विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं. २ का उमेशकुमार मण्डललाई सहकारीको रकम हिनामिना गरेको आरेपमा कारागार राख्न अदालतले आदेश दिएको छ । उनलाई सहकारीको १ करोड १५ लाख ८७ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा राख्न अदालतले मंगलबार आदेश दिएको हो ।
कटहरी–२ मा रहेको नव आदर्श सहकारी संस्थाको व्यवस्थापक पदमा रहेका मण्डलले बचतकर्ताको रकम निकालेर चलाएको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला अदालत मोरङका न्यायाधीश दिनबन्धु बरालको इजलासले मण्डललाई पुर्पक्षका लागि मोरङ कारागारमा थुनामा पठाउन आदेश गरेको हो ।
अदालतले मण्डलसँगै सहकारीमै कार्यरत भविश्वर न्यौपानेलाई १६ लाख ३० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको छ । न्यौपानेले भने सहकारीको १६ लाख ३० हजार रुपैयाँ तिरिसकेको भए पनि अदालतले त्यति नै रकम धरौटी माग गरेको हो । न्यौपाने कटहरी गाउँपालिकाका कर्मचारी पनि हुन् ।
मण्डलले तीन सय ८० जना बचतकर्ताको रकम हिनामिना गरेको सहकारीको आन्तरिक छानविनले देखाएको छ । ब्यवस्थापक मण्डलले सहकारीमा बिहान सफाइको काम गर्ने, सडक किनारामा बसेर पकौडा बिक्री गर्ने सर्वसाधारण महिलाहरूको बचत पनि आफैले चलाएका छन् ।
सामाजिक सुरक्षा भत्ता लिएर सहकारीमा जम्मा गर्ने ज्येष्ठ नागरिकको रकम पनि उनले चलाएको देखिएको सहकारीका अध्यक्ष किशोर पाण्डेले बताए । सहकारी संस्थाको रकम हिनामिना शीर्षकको मुद्दामा सहकारीका सञ्चालक संजयकुमार मण्डल र दिलिप अधिकारीले दिएको जाहेरीका आधारमा आइतबार दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो ।
२०७५ देखि २०७९ को साढे तीन वर्षको अवधिमा व्यवस्थापक मण्डलले सहकारीको रकम हिनामिना गरेर तीन ठाउँमा घडेरी र एक ठाउँमा घर खरिद गरेको बताइएको छ । उनले बचतकर्ताको पासबुकमा रकम चढाए पनि कम्प्युटरमा रेकर्ड राख्दैनथिए ।
लेखा परीक्षकले छानविन गरेपछि मात्रै व्यवस्थापक मण्डलको हिनामिना पत्ता लागेको थियो । मण्डलले सहकारीमा खाता नै नभएका उनका बाबु शम्भुप्रसाद मण्डल र आमा सीतादेवी मण्डलका नाममा १६ लाख ५२ हजार रुपैयाँ बचत फिर्ता गरेको देखाएका छन् ।
खाता भएकी स्थानीय गायत्रीदेवी ठाकुरलाई थाहै नदिई उनको नाममा २ लाख रुपैयाँ ऋण निकालेर आफै चलाएका छन् । ठाकुरको नामको तमसुक र सञ्चालकको निर्णयको किर्ते हस्ताक्षर मण्डल आफैले गरेको पाइएको छ ।
सहकारीको नाममा रहेको जमिन बिक्रीका लागि तत्कालीन अध्यक्ष लालबहादुर खत्रीको नाममा किर्ते हस्ताक्षर गरेर ९ लाख ५० हजार रुपैयाँ बुझेको देखिएको छ । एक जना बचतकर्ताले मण्डल मार्फत बिभिन्न मितिमा ११ लाख रुपैयाँ बचत गरेको पासबुकमा उल्लेख छ । त्यसमा मण्डलले हस्ताक्षर गरेर रकम बुझेको देखिन्छ ।
तर सहकारीको कम्प्युटर रेकर्डमा बचत ७ हजार रुपैयाँ मात्रै देखाइएको छ । उनले सञ्चालकको किर्ते हस्ताक्षर गरेर बचतकर्तालाई सहकारीको चेक दिएका छन् भने बचतकर्ताको रकम फिर्ता गर्न उनको नाममा रहेको ब्रदर्श वर्कशपको चेक दिएको देखिन्छ ।
यसअघि पनि सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका मण्डललाई जिल्ला अदालतले प्रमाण नपुगेको जनाएर हिरासतमुक्त गर्ने आदेश दिएको थियो । चार्टर एकाउन्टेन्टको प्रतिवेदनपछि पनि प्रहरीले मुद्दा अगाडि बढाउन ढिलाइ गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले पनि प्रहरीले प्रतिवेदन बुझाएको तीन सातापछि मात्रै अदालतमा पेश गरेको थियो । मण्डलले हिनामिना गरेको रकम र त्यसको ब्याज बचतकर्तालाई फिर्ता गर्न झण्डै २ करोड रुपैयाँ लाग्ने सहकारीले जनाएको छ ।
सहकारीमा रकम लिन आउने बचतकर्ता रित्तो हात फर्कन थालेपछि सञ्चालकले चासो दिएका थिए । खोजविनका क्रममा सामान्य रकम हिनामिना गरेको देखिने बित्तिकै गत पुसमा मण्डलले दुई लाख रुपैयाँ सहकारीलाई तिरेका थिए ।
बचतकर्ताको रकम नदेखिएपछि छानविन गर्दा चार वर्षदेखि उनले बचतकर्ताबाट लिएको रकम सिधै आफैले लाने गरेको देखिएको अध्यक्ष पाण्डेले बताए । त्यसअघि २०७४ सम्म पाण्डे सहकारीका व्यवस्थापक थिए । उनी वडाअध्यक्षमा निर्वाचित भएपछि मण्डललाई जिम्मेवारी दिइएको थियो ।
Leave a comment