काठमाडौं । सहकारीले सदस्यको आवश्यकतालाई मध्यनजर गरी सदस्यको आर्थिक उन्नतीकालागि सहुलियत दरमा ऋण परिचालन गर्नुपर्ने हुन्छ । तर सहकारीका संचालकहरुले चाही सहुलियतमा ऋण लिने र सदस्यलाई महङ्गोदरमा ऋण लगानी गर्दा सहकारीका सदस्य मर्कामा पर्ने गरेका छन् ।
बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका ५० प्रतिशत पदाधिकारीहरुले सहुलियत दरमा संस्थाबाट ऋण चलाएका छन् । संस्थाका सातजना संचालक तथा तीनजना लेखा समिति गरी दशजनामध्ये ५ जनाले सस्तो ब्याजमा ऋण चलाएका हुन् ।
अहिले समिति तथा उपसमितिहरुको त्यस्तो बाँकी ऋण ३ करोड २१ लाख ७३ हजार ६३६ रुपैयाँ छ । संस्थाको २६ औं बार्षिक प्रतिवेदनमा लेखापरिक्षकले यस आवको असार मसान्तसम्ममा ७ जना संचालक तथा ३ जना लेखा सुपरिवेक्षण समितिहरु मध्ये ५ जनाले ऋण लिएको पाइएको उल्लेख गरेको छ । साथै संस्थाका संचालक समितिका सदस्यलाई सहुलियतमा ऋण लगानी गरिएको पाइयो लेखापरिक्षकले टिप्पणी गरेको छ ।
संस्थाले यस आवमा कर्जा लगानी १७.०५ प्रतिशतले घटेको तथा प्रति सदस्य अधिकतम् कर्जा सिमा कायम गर्न भन्दै कूल ऋणको २९.६४ प्रतिशत घर निर्माण तथा जग्गा खरिद कर्जा र २९.३७ प्रतिशत ब्यापारिक कर्जामा लगानी भएकोमा लेखा समितिले टिप्पणी गरेको छ । संस्थाले कूल ऋणको १३.०२ प्रतिशत एनएमसी सजिलो ऋणका नाममा लगानी गरेको छ जुन ऋण ब्याज मात्र किस्तामा तिर्ने र सावाँ एक एकमुष्ट तिर्ने ऋण हो ।
साथै बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ४६(७) बमोजिम बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा ऋण लगानी गर्दा कुल ऋण लगानीको ६० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख भएकोमा सो बारे एकिन गर्न सकिएन लेखापरिक्षकको टिप्पणी छ । साथै कुल ऋण लगानीको २५ प्रतिशतमा नवढ्ने गरी घर जग्गामा कर्जाको सीमा निर्धारण गर्नु पर्ने देखिन्छ, लेखा परिक्षकले टिप्पणी गरेकोछ । संस्थाले काठमाण्डौको ५ ठाउँमा गरी ४८ आना जग्गा पनि खरिद गरेको जनाएको छ ।
Leave a comment