हाइलाइट

लालुपाते सहकारीका संचालक सहित पाँचजना प्रहरी नियन्त्रणमा

लालुपाते सहकारीका संचालक सहित पाँचजना प्रहरी नियन्त्रणमा :: Sahakari Akhabar

काठमाडौं । खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदस्यको बचत अपचलन गरी संस्थालाई नोक्सानी पुर्याएका संचालक समितिका उपाध्यक्ष अर्जुन चौलागाई, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

प्रहरीले पाँच जनालाई सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा छलफलका लागि भन्दै बोलाएर नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध जिल्ला अदालतबाट एक दिनको म्याद थपेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सोमवार पुनः म्याद थप गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।

यसअघि प्रहरीले सहकारीको सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठ (जोशी) लाई गएको असोज १३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाण्डौबाट पक्राउ गरिसकेको छ।

बचतकर्ताले २०७९ फागुन २ गते संचालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए ।

सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा अनुसन्धानका लागि थप पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कारोबार शुरु गरेको सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेको भन्दै बचतकर्ताले डुबेको साँवा र ब्याज फिर्ता लिनका लागि पदमकुमारी सैंजूको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन ।

सहकारीको नाममा खरिद गरिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७ / ०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यस्तै अध्यक्ष जोशीको परिवारका सदस्यले मात्रै डेढ करोड रुपैयाँ ऋण चलाएको देखिएको बचतकर्ताको दाबी छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा राखिएको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको संचालक समितिका सदस्य तुलसीराम आचार्यले बताए ।

सहकारीका अध्यक्ष जोशीको भने कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख १५ गते पोखरामा निधन भइसकेको छ । जोशीको निधनपछि २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ ।

अध्यक्ष जोशीको निधनपछि निक्षेपकर्ताहरू रकम फिर्ता माग्न आउँदा संचालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्दै जाँदा बचत अपचलन भएको विषय बाहिरिएको हो ।

संस्थामा चार हजार पाँच सय जना सदस्य रहेका छन् । संस्थामा एकै जनाको ४५ लाख रुपैयाँसम्म बचत रहेको जनाइएको छ । जम्मा ७४ जना ऋणी सदस्य रहेको संस्थामा न्यूनतम ३० हजारदेखि ७५ लाख रुपैयाँसम्म ऋण लगेको पाइएको छ ।



Leave a comment