चीना थापा, विराटनगर
१४ बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै ‘महिला सहकारी गोष्ठी २०८०’ शनिबार विराटनगरमा सम्पन्न भएको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै गुणात्मक सहकारी अभियान निर्माणमा गर्ने, सहकारीप्रति नकरात्मकता फैलिरहको बर्तमान अवस्थामा सहकारीको साख अभिवृद्धि तथा विश्वास आर्जनका लागि सदस्य शिक्षा लगायत जागरणका विभिन्न गतिविधि गर्ने, सहकारी संस्थाका सदस्यहरुको बचत सुरक्षाका लागि आवश्यक सम्पूर्ण सजगता अपनाउर्ने लगायतका कुराहरु घोषणा पत्रमा समेटिएको छ ।
त्यस्तै सहकारी संघ संस्था लगायत अन्य सार्वजनिक निकायमा महिलाहरुको संख्यात्मक मात्र नभई अर्थपूर्ण सहभागिताको सुनिश्चितताका लागि सरकार र सबै सरोकारवाला संघ संस्थासँग जोडदार माग गर्ने, महिला सहकारीकर्मीहरुको क्षमताअभिवृद्धि एवम् आवद्धतालाई प्रोत्साहन गर्न विभिन्न आकर्षण कार्यक्रमहरु ल्याउन तथा विभिन्न सहुलियत प्रदान गर्न सम्वन्धित पक्षसँग जोडदार माग गर्ने जस्ता कुराहरु घोषणा पत्रमा उल्ल्ेख गरिएको छ । मोरङमा पहिलो पटक आयोजना भएको महिला सहकारी गोष्ठीमा मोरङ जिल्लामा रहेका ५० भन्दा बढी सहकारी संस्थाका महिलाहरुको सहभागिता रहेको थियो ।
गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौंलाले सहकारी अभियानमा लागेका केही वदनियतपूर्ण मानिसका कारण सहकारी अभियानमा दाग लागेको बताए । जुन औंलामा घाउ लागेको छ त्यही औंला मात्र झर्ने बताउँदै सिटौलाले वदनियतपूर्ण काम गर्नेलाई सरकारले कारवाहीको दायरामा ल्याउने र बाँकी सहकारी अभियानलाई सुद्धिकरण गर्ने बताए । उनले भने, ‘सहकारी अभियानले काम गरेन भनेर सरकारले पनि उम्कन पाउँदैन । सरकारको तर्फबाट नियमित अनुगमन नहुँदा र थोरै जनशक्तिले धेरै हेर्नुपरेको अवस्थाका कारण पनि सहकारी क्षेत्रमा समस्या देखिएको छ ।’
‘अभियानको गुनासो पोख्न आउने ठाउँ पनि सरकारकै हो र पिडितको गुनासो पोख्न आउने ठाउँ पनि सरकार नै हो’, उनले भने, ‘हामीसँग अहिले नियमन निकाय भनेको प्रदेश रजिष्टार कार्यालय मात्र छ, जसले १४ वटा जिल्ला हेर्नुपर्छ । यसले गर्दा प्रभावकारी रुपमा नियमन गर्न सरकारले नसकिरहेकोले सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि आगामी साउन देखि १४ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा सहकारी शाखा स्थापना गरी अधिकृत स्तरको कर्मचारी राखेर काम गर्न लागिपरेका छौं ।’
जिल्ला सहकारी संघकी उपाध्यक्ष पार्वता बरालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीको वर्तमान अवस्था, चुनौति र भावी कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले सहकारीमा महिला ः सशक्तिकरण र समानता विषयक कार्यपत्र प्रस्तुत गरेकी थिईन ।
गोष्ठी राष्ट्रिय सहकारी महासंघ, नेपाल, राष्ट्रिय सहकारी बैंक लि. र सिटिजन्स लाइफ इन्स्योेरेन्सको प्राविधिक सहयोग र जिल्ला सहकारी संघ मोरङको आयोजनामा भएको हो ।
गोष्ठीले जारी गरेको १४ बुँदे विराटनगर घोषणा पत्र
१. सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै गुणात्मक सहकारी अभियान निर्माणमा गर्ने,
२. सहकारी संस्थाका सदस्यहरुकोे बचत सुरक्षाका लागि आवश्यक सम्पूर्ण सजगता अपनाउने,
३. सहकारीप्रति नकरात्मकता फैलिरहेको बर्तमान अवस्थामा सहकारीको साख अभिवृद्धि तथा विश्वास आर्जनका लागि सदस्य शिक्षा लगायत जागरणका विभिन्न गतिविधि गर्ने,
४. राष्ट्रिय सहकारी महासंघले तय गरको यस बर्षको नारा ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ का लागि आ–आफ्नो संस्थामा कार्यान्वयन गराउने,
५. सहकारी ऐन २०७४ मा व्यवस्था भएका कर्जा सूचना केन्द्र, कालो सूचीको व्यवस्था, सहकारी प्रवर्धन कोषको परिचालन, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षणकोष लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न हामी सरकारसँग माग गर्ने,
६. सन्दर्भ व्याजदरको व्यवस्थालाई तत्काल खारेज गरी बजारको माग र लागतका आधारमा स्वचालित व्याजदर कायम हुने व्यवस्था गर्न सरकारसँग माग गर्ने,
७. कोरोना महामारीबाट विश्वमा आर्थिक मन्दी सृजनाभएको कारण हाल बजारमा तरलताको उच्च अभाव रहेको अवस्था छ । अतः सो समस्या समाधान नहुन्जेल सम्मका लागि तरलताकोष निर्माणमा रकम बिनियोजन गर्न सरकारसँग माग गर्ने,
८. सहकारी संघ संस्था लगायत अन्य सार्वजनिक निकायमा महिलाहरुको संख्यात्मक मात्र नभई अर्थपूर्ण सहभागिताको सुनिश्चितताका लागि सरकार र सबै सरोकारवाला संघ संस्थासँग जोडदार माग गर्ने,
९. संस्थाको भूक्तानी क्षमता तथा सदस्यहरुको आर्थिक सक्षमता बृद्धि गरी बर्तमान चुनौतिहरुको सामना गर्दै संस्था तथा सहकारी अभियानको छवि संरक्षण गर्ने,
१०. व्यक्तिगत बचतको सिमा २५ लाख तोक्ने गरी सहकारी ऐनमा संशोधन गर्न ल्याएको विद्येयक तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग,
११. सहकारी अभियानप्रति लक्षित भ्रामक गतिविधिहरु बन्द गर्न र यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न सरकारसँग माग,
१२. सरकारद्धारा हालै बजेट भाषण मार्फत सहकारीको आयकरमा गरेको बृद्धिको प्रस्तावप्रति घोर आपति प्रकट गर्दै त्यसलाई तत्काल सच्चाई साविककै दर कायम गर्न माग,
१३. महिला सहकारीकर्मीहरुको क्षमताअभिवृद्धि एवम् आवद्धतालाई प्रोत्साहन गर्न विभिन्न आकर्षण कार्यक्रमहरु ल्याउन तथा विभिन्न सहुलियत प्रदान गर्न सम्वन्धित पक्षसँग जोडदार माग,
१४. सहकारी अभियान भिजन २०३० भनि तय भएको परिकल्पना समृद्ध सहकारी, सन्तुष्ट सदस्य प्राप्तीका लागि आ–आफ्नो भूमिका निर्वाह गर्ने
Leave a comment