काठमाडौं । यतिबेला बचत तथा ऋण सहकारी संस्थाहरु समस्यामा छन् । कतिपय सहकारी संस्थाहरुले तरलता अभावका कारण बचत फिर्ता गर्न नसक्दा सिंगो सहकारी अभियानप्रति नकरात्मकता बढीरहेको छ । यो बेला संस्थाहरुको अभिभावक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा भने संचालक समितिभित्रै तिब्र असन्तुष्टि देखिएको छ ।
अध्यक्ष परितोष पौड्यालले एकलौटी ढंगले काम गरेको भन्दै कतिपय संचालकहरुको गुनाँसो पेख्ने माध्यम सामाजिक संजाल बनेको छ । गत साउन २१ गते सामाजिक संजाल फेसबुकमार्फत बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सार्वजनिक रुपमै नेफ्स्कूनमा हुने गतिबिधिको विरोध गरेको थिए ।
नेफ्स्कूनले आफ्नो आधिकारीक वेवसाईटमार्फत ‘सहकारी सञ्चालन सम्बन्धी एकीकृत स्वनियमन मार्गनिर्देशिका तयारीका क्रममा अभियानबीच छलफल गरेको’ सार्वजनिक गरेपछि ढकालले फेसबुकमै ‘म नेफ्स्कुनको बरिस्ठ उपाध्यक्ष मलाई सम्म सामान्य जानकारी छैन । पदाधिकारी बिच छलफल भएको सम्झना छैन सिधै अभियान सङ छलफल भनेर पोस्ट गर्नु !!! हामी कता जान खोज्दै छौ ??’ भनेर लेखेका थिए ।
त्यसपछि नेफ्स्कूनका कर्मचारीहरुले सामाजिक संजालमै प्रतिउत्तर लेख्दै ‘ब्यवस्थापनको पहलमा भएको कार्यक्रममा अध्यक्ष एकैछिन पस्नुभएको हो’ भनेर प्रष्टिकरण दिएका थिए । यसअघि प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलको विदाई र संजयराज तिमिल्सिनालाई ब्यवस्थापन प्रमूखको जिम्मेवारी दिएको विषयमा समेत उनले सार्वजनिक रुपमै गुनासो गरेका थिए।
त्यसपछि सोमबार लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले समेत संघको कार्यशैलीबारे सार्वजनिक कमेन्ट गरे। संघले आइतबारदेखि गरेको एक कार्यशालाबारे जानकारी नदिएको उल्लेख गर्दै उनले भने, ‘लेखासुपरिबेक्षण समिती लाई नै बाहिर राखेर गरिएको कार्याशालाले नेफ्स्कूनले कस्तो सुशासन दिन खोजेको होला ?’ सापकोटाको कमेन्टमा टिप्पणी गर्दै कतिपयले नेफ्स्कूनमा गुटबन्दी, राजनीतिक खिचातानी भएको र संस्थाको वास्तविक भूमिका ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेफ्स्कून अध्यक्ष पौड्याल कार्यकालको सुरुवातदेखि नै विवादमा पर्दै आएका छन् । चुनावी दौरानमा नै संघका तत्कालिन सिइओ र प्रशासन प्रमुखलाई कारवाही गर्ने चेतावनी दिएर चर्चामा आएका पौड्यालले अध्यक्ष भएपछि उच्च व्यवस्थापनका दुई जनालाई एकैपटक राजिनामा दिन बाध्य बनाएको भन्दै आलोचना भएको थियो ।
त्यसपछि सिइओ नियुक्ती प्रक्रियामा समेत उनी आलोचनामुक्त रहन सकेनन् । तर, सोही सिइओले आफुलाई सहयोग नगरेको भन्दै कार्यकाल नथपेपछि उनको भूमिका बिवादीत बनेको छ । यसैगरी पछिल्लो समय विश्व ऋण परिषद्को एक औपचारिक कार्यक्रममा भाग लिने वहानामा परिवारसहित क्यानडा घुमघाममा मात्र सक्रिय भएपछि अध्यक्ष पौड्यालको संघभित्र आलोचना भइरहेको छ । तर, पोड्याल भने ‘आफुलाई कसैले गरेको विरोधले केही फरक नपर्ने’ भन्दै झन् झन् स्वछाचारी शैली देखाउने गरेको नेफ्स्कूनकै एक कर्मचारीले बताए ।
Leave a comment