काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋणको कारोबार गर्ने र उत्पादन तथा सेवा क्षेत्रका सहकारीहरु नछुट्याएसम्म सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान नहुने दावी गरेका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्यले सहकारी ऐन कानुनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न नसकेकाले अहिलेको समस्या उत्पन्न भएको बताए । ‘सहकारीले आन्तरिक, बाह्य र वित्तीय सुशासन कायम गर्न सकेनन् भने राज्यले पनि प्रभावकारी नियमन गर्ने सामथ्र्य राखेन,’ उनले थपे, ‘बचत तथा ऋण र उत्पादन तथा सेवामूलक सहकारीलाई नछुट्ट्याउँदा सम्म सहकारी क्षेत्रको समस्या समाधान हुँदैन ।’ वित्तीय सहकारीलाई प्रभावकारी नियमनको आवश्यता पर्छ भने अन्य सहकारीलाई राज्यले प्रवद्र्धन, अनुदान र सहुलियत दिनुपर्ने उनको भनाई थियो ।
सहकारी क्षेत्रको समस्या समाधानका लागि कार्यदल गठन गरेको भएपनि उक्त कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा उनको आशंका व्यक्त गरे । विगतमा पनि यस्ता पाँच छ वटा प्रतिवेदन बनिसकेको उल्लेख गर्दै उनले अवको प्रतिवेदन पनि बन्ने र दराजमा थन्किने त होईन ? भन्दै प्रश्न गरे । कार्यदलको प्रारम्भिक प्रतिवेदन अध्ययन गर्दा सहकारीको सिद्धान्तलाई रक्षा नगरेको पाईएकाले सहकारी क्षेत्रको मागलाई सम्बोधन नगरे प्रतिवेदन बहिस्कार गर्ने उनले चेतावनी दिए ।
राष्ट्रिय सहकारी बैंकका निमित्त सिईओ मनोज खड्काले सञ्चार जगतले सहकारीमा देखिएका विकृति र विसंगतिको उजागार गर्नुका साथै राम्रा पक्षलाई समेत थप उजागार गर्न आग्रह गरे ।
सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी विभागले २०७६ सालमा प्रकाशित गरेको तथ्याङ्कलाई आधार मानेर समाचार सम्प्रेषण गर्नुपर्ने बाध्यता रहेको बताए । आर्थिक सर्वेक्षणको तथ्याङ्क पनि विश्वसनीय नभएको भन्दै उनले अहिले कुन संस्था कस्तो अवस्थामा छ भनेर यकिन गर्न गाह्रो भएको औंल्याए । पूर्वअध्यक्ष डिल्ली सापकोटाले मुलुकमा छाएको आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा समेत परेकाले त्यसबाट बाहिर निकाल्न राज्य, अभियान र सरोकारवाला सबै निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
Leave a comment