्काउन सकिने उनको भनाई छ ।
अर्थतन्त्रमा सामान्य सुधार देखिन थालेकाले मुलकमा वित्तीय संकटको अन्त्य भई सहकारी अभियानलाई पनि राम्रो हुने उनको विश्वास छ । चार दिनको तालिमबाट सिप र क्षमता विकास गरी अभियानलाई थप उचाइमा लैजान सहभागीहरुलाई उनको आग्रह छ ।
संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजाल, सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा सहकारी विकाश बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment