काठमाडौं । एक्सेस सिल्भर ब्राण्डप्राप्त भनेर प्रचार गरिरहेको एक बचत तथा ऋण सहकारी संस्थाको बाह्य ऋण भने आधा अर्व नाघेको छ ।
काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको बाह्य ऋण ५१ करोड ६६ लाख ८५ हजार ४ सय रुपैंयाँ रहेको छ ।
यसै संस्थाको गत वर्ष ४८ करोड २३ लाख ३६ हजार २९५ रुपैंयाँ बाह्य ऋण रहेको थियो । संस्थाले यो वर्ष ३४ करोड बाह्य ऋण थप गरेको छ ।संस्थाले बाह्य ऋणको ब्याज ७ करोड २२ लाख २८ हजार २३४ रुपैंयाँ तथा २९ लाख ९५ हजार ६५० रुपैंयाँ सेवाशुल्क भुक्तानी गरेको छ ।
संस्थाले एक्कुबाट एक्सेस ब्रोन्च ब्राण्ड र पछिल्लो पटक एक्सेस सिल्भर ब्राण्डप्राप्त भनेर प्रचार गरिरहेको छ । एक्कुले प्रदान गर्ने उक्त ब्राण्ड एक वर्षकालागि मात्र मान्यता दिएको हुन्छ । अक्कुले एक वर्षका लागि मात्र प्रमाणीकरण गरेपनि संस्थाले अहिले पनि एक्सेस ब्राण्ड प्राप्त भएको भन्दै प्रचार गर्ने गरेको छ ।
‘ब्राण्डको सम्झौतामै एक वर्षका लागि भनेर अवधि तोकिएको हुन्छ’ स्रोतले भने, ‘एकपटक पाएको ब्राण्डलाई सधै प्रचारप्रसाद गर्न सम्झौता विपरित हो ।’ ब्राण्डको दुरुपयोग रोक्नु नेफ्स्कूनको जिम्मेवारी भएपनि यतातर्फ चासो नदिएको स्रोतले बतायो । ब्राण्ड प्राप्त संस्था भनेर प्रचार गरेपनि संस्थाको सुसाशनमा भने प्रश्न उठ्नथालेको छ ।
संस्थाका संचालकको सेवासुविधालाई लिएर सदस्यले प्रश्न उठाउन थालेका छन् । त्यसैगरी अधिकांश संचालकहरु दुइदेखि चारवटासम्म उपसमितिमा बसेर बैठक भत्ता र अन्य सेवा लिइरहेका छन् ।
संस्थाको संचालक समिति तथा उपसमितिहरुले बैठक भत्ता, यातायात खर्च, संचार खर्च तथा इन्धन खर्चका नाममा मोटै रकम लिने गरेको पाइएको छ । संस्थाको आर्थिक वर्ष ०७९ / ०८० को प्रतिवेदनमा २३ वटा समिति÷ उपसमिति छन् ।
संचालक समितिको बैठक भत्ता ६ लाख १८ हजार छ भने विभिन्न उपसमितिहरुको बैठक भत्ता ७ लाख ५९ हजार ६०० रुपैंयाँ रहेको छ । त्यसैगरी समिति / उपसमितिको संचार खर्च ६ लाख ५४ हजार रुपैंयाँ रहेको छ ।
समिति / उपसमितिको यातायात खर्च ९ लाख ९० हजार ७४ रुपैंयाँ र सवारी साधन इन्धन खर्च बापत बार्षिक १४ लाख २५ हजार ७६३ रुपैंयाा खर्च भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाको यो वर्ष २१ वटा समिति उपसमितिको बैठक बसेको छ ।
उपसमितिका पदाधिकारीमा अधिकांश संचालक समितिका ब्यक्तिहरुनै दोहोरिएका छन् । दोहोरिनेमा संचालक मुकुन्दप्रसाद अर्याल संचालक सहित शिक्षा, ऋण र पदपूर्ति उपसमितिमा रहेका छन् ।
त्यसैगरी संस्थाका सचिव मुकुन्द शर्मा संचालक सहित अनुगमन र पदपूर्ती उपसमितिमा समेत रहेका छन् । संस्थाका कोषाध्यक्ष सरोजकुमार तिमल्सेना एक्सेस कार्यक्रम ब्यवस्थापन उपसमितिमा रहेका छन् ।
संचालक कृष्ण थापा कृषि तथा ब्यवसाय प्रवर्धन उपसमितिमा छन् भने राजसुन्दर रघु श्रेष्ठ संचालक सहित सामाजिक सेवा उपसमितिमा रहेका छन् । त्यसैगरी संचालक सुकुमान तामाङ ऋण उपसमितिमा पनि छन भने संचालक मदन खकुरेल एक्सेस कार्यक्रम ब्यवस्थापन उपसमितिमा छन् । संचालक कान्छा प्रधान र भिमप्रसाद शर्मा अनुगमन उपसमितिमा बसेका छन् ।
त्यसैगरी संचालक रामशरण राउत ऋण उपसमिति तथा पुरुषोत्तम शर्मा एक्सेस कार्यक्रम ब्यवस्थापन उपसमितिमा रहेका छन् । संचालक कौशलराज खड्का र भवानी थापा प्रचार प्रसार तथा प्रकाशन उपसमिति तथा देवकी आचार्य दुलाल महिला विकास उपसमितिमा बसेका छन्।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत पनि पदपूर्ती उपसमितिमा बसेर बैठक भत्ता लिएका छन् । उनको मासिक भत्ता ५० हजार त्यसैगरी घरभाडा १५ हजार र मासिक ६० लिटर इन्धन सेवा लिएको प्रतिवेदनमा उल्लेख छ ।
बिरोध पछि संस्थाको विज्ञप्ती
पछिल्लो समय संस्थाका अध्यक्ष प्रकाश बञ्जराको बार्षिक भत्ता र संस्थाको सवारी साधन दुरुपयोको विषयमा विरोध भइरहेको छ । अध्यक्ष बञ्जाराको बार्षिक बैठक भत्ता ५३ हजार संचार खर्च ६६ हजार त्यसैगरी दैनिक भत्ता ४ लाख ७८ हजार र इन्धन खर्च १ लाख ३६ हजार ६३ रुपैंयाँ गरी कुल बार्षिक ७ लाख ३३ हजार ६३ रुपैंयाँ लिएकोमा सदस्यले विरोध गरेका छन् ।
संचालकको उक्त विषयलाई संस्थाले सामाजिक संजालमार्फत विज्ञप्ती प्रकाशन गरी स्पष्ट पारेको बताएको छ । संस्थाले प्रकाशन गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘संस्थामा हाल ४ थान गाडी र १३ थान मोटरसाईकल संस्थाको स्वामित्वमा रहेका छन् । जसमध्ये २ थान गाडी र मोटरसाईकलहरु कार्यालय प्रयोजनका लागि संस्थाको नीति बमोजिम प्रयोग भएको छ ।
१ थान गाडी संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सुविधाको रुपमा दिईएको र साविक पलाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्थाको नामबाट स्वामित्व हस्तान्तरण भई आएको १ थान गाडी संस्थाका नायव प्रमुख कार्यकारी अधिकृतलाई सुविधाको रुपमा दिईएको छ ।
संस्थाले वार्षिक साधारण सभाबाट निर्णय भए अनुसार अध्यक्षलाई सञ्चार गर्नको लागि संस्थाले मोबाइल फोन, ल्याण्डलाईन फोन र ईमेल ईन्टरनेटको लागि मासिक ५ हजार ननाघ्ने गरी र संस्थाले उपलब्ध गराएको सियुजीसिममा मासिक ५ सयको रिचार्जको संस्था आफैँले बिल भुक्तानी गर्ने गरेको बताएको छ ।
उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा संयोजक लगायत अन्य सञ्चालक तथा लेखा सदस्यहरू तथा सल्लाहकारहरूलाई सञ्चार खर्च वापत मासिक २ हजारको दरले ईन्टरनेट वा मोबाईलको बिल संस्थाले भुक्तानी गर्ने गरेको छ ।
संस्थाले लेखा संयोजक, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई समेत सियूजी सिमको ब्यवस्था गरी मासिक ५ सयको रिचार्ज उपलब्ध गराएको छ । सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजकलाई ५ सयको रिचार्ज सुविधा उपलब्ध गराईएको छ ।
संस्थाको बढोत्तरीसँगै सञ्चालक समितिले संस्थामा बढी समय खट्नुपर्ने भएकोले संस्थाको दैनिक नियमित कामकाजमा दैनिक ३ घण्टा भन्दा बढी समय सहभागी हुँदा अध्यक्षलाई काम गरेको दिनको दैनिक भत्ता २ हजारमा करकट्टी गरी र अन्य सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई १ हजारमा करकट्टी गरी उपस्थिति र कार्यसम्पादनको आधारमा भुक्तानी उपलब्ध गराईएको विज्ञप्तीमा उल्लेख छ ।’
Leave a comment