हाइलाइट

सहकारीका संचालकको दवावमा पोखरा महानगरद्धारा ऐन विपरित निर्देशन 

सहकारीका संचालकको दवावमा पोखरा महानगरद्धारा ऐन विपरित निर्देशन  :: Sahakari Akhabar

काठमाडौं । सहकारीका संचालकहरुको दवावमा पोखरा महानगरपालिकाले सहकारी ऐन विपरित निर्देशन जारी गरेको पाइएको छ । महानगरपालिकाको सहकारी ऐनमा ऋण नतिर्ने ऋणीहरुको जायजेथाबाट असुल गर्ने प्रावधान भएपनि महानगरबाट प्रदान गर्ने सेवा सुविधा रोक्का गर्ने भन्दै ऋणहरुलाई तर्साउने गरी सूचना जारी गरेको हो । 

महानगरले आइतबार सूचना जारी गर्दै सहकारीको ऋण नतिरेमा महानरपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा रोक्का गर्ने चेतावनी दिएको छ । सूचनामा महानगरको सहकारी ऐन २०७५ को दफा ६० अनुसार उक्त कारवाही गर्ने भनेपछि ऐनमा भने उक्त व्यवस्था नै उल्लेख छैन । 

महानगरेको सहकारी ऐनमा ‘कसैले संस्थालाई तिर्नु बुझाउनु पर्ने रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको व्याज समेत दर्ता गर्ने अधिकारीले त्यस्तो व्यक्तिको जायजेथाबाट असुल उपर गरिदिन सक्नेछ’ भन्ने ब्यहोरा मात्र उल्लेख छ । उक्त दफा विपरित हुनेगरी महानगरले सहकारीका ऋणी त्रसित हुनेगरी एकतर्फी रुपमा मात्र निर्देशन जारी गरेको हो । 
हालसम्म बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसूचीमा पर्ने ब्यक्तिलाई समेत सरकारी सुविधाबाट बञ्चीत गर्ने प्रावधान छैन । 

गत साता जिल्ला संघका अध्यक्ष सावित्रा कोइराला, महासचिव दिपक बाँस्तोला, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य चन्द्रा कुमारी पराजुली, बरिष्ठ प्रबन्धक भोजराज घिमिरे सहितको टोलीले सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्याल, पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीलाई औपचारिक रुपमा मागपत्र बुझाएर ऋण नतिर्नेलाई महानगरको सेवा सुविधा रोक लगाउने ब्यवस्था सहितको सूचना जारी गर्न माग गरेका थिए । सोही अनुसार महानगरले आइतबार निर्देशन जारी गरेको हो । 

‘कोही कसैले आफूले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेका भएमा त्यो आफैका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न पोखरा महानगरपालिकाबाट हदैसम्म कठोर कानुनी कारवाही गरिने कुरा स्पष्ट पार्न चाहन्छ,’ दर्ता अधिकारी भरतराज पौडलको हस्ताक्षर रहेको सूचनामा भनिएको छ,  ‘यसर्थ पोखरा महानगरपालिका नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी सेयर सदस्यहरुलाई समयमै ऋणको साँवा, व्याज, किस्ता भुक्तानीका लागि पोखरा म.न.पा. हार्दिक अनुरोध गर्दछ ।

निर्देशन विपरित कार्य गरेमा पोखरा महानगरपालिका सहकारी ऐन, २०७५ को दफा ६० वमोजिम जायजेथावाट असुलीका लागि प्रकृया अगाडि बढाउनुका साथै पोखरा महानगरपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’
 



Leave a comment