काठमाडौं । यो पिडा ओरेण्टललगायत सहकारी पिडितको हो । एघार वर्षसम्म आफूले गरेको बचत ओरेण्टल सहकारीबाट फिर्ता नपाएपछि पिडितले भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण सचिवसंग पोखेको पिडा।
काठमाडौमा हिमशिला मिडियाले आयोजना गरेको ‘सहकारीको पैसा कहाँ गयो ?’ विषयक एक दिने सम्मेलनमा बोल्ने सहकारी पिडतहरुले सचिवसंग गुनासो गरेका थिए ।
सहकारीले खाली जग्गा बेचेर दिन्छु भन्छ, जग्गाजती बैकहरुले लिलाम गरिसके, हामी पिडितहरुलाई कहाँको जग्गा बेचेर दिने हो ? पिडितले भने ।
सहकारीका संचालकले पैसा कहाँ लगे ? जग्गा नभएपनि जग्गा बेचेर दिन्छु भनेका छन्, के अव टुडिखेल प्लटिङ गरेर दिन्छु भन्लान् हामीले पत्याउने ? उनीहरुले सरकारले पनि विभिन्न आयोग र समिति मात्र बनाए समस्या समाधान भने गर्न नसकेकोमा आक्रोश पोखे ।
कार्यक्रममा नेपालका सहकारीहरुले अनुपात्दक क्षेत्रमा लगानी गर्दा विश्वसनीयता गुम्दै गएकोमा चिन्ता व्यक्त गरे । उनीहरुले सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्ने औंल्याए ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब गोकर्णमणि दुवाडीले सहकारीले जे उद्देश्यका लागि लगानी गर्नुपर्ने हो त्यहाँ लगानी नगर्दा समस्या देखिएको बताए । ‘गर्नुपर्ने क्षेत्रमा लगानी नगर्नु कानून अनुरुप होइन ।
सहकारीमा आएको पैसा कसरी आयो, के का लागि आएको हो र कहाँ लगानी भयो भन्ने विषयका बारेमा पहिले अध्ययन हुनुपर्छ’ उनले भने,‘उत्पादन र सेवाका क्षेत्रमा लगानी नहुनु सहकारीको मूल्य मान्यता होइन । संस्था आफ्नै कारणले पनि अविश्वासको वातावरण बनाइरहेका छन् । नियमन गर्ने सरकारले मात्र होइन संस्था आफैं जिम्मेवार बन्नुपर्छ ।’
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमात्रै नभइ वित्तीय क्षेत्रमा नै असर रहेको बताए । यसको प्रमुख कारण सदस्यमा विश्वास दिलाउन नसक्नु नै रहेको बताए ।
‘विश्वास गुमेपछि अलिकति बैंकमा राखे, अलिकति घरमा लगेर राखे होलान’ उनले भने, ‘केही बदमास सहकारीका कारण समस्या देखियो, तर सबैतिर त्यस्तो छैन ।’ उनले कार्यदलले बुझाएको प्रतिवेदनमा सहकारीका सबै समस्याहरु र समाधानका उपायहरु तयार गरेको जानकारी दिए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रको पैसा गैरसरकारी क्षेत्रमा गएको र केही रकम घरमा थन्किएको बताए । उनले केही रकम विदेशमा पनि गएको बताए ।
सहकारीप्रतिको विश्वास गुमेको कारण पैसा बाहिरिएको बताउँदै अब सहकारी बचाउन सबै जुट्नुपर्ने बताए । ‘विशेषगरी सहकारी क्षेत्रमा विश्वासको वातावरण बढाउन अभियन्ता, मिडिया र सदस्यहरु सबै जुट्नुपर्छ ।
सहकारीमा तरलताको अवस्थामा सिर्जना भइरहेका बेला उत्पादक क्षेत्रमा नगएको भन्दा पनि विश्वासको वातावरण बनाउनुपर्छ ,उनले भने, ‘हो, यतिबेला केही पैसा गैर सहकारी क्षेत्रमा गएको छ, केही घरमा बसेको छ, केही विदेश गएको होला तर तत्कालीन अवस्थामा विश्वासको वातावरण बनाउनतर्फ लाग्नुपर्छ ।’
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारीको पैसा उद्यमशीलतामा जानू पर्नेमा त्यहाँ नगएको बताउँदै सहकारी क्षेत्रमा समस्या आउनुमा नियामक निकायको ठूलो कमजोरी रहेको जनाए । सजिलोसँग नाफा कमाउने सोचका कारण सहकारी क्षेत्रको पैसा अनुत्पादक क्षेत्रमा गएको बताए ।
कार्यक्रमका बारेमा प्रष्ट पार्दै हिमशिला मिडिया कम्पनीका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अभियन्ता, नियमक निकाय, सरोकारवालाबीच आपसी संवाद, अन्तरक्रियाको अभाव हुँदा पनि सहकारी अभियानमा अविश्वासको वातावरण बढेको बताए ।
उनले सहकारी क्षेत्रका मुद्दाका विषयमा आफूहरुले नियमित वहस, छलफल र अन्तरक्रिया गर्दै संचारमाध्यमबाट आवाजहरु उठाउँदै आएको बताए ।
सम्मेलनको महेन्द्र भट्टराईले सहजीकरण गरेका थिए । सम्मेलनमा दर्जन बढी सहकारी सदस्य एवम अभियन्ताहरुले आफ्नो धारणा राखेका थिए ।
Leave a comment