हाइलाइट

ऋण प्रवाहमा कडाइ गरेपछि सहकारीका संघहरुमा अधिक तरलता 

ऋण प्रवाहमा कडाइ गरेपछि सहकारीका संघहरुमा अधिक तरलता  :: Sahakari Akhabar

काठमाडौं । तरलता अभावका कारण प्रारम्भिक संस्थाहरुले बचत फिर्ता गर्न नसकिरहेका बेला संघहरुमा भने अधिक तरलता देखिएका छ । सहकारी संस्थाहरुसँग होलसेलमा वित्तीय कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आवश्यक भन्दा बढी तरलता देखिएको छ ।

सहकारीमा प्रचलनमा रहेको पल्स मनिटरिङ सिस्टमले १५ प्रतिशत भन्दा बढि तरलता हुनुपर्छ भनेको छ । यस्तै सहकारीका संघ तथा नियामक निकायहरुले १० देखि १५ प्रतिशतसम्म तरलता राख्न निर्देशन दिदै आएका छन । तर, सहकारीका संघहरुमा भने आवश्यक्ता भन्दा बढी तरलता राख्ने होडबाजी चलेको छ ।

संघिय सहकारी विभागको निर्देशन अनुसार मासिक विवरण सार्वजनिक गर्दै आएका सहकारी संघसंस्थाहरुबिच उच्च तरलता देखाएर संस्था राम्रो देखाउने होडबाजी चलेको छ । संघहरुले नै कर्जा घटाएर भएपनि तरलताको अनुपात बढाउने रणनीतिमा देखिएका छन् ।

सहकारी बैंकले २०८० असार मसान्तमा तरलता अनुपात ३६.९९ प्रतिशत पु¥याएको छ । अघिल्लो महिना बैंकको तरलता ३०.३९ प्रतिशत थियो । गत पुसमा बैंकको तरलता १९ प्रतिशतसम्म झरेको थियो । त्यसपछि निक्षेप बृद्धि र कर्जा लगानी घटेपछि तरलता अनुपात बढेको हो ।

असारसम्ममा बैंकले ५८ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ८८ करोड रुपैयाँमा कर्जा प्रवाह गरेको छ । जेठसम्म बैंकको कुल निक्षेप ४९ अर्ब २६ करोड रुपैयाँ र कर्जा ३३ अर्ब १७ करोड रुपैयाँमा रहेको थियो । एक महिनामा निक्षेप १२ अर्बले बढ्दा कर्जा भने २५ करोडले घटाएको छ ।

यसैगरी असार मसान्तमा नेफ्स्कूनले पनि तरलता अनुपात ३०.६३ प्रतिशत पुर्याएको छ ।  जेठमा नेफ्स्कूनको तरलता अनुपात २६.९२ प्रतिशत थियो । नेफ्स्कूनले भने जेठको तुलनमा असारमा निक्षेप तथा कर्जा दुबै बृद्धि गरेको छ ।

असार मसान्तसम्ममा संघको कुल निक्षेप २३ अर्ब ३३ करोड रुपैयाँ र ऋण लगानी १५ अर्ब ६५ करोड रुपैयाँ रहेको मासिक वित्तीय विवरणमा उल्लेख छ । जेठमा संघको कुल निक्षेप २० अर्ब १९ करोड र ऋण लगानी १५ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो समय वित्तीय प्रणालीमा निक्षेप बढ्न थालेपछि सहकारीहरुलाई पनि सहज हुन थालेको छ । तरपनि सहकारीप्रति सर्वसाधारण नकारात्त्मक हुँदा काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका सहकारीमा निक्षेप घटेपनि जिल्लाबाहिर बढिरहेको बताइएको छ ।



Leave a comment