चीना थापा, विराटनगर । ‘हामीले महिलाका कुरा गरिरहँदा अरु एजेण्डाहरु पुरुषले उठाउनुहुन्छ, महिलाको कार्यक्रम भनेपछि सम्पूर्ण भारी महिलाले नै बोक्नुपर्छ । पुरुष दाजुभाईहरु सहभागिताको लागि नआउने, आएपनि अप्ठ्यारो मानेर पर कुनामा बस्नुहुन्छ । अतिथिको रुपमा आउनुभएकाहरु अगाडिको सिट त छाड्दै छाड्नुहुन्न ।
कार्यक्रम जेसुकै होस् अगाडिकै सिटमा बस्नुपर्छ पुरुष भएको कारणले ।’ यो भनाई हो नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून) की सञ्चालक गोमा नेपालको । जेठ २७ गते जिल्ला सहकारी संघ मोरङको आयोजनामा एक दिवसिय महिला गोष्ठी सम्पन्न भएको थियो । ५० जना भन्दा बढी महिलाहरुको सहभागिता थियो ।
कार्यक्रममा नेपालले पुरुष भएकै कारण अगाडि सिट छाड्नुुहुन्न भन्दा हल तालीले गुञ्जियो । धेरै महिला सहकारीकर्मीहरु खासखुस पनि गरिरहेका थिए–‘मञ्चमा बस्न महिलाहरु चाहिँ अझै नेतृत्व तहमा रहेनछन् ? पुरुष मात्र छन् त अगाडि त !’ संघकी उपाध्यक्ष पार्वता बराल गोष्ठीको संयोजक थिईन । उनैले कार्यक्रमको अध्यक्षता गरेपनि गोष्ठीमा सहभागि महिलालाई स्वागत गर्ने पनि पुरुष नै थिए ।
स्वागत मन्तव्यमा आधा घण्टा भाषण गरेका उनले कोभिडदेखि युक्रेन युद्धसम्मले सहकारीलाई समस्या भएको भन्न भ्याए, चर्को स्वरमा सहकारीलाई आयकर कर बढाएकोमा फिर्ता लिन सरकारलाई चुनौति पनि दिए । तर, महिला सहकारीकर्मीको एजेण्डामा भने बोल्न जरुरी ठानेनन् । लाग्छ की महिलाहरु पुरुषहरुको चर्को भाषण सुन्न पैसा तिरेर आएका छन् ।
गोष्ठीमा दुई ओटा कार्यपत्र प्रस्तुत भएका थिए । जसको अध्यक्षता पनि पुरुषले नै गरेका थिए । पहिलोको टिप्पणीकार पनि पुरुष नै थिए । पहिलो कार्यपत्र सहकारीको वर्तमान अवस्था, चुनौति र भावी कार्यदिशा विषयमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले गरेका थिए । प्रस्तुतकर्ता, अध्यक्षता र टिप्पणीकर्ता सबै पुरुष नै थिए ।
दोस्रो कार्यपत्र ‘सहकारीमा महिला : सशक्तिकरण र समानता’ विषयमा राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ्गले गरेकी थिईन । जसको अध्यक्ष र एक जना टिप्पणीकर्ता पुरुष नै थिए । एक जना टिप्पणीकर्ताको जिम्मेवारी गोमा नेपाललाई दिइएको भएपनि टिप्पणीकारको रुपमा अन्तिमा तीन मिनेट मत्रा बोल्न पाईन् । तर, कार्यपत्र अध्यक्षता गर्नेले आधा घण्टा भन्दा बढी समय भाषण सुनाउन भ्याए भने टिप्पणीकर्ता पुरुषहरुले पनि महिलालाई ‘देवी’ भन्दै लामो समय भाषण सुनाउन भ्याए ।
गोष्ठीमा महिला सहकारीकर्मीहरु शुल्क तिरेर सहभागि थिए । तर, उनीहरुले कार्यक्रमबाट के पाए ? प्रश्न उब्जिएको छ । कार्यक्रममा सहभागि महिलाहरु धेरै जसो पुरुषले नेतृत्व गरेका सहकारी थिए । अब के पुरुषहरुले महिलालाई नेतृत्व दिन तयार छन् ? पक्कै पनि छैनन् । यो कुरा कार्यक्रमको मञ्चले नै पुष्टि गरिसकेको छ ।
पैसा तिरेर सहभागि भएको गोष्ठीमा महिला सहकारीकर्मीले केही जानकारी पाए पाएनन् त्यो भनेन्, तर मोरङमा पहिलो पटक महिलालाई मात्र सहभागि गराएर कार्यक्रम गरिदिएकोमा सुखी भए । दिनभरी कार्यक्रम गरिरहदा मोरङको सहकारीको अवस्थाको बारेमा खासै चर्चा परिचर्चा भएन । देशभरको मात्र हैन अन्तराष्ट्रिय स्तरको कुरा गरेर कार्यक्रम समापन भयो । गोष्ठीबाट १४ बुँदे घोषणापत्रमा पनि महिला र स्थानिय कुराले प्राथमिकता पाउन सकेनन् ।
सहकारी क्षेत्रमा महिलाको सहभागिता बढेको छ । सहकारीले महिलालाई अगाडि बढाएको छ । सहकारीका कारण नै राजनीतिमा फ्डको मारेका महिलाहरु पनि छन् । सहकारीकै कारण महिलाहरु नेतृत्वमा पुगेका छन् । नेतृत्व तहमा निकै कम छ ।
पछिल्लो समयमा संघहरुको नेतृत्व पनि महिलाले लिन थालेका छन् । तर, पनि नेतृत्वमा महिलाहरुलाई पत्याईदैन । पदाधिकारीमा महिला छन् । तर, उनीहरुलाई मञ्चमा बोलाईदैन । उनीहरुको क्षमताई विश्वास गरिदैन । जे कुरालाई पनि पुरुषको नजरबाट हेर्ने हाम्रो सोचका कारण कार्यक्रम एकातिर मञ्च अर्कोतिर हुने गरेको छ ।
महिलाले मात्र सञ्चालन गरेका सहकारी छन् । क्षमतावान महिला व्यवस्थापक छन् । तर, भाषण होस या प्रस्तुती सबै कुरा गर्न पुरुष नै चाहिन्छ । महिलाका सफलताका कथा हामी सुन्न वा सुनाउन सक्दैनौं । महिलाद्धारा सफलता पूर्वक सञ्चालन भएका सहकारीका राम्रो पक्ष सबैसामु पुर्याउन हामी तयार छैनौं ।
तर, पनि हामी भन्न छाड्दैनौ महिलाले गरेको हेरक काम सफल हुन्छ पुरुषले गरेको भन्दा । हामीले भाषणमा हैन परिवर्तन व्यवहारबाट गर्नुपर्छ । हरेक बर्ष गरिने भनिएको यो गोष्ठीमा अर्को पटक यस्तो गल्ति आयोजकले नगरोस् ।
प्रमुख मात्र नखोजम । पदाधिकारीमा भएका महिला पनि सक्षम छन् । उनीहरुको क्षमताको पनि कदर गरौं । कार्यपत्र प्रस्तुत गर्ने र टिप्पणी गर्ने तथा अध्यक्षता गर्ने क्षमतावान महिलाहरु पनि छन् । उनीहरुको क्षमता पनि चिनौं र आगामी दिनमा उनीहरुलाई अवसर दिउ । महिलाहरुको कार्यक्रम महिलाहरुकै जस्तो बनाउ ।
Leave a comment