बिराटनगर । झापाको दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाका पूर्व अध्यक्ष स्व. गणेशप्रसाद बस्नेतको नाममा स्थापना गरेको ‘गणेशप्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कार’ सहकारी अखबार डट कमकी सम्वाददाता चीना थापालाई दिइने भएको छ । सहकारीले आईतबार विहान पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
संस्थाको लामो समयदेखि नेतृत्व सम्हाली संस्था र सिङ्गो सहकारी आन्दोलनलाई उत्कृष्ट योगदान पु्र्याउनुभएका पूर्व अध्यक्ष स्व.बस्नेतको सम्झनामा स्थापित अषय कोषको व्याजबाट देशभरिका सहकारी अभियान्ताहरु मध्येबाट हरेक बर्ष गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियान्ता पुरस्कार र पत्रकारीता पुरस्कार प्रदान गर्दैआएको छ ।
यस बर्षको गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियान्ता पुरस्कार राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्राकुमारी थामसुहाङलाई र पत्रकारीता पुरस्कार थापालाई दिने निर्णय भएको सहकारीका अध्यक्ष भट्टराईले जानकारी दिए ।
त्यस्तै मेची सहकारी पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति झापाका सम्वाददाता राजु पोखरेललाई प्रदान गरिने भएको छ । पुरस्कार संस्थाको २९ औं बार्षिक साधारणसभाको अवसरमा भदौ १२ गते प्रदान गरिने जनाएको छ ।
झापाको मेची सहकारीद्धारा सरकारलाई २ करोड भन्दा बढी कर
आइतबार गरेको पत्रकार सम्मेलनमा संस्थाले विभिन्न शिर्षकमा सरकारलाई २ करोड भन्दा बढी कर बुझाएको जानकारी दिएको छ । सहकारीका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले आर्थिक बर्ष २०७९ / ८० मा २ करोड २३ लाख ७७ हजार २६० रुपैया रकम विभिन्न शिर्षमा सरकारलाई कर तिरेको जानकारी दिए ।
संस्थाले २७ औं बार्षिकोत्सव तथा २९ औं साधारण सभा आईतबार देखि शुरु गरेको छ । सहकारीले हरेक बर्ष साधारण सभा सुरु हुनुभन्दा अगाडि पत्रकार सम्मेलन मार्फत संस्थाको गत आर्थिक बर्षको बार्षिक गतिबिधि र आगामी कार्ययोजनाहरु सार्वजनिक गर्ने गरेको छ ।
सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईले सहकारीले चालु आर्थिक बर्षमा बाह्य कर्जा नलिने नीति लिएको जानकारी दिए । अध्यक्ष भट्टराईले बाह्य कर्जा भन्दा पनि सहकारीको पुँजीलाई नै प्रभावकारी रुपमा परिचालन गरिने बताए । गत आर्थिक बर्षमा १७ करोड ६० लाख रुपैयाँ बाह्यकर्जा घटाएको भट्टराईले जानकारी दिए ।
अध्यक्ष भट्टराईका अनुसार सदस्यहरुको लामो अवधिको बचतलाई प्राथमिकता दिइने, यस बर्षलाई पनि अघिल्लो बर्षझैं बचत बृद्धिको बर्षका रुपमा सञ्चालन गरिने, सामुदायिक बिद्यालय, टोल बिकास संस्था र अन्य गैह्रनाफामुलक संस्थाहरुलाई सदस्यता दिई बचतमा सहभागी गराइने, यस बर्षदेखि मेघा बचत योजना र मेची पेन्सन बचत योजना अघि सारिएको छ ।
सहकारी आवास २ र उर्लाबारीमा रहेको संस्थाका नामको जग्गामा सहकारी बजार निर्माणको योजना पनि संस्थाले ल्याएको अध्यक्ष भट्टराईले जानकारी दिए । सहकारीको सञ्चार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सहकारीका कार्यकारी प्रमुख बगालेले संस्थाको वित्तीय आँकडा प्रस्तुत गर्दै यो बर्ष संस्थाले १० करोड नाफा कमाउन सफल भएको जानकारी दिए ।
उनले आगामी बर्ष १६ करोड नाफा कमाउने लक्ष्य राखेको पनि जानकारी दिए । त्यस्तै २ हजार ७ सय ५० जना सदस्य संख्या थप गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख थापाले बताए । संस्थामा अघिल्लो बर्ष ३५ करोड ५५ लाख ७८ हजार रुपैयाँ शेयर पुँजी रहेकोमा १ करोड ९४ लाख ५ हजार रुपैयाँ गत आर्थिक बर्षमा थप भएको जनाईएको छ ।
सहकारीले अघिल्लो बर्ष २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा १ करोड ९० लाख रुपैयाँ थप भई हाल ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको वगालेले जानकारी दिए । उनका अनुसार सहकारीमा ९९ प्रतिशत असल कर्जा रहेको छ । सहकारीले ४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ । सहकारीले ७ वटा इकाइगत साधारण सभा गरि १२ भाद्रमा यसबर्षको प्रमाणिकरण साधारणसभा गर्ने जानकारी दिइएको छ ।
Leave a comment