काठमाडौं । सहकारी संस्था सदस्यहरुका लागि हो र संस्थाले सदस्यको आवश्यकतालाई मध्यनजर गरी उनीहरुको आर्थिक उन्नतीकालागि लगानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सदस्यलाई सहुलियत दरमा ऋण परिचालन गर्ने र सदस्यको उन्नतीकालागि आर्थिक सामाजिक र सास्कृतिक काम गर्नु पर्छ भनिन्छ ।
त्यसैगरी सहकारी संस्थाले सदस्यको आवश्यकता अनुसार लगानी गर्ने र उनीहरुको ब्यवसायमा टेवा पुर्याउन सहुलिएत ब्याजदरमा लगानी गनुपर्छ भनिएको छ ।
तर ठूला भनिएका सहकारीका संचालकहरु र कर्मचारीले नै सदस्यको पैसा सस्तो ब्याजदरमा लिने र बर्षौसम्म नतिर्दा संस्था र सदस्य मर्कामा पर्ने गरेका छन् ।
यसैको एउटा उदाहरण हो बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था । यस संस्थाका संचालक समितिका ५० प्रतिशत पदाधिकारीहरुले सदस्यलाई भन्दा सहुलियत दरमा संस्थाबाट ऋण चलाएका छन् ।
संस्थाका सातजना संचालक तथा तीनजना लेखा समिति गरी दशजनामध्ये ५ जनाले सस्तो ब्याज दरमा ऋण चलाएको संस्थाको लेखा समितिको प्रतिवेदनमा औंल्याइएको छ ।
संस्थाका संचालक समितिले लिएको ३ करोड २१ लाख ७३ हजार ६३६ रुपैंया अझै तिर्न बाँकी छ भने कर्मचारीले चलाएको ४९ लाख ५४ हजार ६९७ रुपैंयाँ पनि संस्थामा तिरेका छैनन् ।
संस्थाको २६ औं बार्षिक प्रतिवेदनमा लेखापरिक्षकले यस आवको असार मसान्तसम्ममा ७ जना संचालक तथा ३ जना लेखा सुपरिवेक्षण समितिहरु मध्ये ५ जनाले ऋण लिएको पाइएको उल्लेख गरेको छ । साथै ‘संस्थाका संचालक समितिका सदस्यलाई सहुलियतमा ऋण लगानी गरिएको पाइयो’ लेखापरिक्षकले टिप्पणी गरेको छ ।
संस्थाले यस आवमा कर्जा लगानी १७.०५ प्रतिशतले घटेको तथा प्रति सदस्य अधिकतम् कर्जा सिमा कायम गर्न भन्दै कूल ऋणको २९.६४ प्रतिशत घर निर्माण तथा जग्गा खरिद कर्जा र २९.३७ प्रतिशत ब्यापारिक कर्जामा लगानी भएकोमा लेखा समितिले टिप्पणी गरेको छ ।
संस्थाले कूल ऋणको १३.०२ प्रतिशत एनएमसी सजिलो ऋणका नाममा लगानी गरेको छ जुन ऋण ब्याज मात्र किस्तामा तिर्ने र सावाँ एकमुष्ट तिर्ने ऋण भएको बताइएको छ ।
संस्थाको लगानी अनुत्पादक क्षेत्रमा भएको लेखापरिक्षकले औंल्याएको छ । लेखापरिक्षकले टिप्पणी गर्दै भनेको छ, बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ४६(७) बमोजिम बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा ऋण लगानी गर्दा कुल ऋण लगानीको ६० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख भएकोमा सो बारे एकिन गर्न सकिएन ।
साथै कुल ऋण लगानीको २५ प्रतिशतमा नवढ्ने गरी घर जग्गामा कर्जाको सीमा निर्धारण गर्नु पर्ने देखिन्छ, लेखा परिक्षकले टिप्पणी गरेको छ ।
संस्थाले काठमाण्डौको ५ ठाउँमा गरी ४८ आना जग्गा पनि खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको यस वर्ष संचालन मुनाफामा ७३.६६ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।
Leave a comment