काठमाडौं । प्रारम्भिक संस्थाहरुको नेतृत्व गर्छु भन्दै गठन भएका सहकारी संघहरु भद्रगोल अवस्थामा रहेको पाइएको छ । संघहरुले आफुसँग नियमित कारोबार गरिरहेका सदस्य संस्थाहरुका आधारभुत सूचनाहरु समेत राख्न नसक्दा स–सानो कामका लागि सदस्यबाटै विवरण माग्नुपर्ने स्थिती देखिएको छ ।
संघहरुको भद्रगोल अवस्थाको पछिल्लो उदाहरण बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा पाइएको छ । नेफ्स्कूनले आर्थिक वर्ष २०७९÷८० को लागि सम्मान तथा पुरस्कार छनोट गर्न भन्दै आफ्ना सदस्य संस्थाहरुबाट विवरण मागेको छ । जबकी उसले मागेका अधिकांश सूचनाहरु अभिभावक रुपमा संघसँगै अद्यावधिक हुनुपथ्र्यो ।
संघले सर्वोत्कृष्ट संस्था, उत्कृष्ट जिल्ला बचत संघ, प्रादेशिक सर्वोत्कृष्ट संस्था, उत्कृष्ट ब्यवस्थापक र साकोस एकीकरण पुरस्कारका लागि सार्वजनिक सूचनामार्फत सदस्यहरुसँग आवेदन माग गरेको छ । आवेदन गर्दा संस्थाहरुले सदस्य संख्या, कारोबारको विवरण, भौतिक र प्राविधिक पूर्वाधारको अवस्था र नेफ्स्कूनका कार्यक्रममा सहभागिता जस्ता विषहरुमा जानकारी गराउनुपर्ने ब्यवस्था गरिएको छ ।
आफ्ना सदस्य संस्थाहरुको कारोबारलगायतको अवस्थाबारे संघहरुसँग अद्यावधिक विवरणहरु समेत नहुनु विडम्बना भएको एक सहकारीकर्मीले टिप्पणी गरे । यसले सहकारीका संघहरुसँग सम्पति शुद्धिकरण निवारण कार्यविधिको प्रावधान अनुसार ‘नो योर मेम्बर’ को सूचना समेत नभएको उनले दावी गरे ।
सम्पति शुद्धिकरण निवारण कार्यविधि अनुसार संघसंस्थाहरुले आफ्ना सदस्यहरुको विवरण अद्यावधिक राख्नुपर्ने, उनीहरुको जोखिम वर्गिकरण गर्नुपर्ने, शंकास्पद र सीमा कारोबारको सूचना वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने प्रावधान छ ।
राष्ट्रिय सहकारी महासंघलगायत सहकारीका अन्य संघहरुले पनि पुरस्कारका लागि हालसम्म सदस्यबाटै आवेदन माग गर्छन् । आवेदनसँगै संस्थाको विवरण समेत खुलाउनु पर्ने गरी फारम विकास गरिएको हुन्छ । सदस्य बनेर लामो समयसम्म कारोबार गरिरहेका संस्थाहरुको विवरण समेत संघहरुमा नभएको र भएका विवरणलाई पनि व्यवस्थित गर्न नसकेको पाइएको छ ।
आफ्ना सदस्यहरुको विवरण समेत ब्यवस्थित गर्न नसकेका संघहरुले पछिल्लो समय अनुगमनको अधिकार समेत माग गर्दै आएका छन् । सहकारी क्षेत्र सुधार कार्यदलमा सुझाव बुझाउने क्रममा सहकारी संघहरुको समेत सहभागितामा सहकारी अनुगमनको ब्यवस्था मिलाउन माग गरिएको छ ।
Leave a comment