काठमाडौं । सहकारी संघसंस्थाका संचालक समिति तथा व्यवस्थापकको सम्पती विवरण पेश गर्न सहकारी विभागले निर्देशन दिएको छ ।
विभागले सबै सहकारी संघसंस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु र व्यवस्थापकको सम्पत्ति विवरण संकलन गरी त्यसलाई पुष्टि गर्ने कागजात सहित २०८० साल मंसिर मसान्तभित्र विभागमा पेश गर्ने भनेको हो ।
त्यसैगरी विभागले सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझाव कार्यान्वयन गरी सहकारी क्षेत्रमा सुशासनका कायम गर्नका लागि विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुलाई निर्देशन जारी गरेको छ।
निर्देशनमा सबै सहकारी संघसंस्थाहरुले २०८० मंसिर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्ती लगायतका वित्तीय विवरण समेटिएको स्वेतपत्र जारी गरी विभागमा पेश गर्ने पनि भनेको छ ।
त्यसैगरी बचत तथा ऋणको मूख्य कारोवार गर्ने सबै सहकारी संघसंस्थाहरुले २०८० चैत्र मसान्तभित्र माग अनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना २०८० साल मंसिर मसान्तभित्र पेश गर्न भनिएको छ ।
निर्देशनमा सबै सहकारी संघसंस्थाहरुले अनिवार्य रुपमा कोपोमिस प्रणालीमा तोकिए बमोजिमका विवरण प्रविष्टी गर्ने पनि निर्देशन जारी गरेको छ ।
Leave a comment