चीना थापा, विराटनगर । कोशी प्रदेश सरकारले सहकारी संस्थाहरुलाई मनपरी अनुदान वितरण गरेको पाईएको छ । प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि विपरित विशिष्टीकृत सहकारी संस्थालाई १९ करोड ३० लाख अनुदान वितरण गरेको हो ।
धुलो दुध कारखाना स्थापना कार्यक्रमबाट सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघले दुई चरणमा अनुदान लिएको हो । आर्थिक बर्ष २०७७ / ०७८ मा ८ करोड लगेकोमा आर्थिक बर्ष २०७८ / ०७९ मा ११ करोड ३० लाख ४ हजार रकम लगेको छ ।
कोशी प्रदेश सरकारले दिएको अनुदानमा महालेखाको प्रतिबेदनले यस बारेमा गम्भीर प्रश्न उठाएको छ । तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कार्यविधिमा नै नबनाई सिमा भन्दा बढी अनुदान दिएको र उक्त रकम जोखिममा रहेको महालेखा परिक्षकले औल्याएको हो ।
प्रदेश सरकारको ‘कृषि व्यवसाय प्रवर्धन अनुदान कार्यविधि -२०७६ को बुँदा ५ (७) मा प्रदेश सरकार र अन्तर्गतका निकाय ५ करोडभन्दा बढी अनुदान प्रदान गर्ने भएमा त्यस्ता अनुदानका कार्यक्रममा प्रदेश सरकारको शेयर रहन सक्ने र सोको सञ्चालन प्रक्रियासमेत प्रदेश सरकारले तोके बमोजिम हुने उल्लेख छ ।
तर सञ्चालन प्रक्रिया र प्रदेश सरकारको संस्थामा भएको लगानी सम्वन्धमा केही उल्लेख नै नगरी तोकिएको सिमाभन्दा बढी लगानी गरेको महालेखाले उल्लेख गरेको छ । सरकारी लगानी जोखिमा रहेको उल्लेख गर्दै महासलेखाले उचित निर्णय लिई लगानी सुरक्षित गर्न पनि प्रदेशलाई निर्देशन दिएको छ ।
४० लाख माथिको अनुदान
कोशी प्रदेशले आर्थिक बर्ष २०७५ / ०७६ देखि आर्थिक बर्ष २०७९ / ०८० सम्म विशिष्टिकृत सहकारी बाहेक १ अर्ब ५ करोड ५५ लाख ६८ हजार सहकारीको नाममा अनुदान वितरण गरेको छ । आर्थिक बर्ष २०७५ / ०७६ देखि आर्थिक बर्ष २०७८ / ०७९ सम्ममा ९० करोड १३ लाख ८८ हजार अनुदान वितरण गरेको हो ।
झापाको मान सरोबर कृषि सहकारी संस्थालाई ६७ लाख ५३ हजार, श्री दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था मोरङ कानेपोखरीलाई ५० लाख अनुदान दिईएको छ । त्यस्तै मेचिनगर ६ झापामा रहेको महेन्द्र दुवार सहकारी संस्थालाई अन्य कार्यक्रमबाट ७३ लाख ५० हजार अनुदान दिईएको छ ।
बेलका माछा सहकारी संस्था उदयपुरलाई ४५ लाख, लेटाङको व्यवसायीक महिला बाख्रा पालन सहकारी संस्थालाई ४९ लाख २२ हजार, सगरमाथा दुध चिस्यान केन्द्र छथर जोरपाटी ६ धनकुटालाई ४९ लाख ८ हजार अनुदान दिईएको छ ।
सुनसरीमा रहेको चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थालाई पशुपालनको लागि ५० लाख, नेपाल बहुउदेश्यीय सहकारी संस्था झापालाई ७२ लाख ३८ हजार, हुलाकी मार्ग लक्षित दुध उत्पादन कार्यक्रम अन्तर्गत उत्सव कृषि सहकारी संस्थालाई ९५ लाख ३६ हजार, बैगुनधुरा साना किसान महिला कृषि सहकारी संस्थालाई ९७ लाख ३३ हजार, कियाचु कृषि सहकारी संस्थालाई ४६ लाख २९ हजार अनुदान दिईएको छ।
ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई ९८ लाख ५२ हजार अनुदान दिइएको छ । नियम विपरित बचत तथा ऋणलाई अनुदान दिएको भन्दै महालेखाले अनुदान फिर्ता गराउन भनेको थियो । महालेखाले मन्त्रालयलाई अनुदान फिर्ता गराउन भनेपछि बचत तथा ऋणबाट बहुउदेश्यीय बनाईएको छ ।
अन्य कार्यक्रम अन्तर्गत नै कियाचु सहकारीलाई १ करोड २ लाख ७१ हजार अनुदान दिईएको छ । यो रकम सित भण्डार निर्माणको लागि उपलब्ध गराईएको मन्त्रालयले जनाएको छ । गौरीगंजमा रहेको साना किसान सहकारी संस्थालाई कृषि उपज बैँक निर्माणको लागि ७१ लाख ७६ हजार अनुदान दिईएको छ ।
सगुन कृषि सहकारी संस्था इटहरीलाई ८० लाख ७० हजार, नेपाल बहुउदेश्यीय सहकारी संस्था मेचीनगरलाई १ करोड १५ लाख २० हजार अनुदान दिदा महर्षी मेँही कृषि सहकारी रंगेलीलाई ४३ लाख ६९ हजार उपलब्ध गराईएको हो ।
चन्द्रोदय कृषि सहकारी सुनसरीलाई ७१ लाख २३ हजार, साना किसान कृषि सहकारी रतुवामाईलाई ७८ लाख ४० हजार, मानसरोबर कृषि सहकारी दमकलाई ६७ लाख ५३ हजार अनुदान दिएकोे मन्त्रालयको तथ्यांकमा देखिएको छ । हाम्रो साना किसान कृषि सहकारी संस्थालाई ९७ लाख ३३ हजार, सन्दपुर कृषि सहकारी सन्दकपुरलाई ९५ लाख ३६ हजार, लावाखोला कृषि सहकारी संस्थालाई ९८ लाख ५२ हजार अनुदान दिईएको छ ।
धुपीदेम्बा कृषि सहकारी तेह्रथुमलाई ४६ लाख २९ हजार, हलेसी दर्शन कृषि सहकारीलाई १ करोड २ लाख ७१ हजार, नेपाल बहुउदेश्यीय सहरकारी भोजपुरलाई ४६ लाख ८७ हजार, लिखुखोला साना किसान सहकारी संस्थालाई ५० लाख अनुदान उपलब्ध गराएको छ । साहारा एकिकृत सहकारी खेती कृषि समुहलाई ६९ लाख एक हजार उपलब्ध गराएको छ ।
आर्थिक बर्ष २०७५ / ०७६ देखि आर्थिक बर्ष २०७८ / ०७९सम्मको विवरणमा हलेसी दर्शन कृषि सहकारी संस्था सुनकोशीलाई ४८ लाख २२ हजार रुपैया अनुदानको रुपमा प्राप्त गरेको छ । गत आर्थिक बर्ष २०७९ / ०८० मा करिब ५० लाखको हाराहारीमा एउटा सहकारीले मात्र अनुदान प्राप्त गरेको छ ।
यो अबधिमा १५ करोड ४१ लाख ८० हजार अनुदान सहकारीले प्राप्त गरेका छन् । डाँगीवारी साना किसान कृषि सहकारी संस्था लिमिटेड बाह्रदशी झापालाई ४८ लाख ७२ हजार गत आर्थिक बर्ष २०७९ / ०८० को अन्त्यसम्ममा वितरण गरिएको उद्योग कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको अनुदान प्रदान गरिएको विवरणमा भनिएको छ ।
वितरण गरिएको अनुदानमा बाख्रा पालन, चक्लाबन्दी खेती, खाद्यान्न भण्डारण गृह निमाण, शित भण्डार गृह निर्माण लगायातको लागि उपलब्ध गराईएको छ । त्यस्तै आर्थिक बर्ष २०७९ / ८० को एक आर्थिक बर्षमा ३० लाख भन्दा माथिका अनुदान भनेँ धेरै सहकारीलाई उपलब्ध गराईएको छ ।
गाई ब्लक विकास कार्यक्रम अन्तरगत उदयपुरको महिला साना किसान कृषि सहकारी संस्थालाई ३० लाख, कृषि पशुपालन तर्फ खोटेहाङ पशुपालन दुग्ध सहकारी खोटाङलाई ३५ लाख, च्यास्मीटार महिला कृषि सहकारी संस्थालाई बाख्रा बृहत्तर कार्यक्रम अन्तरगत ३५ लाख उपलब्ध गराईएको छ ।
नमुना कृषि सहकारी संस्थालाई ३३ लाख ९२ हजार, सृजनशिल कृषि सहकारी संस्थालाई ३४ लाख १६ हजार, जनउत्थान बहुउदेश्यीय सहकारी सोलुखुम्बुलाई ३३ लाख ६१ हजार, एभरेष्ट बहुउदेश्यीय सहकारी सोलुखुम्बुलाई ३३ लाख ३६ हजार अनुदान दिईँदा जलकन्या कृषि सहकारी संस्था सुनसरीले ३४ लाख ६५ हजार अनुदान प्राप्त गरेको छ । त्यस्तै भोजपुर कृषि तथा पशुपंक्षी जडिबुटी सहकारीले ३४ लाख ९६ हजार अनुदान प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
Leave a comment