हाइलाइट

माछापुच्छ्रे सहकारीको हिनामिना प्रकरण : संचालकहरु फेरि फरार 

माछापुच्छ्रे सहकारीको हिनामिना प्रकरण : संचालकहरु फेरि फरार  :: Sahakari Akhabar

विराटनगर ।  विराटनगर - ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका संचालकहरु सदस्यको पैसा हिनामिना गरेर फेरि फरार भएका छन । केही समय अगाडि हिनामिना गरेर फरार भएका सहकारीका अध्यक्ष अमलेशकुमार कर्णलाई सहकारी सदस्य उत्तम ढुङ्गेलले फर्काएर ल्याउन सफल भएका थिए ।

सहकारीको विशेष साधारण सभा पनि गरिएको थियो । सधारण सभामा नै सदस्यहरुले बचत फिर्ता मागेका थिए । त्यसपछी सदस्यको रकम एक महिना भित्रमा फिर्ता गर्ने सहमती पनि भएको थियो । तर रकम फिर्ता नभएपछी छानबिन समिती बनाइएको थियो । छानबिन समितिले ९ करोड रकम अनियमितता भएको प्रतिबेदन बुझाएको छ ।

सहकारीका अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अनियमितता गरेको प्रतिबेदनमा उल्लेख छ । प्रतिवेदन अुनसार सहकारीका अध्यक्ष कर्णसहित चार जना सञ्चालकहरुले पाँच सयभन्दा बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार  ६ सय १ रुपैयाँ हिनामिना गरेका छन् ।

जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजकत्वमा गठित चार सदस्यीय  समितिले तयार पारेको छानविन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटाला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ । कार्कीले सहकारीको ४ करोड ७३ लाख  ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्कीपछि सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले सहकारीको धेरै रकम हिनामिता गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटाला गरेको खुलेको छ । यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटाला गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो ।

जिल्ला सहकारी संघ सदस्य गुरुङको संयोजत्वमा गठित समितिमा राष्ट्रिय सहकारी बैंक विराटनगर प्रमुख प्रभु पोखरेल, माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था सेयर सदस्य उत्तम ढुङगेल र सहकारीका सदस्य श्यामराज कोइराला सदस्य थिए ।

समितिले छानविन गरी साउन १४ गते प्रतिवेदन तयार गरी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीलाई बुझाएको थियो । छानविन प्रतिवेदनले हिनामिना गरेको देखाएपछि सात दिनभित्रमा हिसाब फरफारक गरी उक्त प्रतिवेदन कार्यन्वयन गर्न निर्देशन दिएको थियो ।

निर्देशन दिएको एक हप्ता वितिसक्दा पनि घोटाला गर्ने संचालकहरु हिसाब फरफारक नगरेर अहिले फरार भएका छन् । सहकारीको रकम हिनामिना गर्ने सञ्चालकहरुले सहकारीको नियम, मूल्य मान्यता विपरीत हिनामिना गरेको रकम जग्गामा लगानी गरेको देखिएको छ ।

उनीहरुले आफन्त र नातागोताका व्यक्तिलाई सहकारीको रकम विना धितो कर्जा दिएको पाइएको छ । २ करोडभन्दा  बढी रकम धितो नराखी ऋण दिएको देखिन्छ । चार जना सञ्चालकको नाममा रहेको जग्गा पनि छानविन समितिले रोक्का राख्न सुझाव दिएको छ ।

प्रभाकर थापाको सबैभन्दा बढी जग्गा रहेको  देखिएको छ । थापाको झापाको धुलाबारीमा १७ कठ्ठा जग्गा देखिएको छ । कित्ता नम्बर ९६ रहेको ४ कठ्ठा १० धुर र ३०७० किता नं रहेको ४ कठ्ठा १० धुर जग्गा धुलावारीमा देखिएको छ । यसैगरी थापाकी श्रीमतीको नाममा पनि १०६ र ८१२ किता नंं को १७ कठ्ठा जग्गा देखिएको छ । सहकारीको निक्षेप जग्गामा लगानी गरेको देखिएको हो ।

व्यवस्थापक अमित कार्कीको नाममा रहेको बैंक खातामा सहकारीको पाँच करोड बढी रकम देखिएको छ । सिटिजन इन्टरनेशनल बैकको खाता नं ००२००२००००९३९ एस ए १६ फ्रेब्रुअरी २००९ देखि र एक्सल डेभलपमेन्ट बैंक विराटनगर शाखा खाता नंं ०१२०११०००४७१४३०००००१ मा ४ अक्टोबर २०१२ देखि सहकारीको करिब ५ करोड ७५ लाख जम्मा गरेको देखिएको छ । जुन रकम शंकास्पद र थप छानबिनको घेरामा ल्याउनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७९ मंसिर २८ गते भएको लेखा परीक्षण अनुसार १ करोड ४९ लाख ३७ हजार २९३ रुपैयाँ ऋण लगानी भएकोमध्ये अधिकाश भाखा नाघेका, पुराना, कागजी प्रक्रिया पुरा नगरी दिएको पाइएको छ । ९५ प्रतिशत लगानीमा देखाएको ऋण जोखिममा रहेको अवस्था छ ।

ऋण लगानी जम्मा २०५ जनामा देखाएको मध्ये ५ जनाको मात्र धितो जमानीमा ऋण लगानी गरेको देखाएको छ । ऋण लगानीको संयोजकमा अमित कार्की रहेका थिए । कार्कीले २०६९ साउन ५ देखि २०७१ फागुन २९ गतेसम्म ३८ पटक बैठक बसी ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । कार्कीले गरेको ऋण लगानी अहिले जोखिममा रहेको छ ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले हिनामिना गरेका सञ्चालकहरुले तिर्नुपर्ने रकम तिर्न दिएको तीन महिनाको अवधि पनि पुरा भएकोले अब थप कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए ।

‘छानविन समितिले प्रतिवेदन दिएपछि हिनामिना गरेको हिसाब फरफारक गर्ने समय दिएको थियो । त्यो पूरा भयो । अहिलेसम्म घोटाला गरेको रकम नबुझाएपछि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने, ‘घोटाला गर्ने सञ्चालकको सम्पत्ति रोक्का राखेर तिर्न लगाउने तयारी भइरहेको छ ।



Leave a comment