काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट भएको मानविय र भौतिक क्षतिमा उद्धार र राहतमा जुट्न राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ । गत शुक्रबार राती जाजरकोटको बारेकोट गाँउपालिका १ रामिडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा मानविय र भौतिक रुपमा ठुलो क्षति पुगेकाले सहकारीकर्मीहरुलाई आफ्नो क्षेत्रबाट राहत, उद्धार र पुनःस्थापनामा जुटन आग्रह गरेको छ ।
राष्ट्रिय सहकारी महासंघले विज्ञप्ति जारी गरी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम लगायतका जिल्लाहरुमा मानवीय लगायत भौतिक संरचनामा क्षति पुगेकाले राहत र पुनः स्थापनामा सहयोग गर्न सबै सहकारी संघ संस्थालाई अपिल गरेको छ ।
महासंघले विपद्को यस घडीमा विषयगत केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय संघहरु, तथा प्रारम्भिक सहकारी संस्थाहरुलाई भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवास निर्माणका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउन आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न आव्हान गरेको छ ।
साथै घाइतेका लागि आवश्यक रगत संकलन तथा भूकम्प पीडितका लागि अस्थायी वसोवासको व्यवस्थापनको सहयोगमा जुट्न महासंघका अध्यक्ष मिनराज कँडेलले सबै सहकारीकर्मीलाइ अपिल गरेका छन् । यस विषम परिस्थितिमा सहकारी अभियानले सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको समेत उनले जानकारी दिए ।
त्यसैगरी नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कून) ले पनि विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण ती क्षेत्रमा ठुलो मात्रामा जनधनको क्षति पुगेकाले सहकारी अभियान एकजुट भएर घाइतेहरुको उद्धार, पीडितहरुका लागि आपतकालिन राहत तथा पुनः स्थापनामा जुट्न सबै सहकारीकर्मीहरुलाई अपिल गरेको छ।
सहकारिताको मर्म अनुसार दुःखको यस घडीमा प्रभावित जिल्लासँगै देशभरका सम्पूर्ण सहकारीकर्मीहरुलाई उच्च प्राथमिकताका साथ एकतावद्ध भएर सहयोगमा जुट्न नेफस्कूनले आग्रह गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा मानवीय , स्वास्थ्य,उपचार, खाद्यान्न सामाग्री लगायत अत्यावश्यक सहायताको उपलब्धताका लागि स्थानीय सरकार र सहकारी सञ्जाल मार्फत खटिन पनि नेफस्कून विशेष आग्रह गरेको छ ।
Leave a comment