हाइलाइट

सहकारीका ४० प्रतिशत नेता त्रसित अवस्थामा 

सहकारीका ४० प्रतिशत नेता त्रसित अवस्थामा  :: Sahakari Akhabar

काठमाडौं । सहकारी क्षेत्रमा समस्या गहिरिदै गएपछि यस क्षेत्रमा नेतृत्वमा रहेका नेताहरु पनि डराउन थालेका छन् । समस्याग्रस्त संस्थाहरुको संख्यासँगै बचत फिर्ता नपाउने सर्वसाधारणको आक्रोश बढ्दै गएपछि नेताहरु त्रसित हुन थालेका हुन् । सहकारी क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी सुधारका उपाय सुझाउन सरकारले गठन गरेको सहकारी सुधार सुझाव कार्यदलले गरेको सर्भेमा पनि ४० प्रतिशत नेताहरु वर्तमान अवस्थादेखि डराएको पाइएको छ । 

गत वर्षदेखि वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावको प्रभाव सहकारी संस्थाहरुमा पनि पर्न थालेको थियो । तर, पछिल्लो समयमा बैंक, वित्तीय संस्थाहरुमा सामान्य हुँदै गएपनि सहकारीको अवस्था भने सुध्रिन सकेको छैन । तरलता अभावले कतिपय संस्थाहरुले बचत रकम फिर्ता दिन सकेका छैनन् । ठूलो कारोबार गर्ने संस्थाहरु नै समस्याग्रस्त हुन थालेपछि सहकारीप्रति सर्वसाधारण नकारात्मक बन्दै गएका छन् । 

सहकारी क्षेत्रले सर्वसाधारणको विश्वास गुमाइरहेको र यो अवस्था दिनदिनै डरलाग्दो बन्न थालेको एक सहकारी नेताले टिप्पणी गरे । ‘सहकारीले पैसा फिर्ता गर्न सक्दैन भन्ने धारणा सर्वसाधारणमा बन्दै गएको छ’ ती नेताले भने, ‘यसले सहकारी क्षेत्रको भविश्यमाथी नै प्रश्न खडा गरेको छ ।’

सहकारी विभागको तथ्यांक अनुसार ३० हजार सहकारीमा साढे २ लाख भन्दा बढी ब्यक्तिहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव, संचालक, लेखा सुपरिवेक्षण समितिलगायतका पदमा नेतृत्व गरिरहेका छन् । प्रारम्भिक संस्थादेखि महासंघसम्म सहकारीको नेतृत्वमा रहेकाहरुले सहकारीको बिग्रदो अवस्थाका कारण दवाव र असुरक्षा महशुस गरिरहेका छन् । 

सहकारीले बचत फिर्ता नदिएको भन्दै बचतकर्ताहरुले केही समयअघि संगठित रुपमा आन्दोलन नै सुरु गरेका थिए । उनीहरुले माइतिघरमा धर्ना दिइरहेको समयमा उत्त    m बाटो हिड्न पनि डर लाग्ने गरेको एक केन्द्रीय संघका अध्यक्षले अनुभव सुनाए । ‘म सहकारीको नेता हुँ भन्दै खुलेर हिड्न अवस्था छैन’ उनले भने, ‘कतिबेला कहाँ आक्रमणमा परिएला भन्न डर महशुस हुन्छ ।’ एकाध व्यक्तिले गरेको बदमासीको भार सिंगो सहकारी अभियानले भोगिरहेको उनले टिप्पणी गरे । 

यसैगरी विगतमा प्रारम्भिक सहकारी संस्थाका संचालकहरुले ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ को नाममा आन्दोलन गर्दा पनि सहकारी संघहरुको नेतृत्वको सुरक्षामाथी नै प्रश्न उठेको थियो । कतिपय सहकारीकर्मीहरुले संघका नेताहरुले कालोमोसो दल्नेसम्मको सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

तर, यतिबेला बचतकर्ता र संचालकहरुको आन्दोलन केही मत्थर देखिए पनि समस्या समाधान नभएकाले अझै सहकारीका नेताहरु दवावमा देखिने गरेका छन् ।



Leave a comment