काठमाडौं । बा २१ च ६३३२ नम्बरको स्कारपियो जिप, साइडमा ठूलो अक्षरमा NEFSCUN लेखिएको छ । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को मातहतमा रहेको यो सवारीसाधान सहकारी क्षेत्रको प्रवर्धनमा संचालकहरुले प्रयोग गर्दै आएका थिए ।
तर, आजकाल यो सवारी साधान सहकारी क्षेत्रको प्रवर्धनमा प्रयोग कम हुनेगरेको छ । यसको प्रयोग सहकारी प्रवर्धनका काममा कम, राजनीतिक पार्टीको बैठक, भेटघाट, र अध्यक्ष पौड्यालका व्यक्तिगत काम र घुमघाममा बढी हुने गरेको पाइएको छ ।
कार्तिक २५ गते पनि महोत्तरी जिल्लाको बर्दिबासमा आयोजित नेकपा एमालेको सहकारी विभागले आयोजना गरेको ‘अगुवा सहकारीकर्मीहरुको भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम’ मा सहभागिताका लागि संघको सवारीसाधान दुरुपयोग गरेको पाइएको छ ।
संघको गाडीमा अध्यक्ष पौड्याल सहित राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाई र जिल्ला सहकारी संघ काठमाडौका उपाध्यक्ष खेम सुवेदी चढेका थिए । तर, गाडी कात्तिक २४ गते बेलुकी साढे ४ बजेतिर काभ्रेको धुलिखेल नजिकै दुर्घटनामा परेपनि घटनालाई हालसम्म गुपचुप राखिएको छ ।
दुर्घटनामा मानविय क्षति नभएपनि संघको सवारी साधान क्षतिग्रस्त भएको छ । यसबारे अहिलेसम्म अध्यक्षले औपचारिक जानकारी नदिएको संघ स्रोतले जानकारी दियो । संघको गाडी दुर्घटनामा परेपछि उनीहरु निजी गाडीको व्यवस्था गरी कार्यक्रममा सहभागि हुन गएका थिए ।
अध्यक्ष सहभागि हुने कार्यक्रम र सवारीसाधनको प्रयोगबारे संघमा अग्रीम जानकारी गराउने प्रचलन भएपनि पछिल्लो समय कार्यक्रमपछि मात्र थाहा हुने गरेको एक कर्मचारीले जानकारी दिए । ‘आजकाल अध्यक्षको कार्यक्रम र संघको सवारी साधानको प्रयोगबारे कुनै औपचारिक जानकारी हुदैन’ संघका ती कर्मचारीले भने, ‘कार्यक्रम सकिएपछि मात्र हामीलाई थाहा हुने हो, कहाँ के कार्यक्रममा भयो जानकारी हुदैन ।’
उक्त दिन संघको आफ्नो कुनै पूर्व निर्धारित कार्यक्रम नभएको तर अध्यक्षले जिल्लाका सहकारी भ्रमणको कार्यक्रम भएको अवेर जानकारी दिएको उक्त कर्मचारीले बताए ।
यसअघि पनि अध्यक्ष पौडेलले तनहुँ जिल्लामा आयोजित पार्टीको बैठकमा भाग लिनका लागि संघको सवारीसाधन प्रयोग गरेको भन्दै आलोचना भएको थियो । यस्तै संघको सवारीसाधान प्रयोग गरी उनी काभ्रेको दोलालघाटमा पारिवारीक घुमघाममा समेत सहभागी भएका थिए ।
नेफ्स्कूनमा नयाँ नेतृत्व चयन सहितको साधारणसभा नजिकिदै गएपछि अध्यक्ष पौड्यालले पुनः अध्यक्षका लागि सक्रिय भएका छन् । तर, यसका लागि उनले संघको स्रोत साधान दुरुपयोग गर्नुका साथै राजनीतिक पार्टीको आड लिएको भन्दै सहकारी अभियानभित्र चर्को आलोचना भइरहेको छ ।
Leave a comment