विराटनगर । इटहरीमा मुख्य कार्यालय रहेको अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ५ जना सञ्चालक पक्राउ परेका छन्। बचतकर्ताहरूको करिब ४० करोड रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
बचतकर्ताको उजुरीको आधारमा संस्थाका अध्यक्ष फणीन्द्र मगरसहित शिला गजमेर, राहुल अग्रवाल, कुमार आले र अर्का एक व्यक्ति पक्राउ परेका हुन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए ।
उजुरी दिएपछि पटक–पटक बचतकर्तासँग छलफल भएर रकम फिर्ता गर्ने सहमति सहकारीले गरेको भएपनि त्यसको कार्यान्वयन नगरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
ठगी प्रकरणको थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्नसक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
गत साउनदेखि सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताहरू आन्दोलित बनेका थिए । बचतकर्ताहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सञ्चालकको घरसमेत घेराउ गरेका थिए ।
बचतकर्ताले दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्दै आएका थिए । सहकारीमा करिब ५ हजार बचतकर्ता रहेको बताइएको छ ।
सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्रसमेत राखेर कारोबार सञ्चालन गरिरहेको छ ।
Leave a comment