काठमाडौं । सर्वसाधारणको बचत कानुन विपरित घरजग्गालगायत निजी ब्यवसायमा लगानी गरेको देउराली बहुउद्देश्यीय सहकारीको अनियमितताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गर्ने भएको छ । संघिय सहकारी विभागले मंगलबार देउरालीको बारेमा छानविन गर्न सीआइबीलाई सिफारीस गरेको हो ।
देउराली वागमती प्रदेश मातहतमा भएपनि प्रदेश रजिष्ट्रारले सहकारीबारे छानविन गर्न वेवास्ता गरेपछि संघिय विभागले सीआइबीलाई सिफारीस गरेको हो । ‘बचत फिर्ता नपाएको भन्दै सदस्यहरुले प्रदेशमा एक वर्षअघि उजुरी गर्नुभएको रहेछ’ विभागका रजिष्ट्रार टोलराज उपाध्यायले भने, ‘अहिले बचतकर्ता हामीकहाँ आएपछि छानबिन अघि बढाउन सीआइबीमा सिफारीस गरेका हौं ।’
सदस्यहरुले सीआइबीमा उजुरी गरेको थाहा पाएपछि संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले मंगलबार सूचना जारी गरी रकम फिर्ता पाउन बाँकी सदस्यहरुलाई सम्पर्कमा आउन अनुरोध गरेका थिए । यसअघि पनि संस्थाले कानुनी कारबाहीबाट बच्नकै लागि साना बचतकर्तालाई नगद र ठुला बचतकर्तालाई जग्गाको प्रलोभन देखाउदै आएका थिए । संस्थाले हालसम्म ३० करोड रुपैयाँ भन्दा बढी रकम सेटलमेन्ट गरिसकेको दावी गरेको छ ।
अध्यक्ष चौलागाईले सहायक कम्पनी खडा गरी सर्वसाधारणको बचत रकम चितवन र लामाटरमा जग्गामा दुरुपयोग गरेका थिए । संस्थाले जारी गरेको विज्ञप्तीमा चितवन जिल्ला भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ विगाहा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेको जानकारी दिएको थियो ।
संस्थाले २० हजार सदस्यबाट ३ अर्ब बचत संकलन गरेको छ । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीले भक्तपुर र न्यूरोडमा सेवा केन्द्र खोलेको छ । बचत रकम आफ्नै कम्पनीबाट घरजग्गामा लगानी गरेपछि संस्थामा तरलता अभाव हुन थालेको थियो ।
त्यसपछि बचतकर्तालाई एक पटकमा २५ हजार रुपैयाँमात्र फिर्ता गर्दै आएको संस्थाले असार १ गते सूचना टाँसेर कारोबार बन्द गरेको थियो । संस्थाले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । संस्थाको बचत रकम कानुन विपरित दुरुपयोग गरेका अध्यक्ष चौलागाईंले कारवाहीबाट बच्नका लागि नियामक र सहकारी अभियानका नेताहरुलाई समेत प्रभावित पार्दै आएका थिए ।
Leave a comment