काठमाडौं । कोभिड–१९ महामारीको असर र रुस युक्रेन युद्धका कारण समग्र आर्थिक गतिविधिमा देखिएको शिथिलतासँगै तरलता अभावले सहकारी संस्थाहरु पनि प्रभावित छन् । केही संस्थाहरुले बचत फिर्ता समेत गर्न नसकी समस्याउन्मुख भइरहेका बेला सिंगो सहकारीप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ । यहि बेला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीका उत्कृष्ट ब्यवस्थापकहरुको घोषणा गरेको छ ।
संघले देशभरका ब्यवस्थापकमध्येबाट एक जना र हरेक प्रदेशबाट एक–एक जना गरी कुल आठ जनालाई उत्कृष्ट ब्यवस्थापक घोषणा गरेको छ । उत्कृष्ट घोषित ब्यवस्थापकलाई संघको आगामी साधारणसभामा पुरस्कृत गरिने संघले जनाएको छ ।
नेफस्कूनले उत्कृष्ट व्यवस्थापक काठमाडौंको चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई घोषणा गरेको छ । ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेका उनीसँग सहकारी क्षेत्रमा करिब २४ वर्षको अनुभव छ ।
यसअघि २०६८ सालमा नेफ्स्कूनबाटै उत्कृष्ट व्यवस्थापक र २०७४ सालमा जिल्ला संघबाट उत्कृष्ट व्यवस्थापक भएका उनी सहकारी प्रशिक्षकका रुपमा समेत परिचित छन् । हाल ३ अर्व २१ करोड ४० लाख रुपैयाँ कूल सम्पत्ति रहेको संस्थाको नेतृत्व गरिरहेका उनी मातहत ४४ जना कर्मचारी छन् ।
१९ करोड १२ लाख सेयर पुँजी रहेको चन्द्रागिरी साकोसको जगेडा कोषमा ८ करोड ४ लाख र संस्थागत पुँजी १० करोड ६१ लाख रहेको छ । संस्थाले गत आर्थिक वर्षसम्म २ अर्ब ६७ करोड बचत संकलन गरी २ अर्ब १२ करोड ऋण लगानी गरेको छ । १७ हजार ६४० जना सदस्य रहेको संस्थाले २ हजार १८७ जना सदस्यलाई लगानी गरेको छ । हाल संस्थासँग २८.८८ प्रतिशत तरलता छ ।
नेफस्कून कोशी प्रदेश उत्कृष्ट व्यवस्थापक रमाईलो जनएकता साकोस मोरङकी कृष्णकुमारी अधिकारी (दवाडी) घोषित भएकी छिन् । सहकारीमा १८ वर्ष अनुभव भएको उनले अंग्रेजी र अर्थशास्त्र विषयमा स्नातक उर्तिण गरेकी छिन् । रमाईलो बचत तथा ऋण सहकारी र जनएकता बचत तथा ऋण सहकारी संस्था एकिकरण भइ रमाईलो जनएकता साकोस बनेको संस्थामा हाल १८ जना कर्मचारी कार्यरत छन् ।
११ करोड ३० लाख रुपैयाँ शेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षसम्ममा ६७ करोड २२ लाख बचत संकलन गरी ७३ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । ९ हजार ४९३ सदस्य रहेको संस्थाले ३ हजार ३१५ जना सदस्यलाई लगानी गरेको छ । संस्थासँग हाल २७.२७ प्रतिशत तरलता रहेको छ ।
नियामक निकायबाट प्राप्त सुझाव तथा निर्देशनको पालना गर्दै दक्ष तथा इमान्दार संचालक र कर्मचारीहरुबाट संस्था संचालन भएमा सफल हुने ब्यवस्थापक अधिकारी बताउछिन् । जोखिमहरुको पहिचान गरी विश्लेषण तथा व्यवस्थापन गर्दै सदस्यलाई प्राथमिकतामा राख्न सकेमा संस्था सफल हुने उनको विश्वास छ ।
यस्तै नेफस्कून मधेश प्रदेश उत्कृष्ट व्यवस्थापकमा सगुन साकोस सर्लाहीका रविन्द्र राना घोषित भएका छन् । ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनको सहकारी क्षेत्रमा १४ वर्षको अनुभव छ । ३५ जना कर्मचारी रहेको संस्थामा शेयर पुँजी १४ करोड ५७ लाख छ ।
संस्थाले गत आर्थिक वर्षसम्ममा एक अर्ब ३ करोड निक्षेप संकलन गरी एक अर्ब १४ करोड कर्जा लगानी गरेको छ । ११ हजार ८३१ जना सदस्य रहेको संस्थाले १ हजार ७१५ जनालाई कर्जा लगानी गरेको छ । ऐन नियम, संस्थाको नीति, उद्देश्य र कार्यविधिको आधारमा सदस्यहरुमाझ ईमान्दार भई काम गर्दा सहकारी संस्था सफल हुने ब्यवस्थापक रानाको भनाइ छ ।
नेफस्कून बागमती प्रदेश उत्कृष्ट व्यवस्थापक ज्योती मिर्मिरे सामुहिक साकोस काभ्रेका गोपाल दाहाल घोषित भएका छन् । ग्रामीण विकास र नेपालीमा स्नातकोत्तर गरेका उनको सहकारी क्षेत्रमा १४ वर्षको अनुभव छ । हाल उनी मातहतका ४१ जना कर्मचारी छन् ।
१० करोड ९० लाख शेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षसम्म ७७ करोड ३७ लाख बचत संकलन गरी ८५ करोड ७९ लाख ऋण लगानी गरेको छ । १५ हजार ३८५ सदस्य रहेको ज्योतीले गत आर्थिक वर्षसम्ममा २ हजार ६४० जना सदस्यलाई लगानी गरेको छ ।
संस्थामा हाल २६ दशमलव २४ प्रतिशत तरलता रहेको छ । संस्थाका सञ्चालक समितिले गरेका प्रस्तावहरु र गर्ने निर्णयहरु कानुन, नीति र कार्यविधिसँग मिलेका र त्यसले सदस्यको जिवनस्तरमा के प्रभाव पार्छ भन्ने विषयको तर्कसंगत उत्तर दिई गलत निर्णय हुनबाट जोगाउने र नीतिसंगत भएका निर्णयलाई शतप्रतिशत कार्यान्वयन गर्ने क्षमता व्यवस्थापन प्रमुखसँग भएमा सफल हुन सकिने दाहालको अनुभव छ ।
नेफस्कून गण्डकी प्रदेश उत्कृष्ट व्यवस्थापक घोषित जनसेवा साकोस कास्कीका प्रेमसागर अधिकारीले २६ करोड २७ लाख बचत र २६ करोड ७० लाख ऋण लगानीलाई ब्यवस्थापन गरिरहेका छन् । ब्यवस्थापन विषयमा स्नातक उर्तिण गरेका उनको सहकारी क्षेत्रमा १२ वर्षको अनुभव छ ।
८ जना कर्मचारी रहेको संस्थाको शेयर पुँजी ३ करोड ३१ लाख, जगेडा कोषमा १ करोड ८३ लाख रुपैयाँ रहेको छ । २ हजार २१४ जना सदस्य रहेको संस्थामा ४९७ जना ऋणी रहेका छन् । संस्थामा हाल २३.३३ प्रतिशत तरलता छ ।
२०६८ साउनमा कार्यालय सहायक पदबाट संस्थामा प्रवेश गरेका अधिकारी लेखापाल, नि. ब्यबस्थापक हुदै २०७५ बाट ब्यबस्थापकमा नियुक्त भएका हुन् । सहकारी संस्था सफल बनाउन संस्थाको ब्यबस्थापकको ठुलो हात रहने उनले बताए ।
यस्तै, नेफस्कून लुम्बिनी प्रदेश उत्कृष्ट व्यवस्थापकमा सयपत्री साकोस, नवलपरासी पश्चिमका टिकाराम तिमिल्सिना घोषित भएका छन् । अर्थशास्त्र र गणीतमा स्नातक गरेका उनले सहकारी क्षेत्रमा २३ वर्ष अनुभव बनाइसकेका छन् ।
४४ करोड ३८ लाख सम्पति रहेको संस्थाको नेतृत्व गरिरहेका उनी मातहतमा ८ जना कर्मचारी छन् । ३ हजार २६४ जना सदस्य रहेको संस्थाले गत आर्थिक वर्षसम्म ३४ करोड ७६ लाख रुपैयाँ बचत संकलन गरी ३५ करोड १९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको शेयर पुँजी ४ करोड २१ लाख, संस्थागत कोषमा २ करोड ६४ लाख र २१.६ प्रतिशत तरलता रहेको छ ।
तिमिल्सिना सयपत्री साकोसलाई २०५७ सालदेखि नेतृत्व गर्दै ३ पटक प्रोबेशन ब्रान्ड, २ पटक प्रदेश भरिको उत्कृष्ट संस्था, १ पटक नगरपालिका भरिको उत्कृष्ट संस्थाको रुपमा सम्मानित गराउन सफल भएका छन् । यस वर्ष उत्कृष्ट ब्यवस्थापकको रुपमा घोषित हुँदा २३ वर्ष काम गरेको कामप्रति सन्तुष्टी र गौरब महसुस भएको उनले बताए ।
नेफस्कून कर्णाली प्रदेश उत्कृष्ट व्यवस्थापकमा ग्रामिण साकोस सल्यानकी शान्ता राई छिन् । सहकारीमा २७ वर्ष लामो अनुभव रहेको उनले अर्थशास्त्रमा स्नातक गरेकी छिन् । उनी मातहत ६ जना कर्मचारी छन् । २ करोड ८० लाख सेयर पुँजी रहेको १९ करोड ४२ लाख निक्षेप संकलन गरी २० करोड ११ लाख कर्जा लगानी गरेको छ ।
२ हजार २६७ जना सदस्य रहेको संस्थाले ६१० जनालाई ऋण दिएको छ । सहकारीको व्यवस्थापकले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमिति लगायत सदस्यहरुबीच मध्यस्तकर्ताको भूमिका निभाउनुपर्ने ब्यवस्थापक राइले अनुभव सुनाइन् ।
यसैगरी नेफस्कूनको सुदुरपश्चिम प्रदेश उत्कृष्ट व्यवस्थापक घोषित भएका नयन सिंह ठगुन्नाले २० करोड वासलात रहेको सिर्जना साकोस कञ्चनपुरको व्यवस्थापकिय नेतृत्व गरिरहेका छन् । व्यवस्थापनमा स्नातक गरेका उनको सहकारी क्षेत्रमा १५ वर्षको अनुभव छ । २ करोड ५४ लाख शेयर पुँजी रहेको संस्थामा ४ हजार ५ सय सदस्य रहेका छन् ।
संस्थाले गत आर्थिक वर्षसम्ममा १२ करोड ९६ लाख बचत संकलन गरी १३ करोड ४९ लाख ऋण लगानी गरेको छ । सहकारीमा आर्थिक सुशासन कायम गर्न प्रशासनीक भुमिका निर्वाह गरी सदस्यहरुमा विश्वास जगाउनका लागि ब्यवस्थापकको भूमिका महत्वपूर्ण हुने उनको अनुभव छ ।
Leave a comment