हाइलाइट

प्रभावकारी नियमन गर्न सरकार चुकेकै हो : अध्यक्ष कडेल 

प्रभावकारी नियमन गर्न सरकार चुकेकै हो : अध्यक्ष कडेल  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सरकार सहकारी नियमनमा चुकेको बताएका छन् । उनले सहकारी महासंघले नीतिगत नेतृत्व गर्छ तर नियमनको अधिकार राज्यसँग भएर पनि प्रभावकारी नियमन गर्न नसकेको बताए।

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २१औं स्थापना दिवसको अवसरमा बोल्दै उनले भने ‘एउटै सहकारीले १४ अर्ब बचत संकलन गरेर आफनो नीजि कम्पनीमा लगानी गर्दा सरकारले के हेरेर बस्यो ।’ सरकारले सहकारीलाई गलत काम गर्ने संस्थाको रुपमा मात्र हेर्ने गरेको भन्दै उनले सहकारीबाट समुदायमा धेरै राम्रा काम समेत भएको बताए ।

जिल्ला, प्रदेश र केन्द्रिय संघमा भएको पैसा सदस्यको हो । उनले भने ‘सदस्यको बचतलाई सुरक्षित रुपमा परिचालन गरी प्रतिफल दिने कुरा महत्वपूर्ण हो ।’ सञ्जाल व्यवस्थापनको विषयमा कुरा उठेको र त्यसका लागि अभियानका बीच गहन छलफल गरेर साझा धारणा बनाउन आवश्यक रहेको उनले बताए ।

उनले अर्थतन्त्र झन् ओरालोतर्फ लागेको भन्दै त्यसमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे । ‘राज्यको नेतृत्वसँग अर्थतन्त्रलाइ कसरी माथि उठाउने भन्ने योजना नै भएन, मुलुकमा रोजगारीका अवसर नहुँदा दैनिक हजारौ युवा विदेश पलायन भइरहेका छन्’, उनले भने ।

अध्यक्ष कँडेलले स्थानिय स्रोतसाधन र पुँजीको परिचालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जनामा राज्य चुकेको आरोप लगाए । सहकारी संस्थामा प्रभावकारी नियमन हुन नसक्दा सदस्यको अर्बाैं बचत संकलन गरी केही सहकारी संस्थाले आफनो नीजि कम्पनी र घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्दा अहिले समस्या आएको उनले बताए ।



Leave a comment