हाइलाइट

आर्थिक मन्दीको असर : सहकारीको पुँजीसँगै कारोबार बृद्धिदर पनि घट्दो 

आर्थिक मन्दीको असर : सहकारीको पुँजीसँगै कारोबार बृद्धिदर पनि घट्दो  :: Sahakari Akhabar

काठमाडौं । कोभिड–१९ को महामारी, रुस युक्रेन युद्ध तथा महंगीका तथा वित्तीय प्रणालीमा देखिएका तरलता अभावजस्ता कारणले आर्थिक गतिविधिमा कमी आउदा सहकारीको कारोबारमा नकारात्मक असर परेको छ । विगत केही वर्षयता तिब्र गतिमा बढिरहेको सहकारी संस्थाहरुको कारोबारमा गत वर्षदेखि गिरावट आउन थालेको हो । 

पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण केही सहकारी संस्थाहरुले बचत फिर्ता गर्न सकेका छैनन् । सोही कारण सहकारीप्रति सर्वसाधारणको विश्वास समेत घट्दै गएको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा समेत सहकारीहरुको कारोबारमा बृद्धिमा प्रभाव पर्न थालेको पाइएको छ । राष्ट्र बैंकले प्रत्येक प्रदेशबाट ७ वटा सहकारी गरी कुल ७० सहकारी संस्थाहरूको अध्ययन गरेको थियो । अध्ययनमा सहकारीहरुमा पुँजीसँगै बचत तथा कर्जा लगानीमा समेत नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख छ । 

अध्ययन प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सहकारीहरुको कुल पुँजी ९.०२ प्रतिशतले मात्र बृद्धि भएको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा सहकारीहरुको पुँजी १८.१४ प्रतिशतले बढेको छ ।

यसैगरी सहकारीहरुको बचत तथा निक्षेप संकलन भने नकारात्मक भएको छ ।  सहकारीहरुको कुल बचत र कर्जा ०.७५ प्रतिशत र ०.०८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । 

संकटका कारण सहकारीका सदस्यहरुको बृद्धिदरमा पनि असर परेको छ । चालू आवको पुसमा सहकारीहरुको सदस्य संख्या १०.४४ प्रतिशतले वृद्धि भएको छ ।  भने गत वर्षको सोही अवधिमा सदस्य संख्या १२.२० प्रतिशतले वृद्धि भएको थियो । 

समीक्षा अवधिमा सहकारीहरुको कर्मचारी संख्या ७.९२ प्रतिशतले वृद्धि भएको छ भने गत वर्षको सोही अवधिमा कर्मचारी संख्या १४.०८ प्रतिशतले वृद्धि भएको थियो ।
 



Leave a comment