हाइलाइट

यस्ता छन् उत्कृष्ट नौ बचत तथा ऋण सहकारीहरु 

यस्ता छन् उत्कृष्ट नौ बचत तथा ऋण सहकारीहरु  :: Sahakari Akhabar

काठमाडौं । शहरी क्षेत्रका केही सहकारी संस्थाहरुले सर्वसाधारणको बचत समेत फिर्ता गर्न नसकिरहेका बेला समूदाय तथा सदस्यमा आधारित बचत तथा ऋण सहकारीहरु भने सहज अवस्थामा छन् । तिनै सहकारीमध्येहरुबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले उत्कृष्ट संस्थाहरुको घोषणा गरेको छ ।

संघले देशभरका बचत तथा ऋण सहकारीमध्येबाट एक, महिला सहकारीमध्येबाट एक गरी दुई वटा संस्थाहरुलाई सर्वोत्कृष्ट घोषणा गरेको छ । यस्तै हरेक प्रदेशबाट एक–एक वटा गरी ७ वटा संस्था उत्कृष्ट संस्था बनेका छन् । उत्कृष्ट घोषित भएको संस्थाहरुलाई संघको आगामी साधारणसभामा पुरस्कृत गरिने संघले जनाएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण  यस वर्षको नेफस्कून सर्वोत्कृष्ट संस्था घोषित भएको छ । २०४७ सालमा स्थापना भएको संस्थामा हाल ९ हजार २५० जना सदस्य छन् । १ अर्ब २९ करोड कुल सम्पत्ति रहेको संस्थामा संस्थागत पूँजी ९.३० प्रतिशत छ ।

एसियाली ऋण महासंघद्धारा प्रवद्र्धित एक्सेस कार्यक्रममा ब्रोन्च बाण्ड पाउन सफल संस्थाले २०८० साउनसम्ममा ९६ करोड ७१ लाख रुपैयाँ बचत संकलन गरी एक अर्ब कर्जा लगानी गरेको छ । ११ करोड १८ लाख शेयर पुँजी रहेको संस्थाको ११ करोड ९९ लाख रुपैयाँ जगेडा कोषमा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

महिला सहकारीहरुबाट काठमाडौं शंखमुलमा संचालनमा रहेको ज्ञानज्योति महिला उत्थान साकोस पनि यस वर्षको सर्वोत्कृष्ट संस्था बन्न सफल भएको छ । २०५९ सालमा स्थापना भएको सहकारीले महिला शसक्तिकरण र उद्यमशिलताको क्षेत्रमा काम गर्दै आएको छ ।

एक हजार ५८१ जना सदस्य रहेको संस्थाले चालु आवको साउनसम्ममा १४ करोड ७५ लाख बचत संकलन गरी १४ करोड ५५ लाख लगानी गरेको छ । २ करोड १९ लाख शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १ करोड १९ लाख र कुल सम्पत्ति १९ करोड ५६ लाख रहेको छ । संघको पूर्ण तथा व्यवसायिक साकोस कार्यक्रम प्रोबेशन ब्राण्ड प्राप्त गरेको संस्थामा हाल १८.८६ प्रतिशत तरलता रहेको छ ।

यसैगरी नेफस्कून कोशी प्रदेश उत्कृष्ट साकोसमा कनकलक्ष्मी बचत तथा ऋण सहकारी मोरङ घोषित भएको छ । ९ वटा सहकारीहरु मर्जरपछि २०७८ सालदेखि संचालनमा रहेको छ । ७ हजार ६४० सदस्य रहेको संस्थाको कुल सम्पत्ति ६७ करोड ७ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थागत पुँजी पनि ७ प्रतिशत छ । संस्था  एसियाली ऋण महासंघद्वारा प्रवर्तित एक्सेस कार्यक्रममा समेत आवद्ध रहेको छ । ७ करोड ४९ लाख सेयर पुँजी रहेको संस्थाले ४७ करोड २२ लाख बचत संकलन तथा ४९ करोड ५७ लाख ऋण लगानी गरेको छ ।

मधेश प्रदेश उत्कृष्ट साकोसमा सप्तरीको राजविराज स्थित आईडियल साकोस बन्न सफल भएको छ । २०५६ सालमा स्थापना भएको संस्थामा हाल १४ हजार ४२५ जना सदस्य रहेका छन् । ११ करोड ३० लाख रुपैयाँ शेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षसम्ममा ८५ करोड ९० लाख बचत संकलन गरी ८१ करोड ३६ लाख ऋण लगानी गरेको छ ।

कुल सम्पत्ति १ अर्व २० करोड ३९ लाख रहेको संस्थाको संस्थागत पूँजी ९.२९ प्रतिशत, जगेडा कोषमा १० करोड ५८ लाख रुपैयाँ छ । संस्था नेफ्स्कूनको प्रोबेशन ब्राडिङ कार्यक्रममा आवद्ध छ । महिला समूहबाट सहकारीमा रुपान्तरण भएको ललितपुरका ठेचो महिला जागरण साकोस यस वर्ष नेफ्स्कून बागमती प्रदेश उत्कृष्ट साकोस घोषित भएको छ ।

२०६५ सालमा स्थापना भएको संस्थामा ३ हजार ३९ जना सदस्य रहेका छन् । एक करोड ४६ लाख सेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षसम्म १० करोड ५८ लाख बचत संकलन गरी ११ करोड ३० लाख ऋण लगानी गरेको छ ।

महिलाहरुलाई सहकारीमा आवद्ध गराउदै महिला शसक्तिकरण र उद्यमशिलताको क्षेत्रमा काम गर्दै आएको सहकारी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड प्राप्त पाउन सफल भएको छ ।नवलपरासी पुर्वमा रहेको मध्य नेपाल साकोस नेफ्स्कून गण्डकी प्रदेश उत्कृष्ट साकोस बन्न सफल भएको छ ।

२०५४ सालमा स्थापना भएको स.स्थामा हाल २३ हजार ६२८ जना सदस्य छन् । गत आर्थिक वर्षसम्म संस्थाले गत आर्थिक वर्षसम्म ९९ करोड ७९ लाख बचत संकलन गरी १ अर्ब ८ करोड ऋण लगानी गरेको छ ।संस्थाको शेयर पुँजी १३ करोड ६१ लाख, जगेडा कोषमा ७ करोड ४२ लाख, कुल सम्पत्ति १ अर्व १ करोड ५ लाख र संस्थागत पुँजी ५.१ प्रतिशत रहेको छ । संस्था एसियाली ऋण महासंघको एक्सेस ब्राडिङ कार्यक्रममा समेत आवद्ध छ ।

यसैगरी नेफ्स्कून लुम्बिनी प्रदेश उत्कृष्ट साकोसमा नवलपरासी पश्चिमको  लुम्बिनी सुनवल साकोस घोषित भएको छ । १० करोड ६२ लाख शेयर पुँजी रहेको संस्थाले २०८० जेठसम्म ७६ करोड ७५ लाख निक्षेप संकलन गरी ७६ करोड ९५ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

२०५६ सालमा स्थापना भएको सहकारीमा सदस्य संख्या ८ हजार रहेको छ । एक्सेस ब्राडिङ कार्यक्रममा आवद्ध रहेको सहकारीमा हाल कुल सम्पत्ति : १ अर्व ३ करोड र संस्थागत पुँजी  ५.६० प्रतिशत रहेको छ । नेफ्स्कून कर्णाली  प्रदेश उत्कृष्ट साकोसमा सुर्खेतमा रहेको गंगामाला स्वाबलम्बन विकास साकोस घोषित भएको छ ।

२०५५ सालमा स्थापना भएको संस्थामा हाल ६ हजार ६८७ जना सदस्य छन् । एक्सेस कार्यक्रममा आवद्ध रहेको सहकारीको शेयर पुँजी ४ करोड ३८ लाख रहेको छ । २८ करोड २८ बचत संकलन ३४ करोड ७९ लाख ऋण लगानी रहेको छ । संस्थाको कुल सम्पत्ति ४२ करोड ८५ लाख र संस्थागत पुँजी ८.९८ प्रतिशत रहेको छ ।

नेफ्स्कून सुदुरपश्चिम प्रदेश उत्कृष्ट साकोसमा तिला कर्णाली साकोस, कैलाली घोषित भएको छ । २०६८ सालमा स्थापना भएको सहकारीमा हाल सदस्य संख्या २ हजार १६२ जना रहेका छन् । नेफ्स्कूनको जोखिममा आधारित साकोस सुपरिवेक्षण क्रब्स कार्यक्रममा सहभागिता जनाएको संस्थाको कुल सम्पत्ति ११ करोड ७३ लाख र संस्थागत पुँजी ७.२९ प्रतिशत रहेको छ ।



Leave a comment