काठमाडौं । सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या समाधान नभएसम्मका लागि बागमती प्रदेशले नयाँ संस्थाको दर्ता बन्द गरेको छ । बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले सयुक्त रुपमा गरेको गोष्ठीमा बोल्दै पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले सहकारीमा समस्या हल नभएसम्म दर्ता रोक्न निर्देशन दिइएको बताए ।
यसअघि तत्कालिन रजिष्ट्रार बिक्रम पाण्डेले प्रक्रिया पुरा नगरी तीन सय भन्दा बढी संस्था दर्ता गरेको भन्दै उजुरी समेत परेको थियो । तर, यसबारे मन्त्रालयले भने कुनै छानविन अघि बढाएन । सहकारीप्रति आम सर्वसाधारणको विश्वास कम हुँदै गएको र यसले गर्दा पनि समस्या बढेको मन्त्री महर्जनले दावी गरे ।
‘अहिले सहकारीको मुख्य समस्या विश्वासको संकट हो’ उनले भने, ‘यसबाट बाहिर निस्किनका लागि सहकारीप्रति सदस्यको विश्वास फर्काउन आवश्यक छ ।’ ठूला बैंकमा पनि सबै निक्षेपकर्ता एकै पटक निक्षेप फिर्ता माग्न आए दिन नसकिने भन्दै सहकारीमा अहिले त्यस्तै अवस्था सृजना भएको उनले दावी गरे ।
मन्त्री महर्जनले सहकारी मन्त्रालयमा अन्य मन्त्रालय थपिएपनि सहकारी विषय प्राथमिकतामा रहेको बताए । आगामी आर्थिक बर्षको बजेट बक्तव्यमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना गर्ने विषय उल्लेख भएको र यसलाई छिट्टै कार्यान्वयन गर्ने उनले जानकारी दिए । यसैगरी बजेटमा सहकारी ऐन संसोधन गर्ने विषय उल्लेख भएको र बाझिएका र सहकारी क्षेत्रलाई अप्ठेरो परेको विषय संसोधन अघि बढाउने उनले प्रतिवद्धता गरे ।
Leave a comment