हाइलाइट

सहकारीको कोटामा सांसदलाई विदेश भ्रमण : कृषिको नाममा बचत ऋणको मस्ती !

सहकारीको कोटामा सांसदलाई विदेश भ्रमण : कृषिको नाममा बचत ऋणको मस्ती ! :: Sahakari Akhabar

काठमाडौं । सहकारी अभियानको शिषस्र्थ निकाय राष्ट्रिय सहकारी महासंघले सहकारीकर्मीको कोटामा संघिय सांसदलाई विदेश भ्रमणमा पठाएको छ । महासंघले जापानको कृषि सहकारीहरुको संघ जेए जेन्चुसँगको समन्वय गरी नेपाली सहकारीकर्मीलाई जापानको सहकारी अभियान अध्ययन भ्रमणका प्रवन्ध मिलाएको थियो । तर, महासंघले भ्रमणको नेतृत्वको जिम्मेवारी भने संघिय सांसद समेत रहेका संचालक तारा लामा तामाङलाई दिएको हो ।

तामाङको नेतृत्वमा यतिबेला १६ जना सहकारीकर्मीको टोली जापान भ्रमणमा छ । सेप्टेम्वर १० देखि १६ सम्म जापानका विभिन्न संघ / संस्थाका असल अभ्यासहरूको अध्ययन गर्ने कार्यतालिका छ । महासंघले प्रतिव्यक्ति तीन लाख २५ हजार रुपैयाँ लिएर जापान भ्रमणको प्रवन्ध मिलाएको हो ।

उक्त रकमबाट भिसा, टिकट, होटल, खाना तथा अध्ययनका लागि टुर गाइड तथा यातायातको व्यवस्था गरिएको छ । यसबाहेक महासंघले प्रत्येक सहभागीबाट १० हजार रुपैयाँ सेवा शुल्क पनि लिएको नायव महाप्रवन्धक सुरेश थापाले जानकारी दिए ।

कृषि सहकारीको भ्रमण : बचत ऋणको बर्चस्व 

जापानमा कृषि तथा उपभोक्ता सहकारीको मोडल सफल मानिन्छ । तर, नेपालबाट अबलोकन भ्रमणमा जाने अधिकांश सहकारीकर्मीहरु भने बचत तथा ऋण सहकारी क्षेत्रका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बाट कोषाध्यक्षसहित ५ जना संचालक सहभागी छन् ।

कोषाध्यक्ष दिपक पनेरु र संचालकहरु चण्डी प्रसाद शर्मा पौडेल, घनश्याम अधिकारी, माधव प्रसाद जोशी भ्रमणमा सहभागी छन् । नेफ्स्कूनका संचालक जिवसराज खड्का पनि भ्रमणमा सहभागि भएपनि उनलाई वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) को महासचिवका रुपमा प्रतिनिधित्व गराइएको छ ।

यस्तै भ्रमणमा सहभागि हुनेहरुमा जिल्ला सहकारी संघ दोलखाको अध्यक्ष हेमन्त चौलागाई, जिल्ला बचत तथा ऋण सहकारी संघ वागलुङका संचालक उत्तम बहादुर महत,  जिल्ला बचत तथा ऋण सहकारी संघ काठमाडौंका लेखा समिति सदस्य श्याम कृष्ण श्रेष्ठ, जिल्ला सहकारी संघ बाकेका प्रवन्धक नवराज उपाध्याय, मा बंगलामुखी उपभोक्ता सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, बंगलामुखी बचत तथा ऋण सहकारीका संचालक बालकृष्ण श्रेष्ठ र सिइओ जगतकृष्ण श्रेष्ठ रहेका छन् ।

यसैगरी तारकेश्वर बहुउद्देश्यीय सहकारीका प्रदिप तामाङ, सिवाइसी बचत तथा ऋण सहकारीको कृषि विभाग संयोजक कृष्ण प्रसाद सापकोटा, चिनगाढ ग्रामिण सामुदायिक विद्युत सहकारीका कोषाध्यक्ष भक्त बहादुर रानाक्षेत्री पनि भ्रमणमा सहभागी छन् ।

गुपचुप छनोट : सामाजिक संजालमा विरोध

महासंघले गुपचुप रुपमा आफुखुशी असम्बन्धित व्यक्तिलाई समेत सहभागीको छनोट गरेपछि सामाजिक संजालहरुमा विरोध भइरहेको छ । महासंघकै फेसबुकमा एकराज निरौलाले ‘कस्ता कस्ता सहकारी अभियन्ता जाने प्रावधान हुन्छ यस्तोमा ? विधि प्रक्रिया के छ होला ???’ भन्दै प्रश्न गरेका छन् । यस्तै गुरु ढकालले ‘लाखौ सेवाशुल्क संघबाट लिने अवसर प्रारम्भिक सस्थालाई दिने !! सदस्य केन्द्रीयता भनेको येही हो ?’ भनेर टिप्पणी गरेका छन् ।

यस्तै अर्का सहकारीकर्मी हरिबोल न्यौपानेले लेखेका छन्– ‘सहकारिमा यस्तो अन्योल हुदा केहि गर्नु छैन यिनिहरुलाई भ्रमणको मस्ति हाम्रा पैसामा मोज गर कस्को के लाग्छ र सिन्डिकेट गरि सस्था कब्जामा नै छ जयहोस शुभयात्रा ।’ ‘शुभयात्रा । यस्ता कार्यक्रममा त कुनै जानकारी हुदैन हाम्रो संघलाइ । जिज्ञासा ।’ युवराज आचार्यले टिप्पणी गरेका छन् ।

संयोजक नै गैरकानुनी !

भ्रमणको संयोजन गरिरहेका तामाङ नेकपा एमालेबाट कञ्चनपुर–१ को प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार सार्वजनिक पदमा बसेको व्यक्ति सहकारी संघसंस्थामा संचालक बस्न नपाउने प्रावधान भएपनि उनी गैरकानुनी रुपमा महासंघको संचालकमा बसिरहेका छन् ।

सहकारी विभागले गत वर्ष नै ऐन नियामावलीको प्रावधान अनुसार सार्वजनिक पदमा बसेको व्यक्तिलाई संचालकमा नराख्न र भएका संचालकलाई हटाउन निर्देशन समेत दिएको थियो । तर, हालसम्म महासंघ र संचालक तामाङले निर्देशन कार्यान्वयमा अटेरी गर्दै आएका छन् ।

तामाङ महासंघको संचालक रहेपनि लगातार सार्वजनिक पदमा समेत बस्दै आएका थिए । एमाले विभाजन हुँदा नेकपा समाजवादीमा लागेर सुुदुरपश्चिम प्रदेशको सांसद तथा अर्थमन्त्री समेत बनेका उनी मन्त्रीपद सकिएसँगै पुनः एमालेमै फर्किएर संघिय सांसद बनेका हुन् । प्रदेशको सांसद तथा मन्त्री हुँदा पनि उनले महासंघको संचालकबाट राजिनामा दिएनन् । महासंघको संचालकमै रहदा उनी निर्वाचित भएपनि सहकारी विभाले कारवाही गर्ने आट गरेको छैन ।



Leave a comment