हाइलाइट

सस्तोमा जग्गा बेचेपछि साझा भण्डारका संचालक अख्तियारको फन्दामा

सस्तोमा जग्गा बेचेपछि साझा भण्डारका संचालक अख्तियारको फन्दामा :: Sahakari Akhabar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाँके र सुर्खेतमा रहेका जग्गाहरु कम मूल्यमा बिक्री गरी संस्थालाई ४ करोड रुपैयाँ भन्दा बढी आर्थिक हानिनोक्सानी पुर्याएको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा विहिबार मुद्दा दायर गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, स्थित २ रोपनी जग्गा र बाँके कोहलपुरको दुई कठ्ठा १७ धुर जग्गा कम मूल्यमा विक्री गरेको अख्तियारको आरोप छ । जसमा साझाका तत्कालीन अध्यक्ष खड्का, सदस्य सचिव तथा महाप्रबन्धक अमर थापा, सञ्चालक समिति सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा र भोलाप्रसाद न्यौपानेलगायतका विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ हानी नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।

दैलेख जिल्ला नारायण नगरपालिका–१ स्थायी ठेगाना भई हाल काठमाडौं बाँसबारी बस्ने गीताकुमारी शाहीले सुर्खेतको र बाँके जिल्ला, कोहलपुर ११ बस्ने सुरोज गिरीले बाँकेको जग्गा वोलपत्रमा प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्य राखी वेसरोकारवाला व्यक्तिको नागरिकताको प्रतिलिपि लिई निजको मन्जुरी विना वोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरेको आरोप अख्तियारले लगाएको छ ।



Leave a comment