हाइलाइट

हौसिएर लगानी नगर्न सहकारीलाई डा.खतिवडाको सुझाव : उनी भन्छन सहकारी बैंक र नेफ्स्कूनकोपनि हैसियत थाहा छ

हौसिएर लगानी नगर्न सहकारीलाई डा.खतिवडाको सुझाव : उनी भन्छन सहकारी बैंक र नेफ्स्कूनकोपनि हैसियत थाहा छ :: Sahakari Akhabar

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तिय क्षेत्रमा राम्रो दिन नआइसकेकोले हौसिएर लगानी नगर्न सहकारीलाई सुझाव दिएका छन् ।

सहकारीमा यो भन्दा कठिन दिन नआएपनि राम्रा दिनपनि आइनसकेकोले सचेत रहन आग्रह गरे । उनले भने ‘कठिन दिन गए कि ! भन्नु भएको होला, यो भन्दा कठिन दिन भलै नहोला तर राम्रा दिन आइसकेका छैनन् ।’

काठमाडौंको चावहिलमा रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको १४ औं बार्षिक साधारण सभालाई सम्भोधन गर्दै उनले वित्तीय कारोबारमा राम्रा दिन आउनलाइ अझै समय लाग्ने हुनाले सावधानीपूर्वक वित्तीय कारोबार गर्न आग्रह गरे ।

हौसिएर लगानी गर्दा तरलताको समस्या आउन सक्ने भन्दै उनले सहकारीलाई बचाउने कोही नभएकाले सावधानी अपनाउनुपर्ने बताए । सहकारी बैंक र नेफस्कूनको क्षमता आफुलाई थाहा भएकाले समस्या पर्दा ती संस्थाले सहयोग गर्छन भनेर ढुक्क नहुन उनीहरुको हैसियत थाहा भइसकेको छ ।

बैंकहरुलाई तरलताको समस्या पर्दा राष्ट्र बैंकले सघाउनुका साथै स्थायी तरलता सुविधा, रिफाईनान्सको सुविधाका साथै बन्ड जारी गर्न सक्छन् तर सहकारीको हकमा त्यस्तो सुविधा दिने कुनै निकाय नभएको उनले बताए ।

उनले भने, ‘एउटा सदस्यको चेक साटिएन भने टोल भरी हल्ला हुन्छ र भोलीबाट सदस्यहरु बचत फिर्ताको लागि लाईन लाग्छन, सहकारीलाई अन्तिम ऋण दाताको सुविधा दिने संस्था छैनन् ।’ सदस्य, सञ्चालक, लेखा समिति र सरकारले आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सके सहकारी क्षेत्र सुरक्षित र व्यवस्थित बन्दै जान्छ ।

डा. खतिवडाले सहकारीलाई नियमन गर्ने बेग्लै संस्था खोज्नु गलत भएको बताए । उनले भने ‘सहकारी राष्ट्र बैंकलाई बुझाउने गल्ती नगर्नुहोला, यस्तो गल्ती गर्नुभयो भने सहकारी, लघुवित्तिको जस्तै हालत हुन्छ । यो बाटो नहिड्नुहोला ।’ अरुलाई आफ्नो अधिकार सुम्पेर जानु गलत हो ।

सहकारी स्वनियममा संचालन हुने संस्था हुन् । उनले सहकारीले कर्जा सूचना प्रणालीमा भिड नगरी आफ्नै ऋण सूचना प्रणाली हुनु पर्ने तर्फ सहकारी लाग्नुपर्ने बताए । सहकारीमा पनि ससाना बचतको सुरक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको र त्यसका लागि नयाँ प्रणालीमा जान आवश्यक रहेको खतिवडाले बताए ।

सहकारी बचत ऋण गर्ने सामाजिक संस्था भएकाले समाजप्रतिको जिम्मेवारी पूरा गनुपर्ने उनको  भनाई छ । संस्थाप्रति सदस्यले र सदस्यप्रति संस्थाले जिम्मेवारी पूरा गर्न सके सहकारीमा समस्या नआउने उनले प्रष्ट पारे ।

आन्तरिक लेखा प्रणालीलाई ठिक ढंगले राख्न र लेखा समितिमा भाई भतिज नराख्न उनको सुझाव थियो । जुन संस्थामा सदस्य सक्रिय छैनन्, सदस्यबीच एकआपसमा चिनजान छैन र सञ्चालक, कर्मचारी र सदस्य चिन्दैनन्, तीनै संस्था समस्यामा पर्ने उनले बताए ।

निश्चित भौगोलिक क्षेत्र र सदस्य बीच कारोबार नगर्ने सहकारी समस्यामा पर्ने गरेको भन्र्दै गभर्नर खतिवडाले त्यस्ता सहकारीमा कारोबार नगर्न आग्रह गरे । बहुउद्देश्यीय नाम दिने तर एकल उदेश्य मात्र गर्ने गरेको भन्दै खतिवडाले बहुउद्देश्यीयले सोही अनुसार काम गर्नु पर्नेमा  जोड दिए ।

सहकारी वित्त बजारको पेटीमा हिँडिरहेको भए पनि अर्काको कारणले कतिपय सहकारी संस्था दुर्घटनामा परेको खतिवडाको भनाई छ । उनले भने, ‘वित्तीय प्रणालीमा ८० प्रतिशत माथि कारोबार गर्ने अरु संस्था छन् ।

बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर १३ / १४ सम्म पुर्याए भने ऋणमा १७ प्रतिशतसम्म ब्याज लिए । सहकारीलाई भने सन्दर्भ ब्याजदरको नाममा  सिलिङ्ग लगाएर १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन दिएन ।

यसले पनि सहकारीलाई वित्तीय बजारमा प्रतिस्पर्धा गर्न समस्या भयो ।’ सरकारका कानुनी कुरा भन्दा पनि प्रशासनिक कामले सहकारीलाई धेरै कुरामा बाधा ल्याइदिएको उनले बताए । ‘चालु पुँजी कर्जा, ओभर डाफ्ट्र वा सफट् लोन जे नामको ऋण भने पनि घर जग्गामा नै लगानी भयो । सहकारीले पनि त्यस क्षेत्रमा नै लगानी गरे ।

सरकारले घर जग्गाको वर्गीकरण सुरु गर्यो । वर्गीकरण नभई कित्ता काट भएन । कित्ताकाट नभए पछि कारोवार भएन । यसले ऋण असुलीमा प्रभाव पार्यो ।’ बचत पनि आईरहन्छ र लगानी चलिरहन्छ भन्ने हिसावले सहकारीले ती क्षेत्रमा लगानी गरे, तर त्यो मान्यताले सधै काम नगर्ने उनले प्रष्ट पारे ।

त्यसैले सहकारीले  जगेडा कोष, पर्याप्त तरलता र लोन प्रोभिजन गर्दै जानु पर्ने उनको भनाई छ । बैंकहरुले अनिवार्य रुपमा २० प्रतिशत तरलता राख्नुपर्छ तर एकै दिन कुनै निक्षेपकर्ताले त्यो रकम निकाल्यो भने बैंक पनि डुब्ने भन्दै खतिवडाले वित्तीय क्षेत्र विश्वासमा अडिएको बताए ।

संस्थाका अध्यक्ष विदुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत फडिन्द्रकुमार खड्काले आर्थिक बर्ष २०७९ / ८० आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।



Leave a comment