काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ ( कास्कून) ले २१ औं स्थापना दिवस मनाएको छ । असोज २४ गते संघले स्थापना दिवसको अवसरमा सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्ग र सहकारी विज्ञका रुपमा डा. शिवजी सापकोटालाई सम्मान गरेको छ ।
संघले कास्कून सहकारी अभियन्ता सम्मानबाट कैलाशभक्त प्रधानाङ्ग र कास्कुन सहकारीविज्ञका रुपमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले दुवैजनालाई सम्मान गरेको थिए ।
संघका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा भएको कायक्रममा कैलाशभक्त प्रधानाङ्गाले सहकारी समुदायमा आधारित भएर सञ्चालन हुनुपर्ने भन्दै सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गरेर उद्यमी बनाउनु पर्ने बताए ।
नेफस्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यको बचतको सुरक्षा, संस्थागत सुशासन, प्रभावकारी संचालन र संजाल व्यवस्थापनमा सहकारी दृष्टिकोण र दिशा दिन आवश्यक रहेको बताए । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले संरचनागत रुपमा एकरुपता कायम गर्दै सदस्यको समृद्धिको लागि साकोस अभियानले काम गर्नु पर्नेमा जोड दिए ।
सहकारी अभियानलाई व्यवस्थित बनाउने कुराबाट महासंघ पछि हट्न नमिल्ने भन्दै उनले त्यसका लागि नेतृत्वले पहल गर्नु पर्ने औंल्याए । प्रारम्भिक सहकारी संस्थालाई सबल बनाई अभियानमाथि प्रश्न नउठ्ने गरी काम गर्नु पर्ने बताए ।
नेफस्कूनका महासचिव दामोदर अधिकारीले सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै बचत ऋण सहकारी संस्थाले वित्तीय मापदण्ड समेत पालना गर्नु पर्नेमा जोड दिए । बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सिष्टममा नचलेका र जोखिम व्यवस्थापनमा ध्यान नदिएका सहकारी संस्थामा मात्रै अहिले समस्या आएको बताए । धेरै संघहरु भएर सहकारीमा समस्या नआएको भन्दै उनले सुशासनमा नबसेको सहकारीका कारण समस्या आएको प्रष्ट पारे ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले नेटवर्क म्यानेजमेन्टका नाममा बचत संघलाई शुन्य बनाउने कुरा मान्य नभएको बताए । उनले जिल्ला बचत संघ सक्रिय भएको ठाउँमा सहकारीमा समस्या नआएको भन्दै सञ्जाल व्यवस्थापन गर्ने कुरामा बचत संघको भूमिका के हुने भन्ने कुरा स्पष्ट आउनु पर्ने बताए । लाखाजुले केन्द्रीय संघको साम्राज्य आफुहरुले नमान्ने समेत स्पष्ट पारे ।
त्यसैगरी कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईंले संघहरुले अब सुशासनको मापदण्ड बनाई सबै संस्थामा लागू गर्न आवश्यक रहेको औंल्याए । ‘अहिले एउटै संस्थालाई जिल्ला संघ, प्रदेश संघ, सहकारी बैंक र नेफस्कूनले लगानी गरेको अवस्था छ, तर संस्था वित्तीय रुपमा टिक्ने नटिक्ने भने ठेगान छैन ।’ उनले भने ‘यसले सदस्यको बचत समेत असुरक्षित भएको छ । अब कुन संघले के गर्ने भर्नेमा स्पष्ट धारणा बनाउन आवश्यक छ ।’
कास्कुनका अध्यक्ष तथा कार्यक्रमका सभापति दिपक पनेरुले बचतऋण अभियानलाई व्यवस्थित गर्दै लैजान आफुहरु लागिपर्ने बताए । सहकारीमा विविध समस्या रहेको र त्यसको कारण खोजी समाधानमा सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा दुई विषयमा कार्यपत्र समेत प्रस्तु गरएिको थियो । कास्कुनमा ८०० भन्दा बढी बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् भने १ अर्ब माथिको कारोबार गर्दै आएको जनाइएको छ ।
Leave a comment