काठमाडौं । सहकारीमा क्रियाशिल नेताहरुलाई सिकाउन भन्दै नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) ले गरेको ‘नेतृत्व पुर्नजागरण कार्यक्रम’ मा केन्द्रीय नेताहरुले नै रमिता देखाएका छन् । संघको लाखौं बजेट खर्च गरी गरिएको कार्यक्रमलाई पार्टीको संगठन विस्तारमा दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेका बेला समापन कार्यक्रममा पनि नेताहरुकै कारण खल्लो बन्न पुगेको छ ।
संघले सात प्रदेशमध्ये ६ वटामा एक / एक र वागमतीमा २ वटा गरी कुल ८ स्थानमा कार्यक्रम तय गरेको थियो । भदौ ११ गते सुदुरपश्चिम प्रदेशबाट सुरु भएको कार्यक्रम भदौ २६ गते मधेस प्रदेशमा समापन भयो । महोत्तरीमा भएको अन्तिम कार्यक्रममा नेफ्स्कूनका केन्द्रीय नेताहरुले नै सहभागिलाई रमिता देखाएका हुन् ।
संचालक समितिको निर्णय अनुसार मधेश प्रदेशको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई थियो । तर, अध्यक्ष परितोष पौड्याल राष्ट्रिय सहकारी महासंघका संचालक टेक प्रसाद चौलागाई र जिल्ला सहकारी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष खेमराज सुवेदीलाई बोकेर कार्यक्रममा सहभागि हुन महोत्तरी पुगे ।
तालिका अनुसार कार्यक्रमको अध्यक्षता ढकालले गरे भने अध्यक्ष पौड्याललाई प्रमुख अतिथि बनाइयो । पौडलसँगै गएका चौलागाई र सुवेदीलाई भने विशिष्ट अतिथि बनाइयो । कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले कार्यपत्र प्रस्तुत गरे । अतिथिबाट चौलागाई र सुवेदीले भाषण पनि गरे ।
जब, प्रमुख अतिथि पौड्यालले बोल्न थाले अध्यक्षता गरिरहेका ढकाल पनि शौचालय गए । ढकाल शौचालयबाट फर्किदै गर्दा पौड्यालले भने ‘हामी एउटै हो, मैले बोलेपछि उहाँले बोल्ने कुरा छैन’ भन्दै कार्यक्रम समेत समापन भएको घोषणा गरिदिए ।
प्रमुख अतिथिबाट नै कार्यक्रम समापन भएपछि कार्यक्रमस्थलमै नाराबाजी सहित विरोध भयो, सहभागीले होहल्ला गरे । त्यसपछि कार्यक्रम सकियो भनेर सुरु गरिएको चिया खाजा पनि बन्द गरियो र कार्यक्रमलाई फेरी निरन्तरता दिइयो । अध्यक्षता गरेका ढकालले आफ्नो मन्तव्य राखेर कार्यक्रमको समापन गरेका थिए ।
जिल्ला बचत संघ महोत्तरीका अध्यक्ष दिलीप चौधरी विधि र प्रक्रिया विपरित प्रमुख अतिथिले कार्यक्रम समापन गर्दा विवाद देखिएको वताउछन् । ‘कार्यक्रमको समापन अध्यक्षले गर्नुपर्नेमा प्रमुख अथितीले नै घोषणा गरिदिनुभयो’ उनले भने, ‘यो भनेको अरुको अस्तित्वलाई स्विकार नगर्ने चरित्र हो ।’
कार्यक्रमको संचालनको भूमिकामा समेत रहेका नेफ्स्कूनका संचालक हरेराम प्रसादले भने कार्यक्रममा सामान्य त्रुटी भएको र नियतबस नगरिएको दावी गरे । ‘प्रमुख अतिथिले भाषण सक्दा सभाअध्यक्ष बाहिर जानुभएको थियो’ उनले भने, ‘त्यसैले उहाँले कार्यक्रम समापन गरिदिनुभयो’ सभाअध्यक्षले मेरो पनि केही कुरा राख्नुछ भनेपछि उहाँले पनि बोल्नुभयो । अध्यक्ष पौड्याल संघमा एकलौटी ढंगले काम गरेको भन्दै आलोचना हुदै आएको छ । यसअघि पनि अध्यक्ष पौड्यालले गरेका काममा संचालकहरुले सामाजिक संजालमार्फत समेत आलोचना गरेका थिए ।
एक कार्यक्रम :दुई फरक समाचार
नेफ्स्कूनले आफ्नो प्रचारप्रसार गर्न खोलेको मुखपत्र साकोस आवाजले महोत्तरीका कार्यक्रममा दुई वटा समाचार प्रकाशित गर्र्यो । समाचारमा कार्यक्रमको विवादबारे उल्लेख नभएपनि दुई समाचारमा एकै व्यक्तिलाई फरक फरक भूमिकामा देखाइएको छ ।
भदौ २६ गते मंगलबार प्रकाशित पहिलो ‘बर्दिबासमा मधेश प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम उद्घाटन’ समाचारमा बरिष्ठ उपाध्यक्ष ढकाल विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागि भएको उल्लेख छ ।
तर, मंगलबार नै प्रकाशित अर्को समाचार ‘महोत्तरीको बर्दिबासमा “साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम” सम्पन्न’ मा भने संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रम भनेर उल्लेख गरिएको छ ।
Leave a comment