हाइलाइट

सहकारीमा केन्द्रीकृत नीतिले काम गर्दैन : नारायणमान बिजुक्छें

सहकारीमा केन्द्रीकृत नीतिले काम गर्दैन : नारायणमान बिजुक्छें :: Sahakari Akhabar

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सहकारीमा केन्द्रीकृत नीतिले काम नगर्ने बताएका छन् । उनले राज्य संघीयतामा गईसकेपछि केन्द्रीकृत नीति नियम लाद्नु ठिक नभएको बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरको १९ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले सहकारीमा एक गाउँको आवश्यकता अर्को गाउँसंग फरक हुने भएकोले केन्द्रीकृत नीतिले काम नगर्ने बताए ।

सहकारी, बैंक वित्तीय संस्था भन्दा पृथक हुुनुपर्ने भन्दै धनी वर्गलाई सहकारी नभएर किसान न्यून आय भएका वर्गको उत्थानको लागि हुनुपर्ने बताए।

सहकारीले नाफा घाटाको भन्दा पनि सदस्यको जीवन परिवर्तनका लागि कार्य गर्नुपर्ने उनको भनाइ थियो । सहकारीले उत्पादनमुलक उद्योग, कृषि, उपभोक्ता पसल, रोजगारी सिर्जना लगायतको क्षेत्रमा ध्यानदिनुपर्ने उनले भने ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा लोभी बचतकर्ता, कमजोर नियमन र कमजोर सहकारी अभियानका कारण सहकारी क्षेत्रमा संकट देखिएको बताए । सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरु तत्काल कार्यान्वयनमा ल्याई सदस्यको बचत सुरक्षा गर्नुपर्ने उनको भनाइ थियो ।

सभामा सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७९ / ८० को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गरेका थिए ।

संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७९ / ८० को वित्तीय प्रगति प्रतिवेदन पेश गरेका थिए । सभाले आ.व.२०७९ / ८० मा २ अर्व २२ करोड ७४ लाख ३९ हजारको वासलात र ३ करोड ४० लाख ५३ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ ।

सभामा राष्ट्रिय सहकारी महासंघका संचालक टेक प्रसाद चौलागाई, नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघका अध्यक्ष परितोष पौड्याल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव प्रसाद सापकोटा, संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले शुभकामना व्यक्त गरे ।



Leave a comment