विराटनगर । विराटनगरमा रहेको इश्वर बचत तथा ऋण सहकारी संस्था अब इश्वर साना किसान कृषि सहकारीमा परिवर्तित भएको छ । सदस्यमा केन्द्रित रहेर संचालन हुँदै आएको सहकारीले आफ्ना सदस्य कृषक रहेकाले उदेश्य परिवर्तन गरिएको जनाएको छ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले सोमबार प्रदेश सहकारी ऐन, २०७६ तथा नियमावली २०७६ बमोजिम श्री ईश्वर साना किसान कृषि सहकारी संस्था लि. विराटनगर ८ मोरङका नाममा उक्त संस्थालाई सीमित दायित्व भएको संस्थामा दर्ता गरेको हो ।
कार्यालयले प्रदेश सहकारी नियमावली २०७६ को नियम ३६ (क) बमोजिम प्रमाणपत्र दिएको जनाएको छ । निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले परिवर्तन भएको प्रमाणपत्र सहकारीका अध्यक्ष धर्मलाल सिंह कोइली र व्यवस्थापक बलबहादुर घिमिरेलाई हस्तान्तरण गरेका थिए । ईश्वर बचत तथा ऋण सहकारीको कार्यक्षेत्रको ठूलो हिस्सा ग्रामीण क्षेत्रको कृषि उत्पादन तथा पशुपालनको दृष्टिले सम्भाव्यता रहेको क्षेत्र भएकाले संस्थको उद्देश्य परिवर्तन गरिएको जनाएको छ ।
साथै संस्थाको बहुसंख्यक सदस्यहरु कृषि पेशामा नै आत्मनिर्भर रहेकोले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गैर सदस्यहरुलाई समेत संस्थामा आवद्ध गराई कृषि तथा पशुपालनलगायत सदस्यको उत्पादन बृद्धिका लागि चाहिने आवश्यक पुँजी तथा प्रविधिको ब्यवस्था गर्दै उत्पादनलाई बजारीकरणमा समेत जोड्न साना किसान कृषि सहकारी संस्थाको अवधारणा अनुसार संचालन गर्न सहकारीको १२ औं बार्षिक साधारण सभाबाट पारित गर्राे विनियम संशोधन गरेकोजनाइएको छ । व्यवसायिक कृषि फर्महरु संचालन गर्न तथा व्यवसायिक कृषि गर्ने कृषकहरुलाई पुँजीको व्यवस्थामा सघाउ पुग्ने हिसावले संस्थाको उद्देश्य परिवर्तन गरिएको सहकारीका व्यवस्थापक घिमिरेले बताए ।
Leave a comment