हाइलाइट

तेस्रो पक्ष धितोले सहकारी बैंक र नेफ्स्कूनको ऋण अप्ठेरोमा  

तेस्रो पक्ष धितोले सहकारी बैंक र नेफ्स्कूनको ऋण अप्ठेरोमा   :: Sahakari Akhabar

काठमाडौं । तेस्रो पक्षको धितो राखेर सहकारी संस्थाहरुले संघहरुबाट लिएको ऋण समस्यामा पर्न थालेको छ । संस्थाहरुले सदस्यहरुको धितो राखेर संघबाट लिएको ऋण सदुपयोग नगरेको र नियमित सावाँ तथा ब्याज समेत भुक्तानी नगर्दा सर्वसाधारणको सम्पति नै लिलामी हुन थालेको भन्दै सहकारी विभागमा उजुरी बढ्न थालेको छ ।

आईतबार सहकारी संघहरुले गरेको एक कार्यक्रममा संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले तेस्रो पक्षको धितो राखेर गरेको लगानीको दुरुपयोग भएको र यसका कारण सर्वसाधारण पिडित हुन पुगेको बताएका छन् ।  संघहरुले आफ्ना सदस्य संस्थाहरुलाई ऋण दिदा त्यसका संचालक बाहेक त्यसका सदस्यहरु अर्थात तेस्रो पक्षको धितो पनि स्वीकार गर्ने गरेका छन् । तर, यसरी भएको ऋणको सदुपयोग नभएको र संस्थाको बदमासीका कारण सदस्यहरु मर्कामा पर्न थालेको सहकारी विभागले जनाएको छ । 

रजिष्ट्रार घिमिरे तेस्रो पक्ष धितोले सदस्य मर्कामा परेको उजुरीहरु आउन थालेको र समस्या बढ्दै गएका सहकारी बैंक र नेफ्स्कूनजस्ता संघहरुमा समेत यस्तो कारोबार बन्द गर्नुपर्ने आएको बताए । ‘सदस्यको धितो राखेर संघहरुबाट लाखौं कर्जा लिने तर त्यही सदस्यलाई न्यून लगानी गरेको पाइएको छ’ उनले भने, ‘सदस्यले ऋण चुक्ता गरिसक्दा पनि संस्थाले ब्याज समेत नतिरेका धितो लिलामीको अवस्था आएको छ ।’

स्रोतका अनुसार सहकारी संस्थाहरुले राम्रो धितो भएका सदस्यहरुलाई कम ब्याजदरको लोभ देखाएर सहकारी बैंक र संघमा धितो राखेर ऋण लिन मञ्जुरीनामा गराउने गरेका छन् । यसको जोखिमबारेमा संघहरुले ऋण दिँदा जानकारी दिदैनन् भने संस्थाले कर्जाको किस्ता नतिरेको बारेपनि धितो दिएको व्यक्तिलाई थाहा हुदैन । एकैपटक लिलामीको सूचना जारी भएपछि मात्र सदस्यले जानकारी पाउने गरेका छन् । 

यसअघि सहकारी विभागले तेस्रो पक्ष धितो राख्न नपाउने ब्यवस्था गर्न लागेपनि सहकारी बैंक, नेफ्स्कूनलगायतको दवावमा रोकिएको थियो । 


 



Leave a comment