– राष्ट्रिय सहकारी विकास बोर्डले दिएको जग्गामा सहकारी अभियानको सबैभन्दा उपल्लो छाता संगठन राष्ट्रिय सहकारी महासंघको अत्याधुनिक भवन छ । भवन बनाउनका लागि महासंघले प्रारम्भिक संस्थाहरूबाट पनि सहयोग संकलन गर्यो। शिलालेख अनुसार भवन बनाउन सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेभिले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । तर, उक्त संस्था समस्याग्रस्त छ भने यसका संस्थापक अध्यक्ष इच्छाराज तामाङसहितका संचालकहरु जेलमा छन् ।
–२०७८ चैतमा महासंघले काठमाडौंको एक तारे होटलमा ‘सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन’ ग¥र्यो । सम्मेलनको सहआयोजक रहेका शिवशिखर र तुलसी बहुउद्देश्यीय सहकारी संस्था यतिबेला संकटमा छन् भने अनियमितताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यतिबेला सहकारी संस्थाहरु तरलता अभावलगायतको समस्या भोगिरहेका छ । तर, समस्या समाधान गर्न अभिभावक संघ÷ महासंघले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेको छ । अभियानका संघहरुले सहज अवस्थामा रहेका र बलिया संस्थाहरुबाट आर्थिक लगायतका फाइदा लिने र तिनै संस्थाहरु अप्ठेरोमा परेपछि भने वेवास्ता गर्ने गरेको आरोपलाई माथीका उदाहरणले पुष्टि गर्छ ।
सहकारी संस्थाहरु एकपछि अर्को गर्दै समस्याग्रस्त बनिरहेका छन् । संस्थाहरुले सदस्यको बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति नै आम सर्वसाधारणको विश्वास घट्दो क्रममा छ । सहकारीप्रति सर्वसाधारणहरु नकारात्मक बन्दै गएका छन् भने सहकारीको गरिमा घट्दै गएको छ ।
सहकारी अभियानको भविश्यप्रति नै प्रश्न उठ्न थालेका बेला अभिभावक निकाय संघ÷महासंघले नेतृत्वदायी भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेको छ । यसैगरी नेतृत्वले अभिभावकत्व निर्वाह गर्न नसक्दा संस्थाहरुमा समस्या आएको भनेर विश्लेषण समेत भइरहेको छ ।
सहकारीका संघ, महासंघहरुले प्रारम्भिक संस्थाहरुबाट सहयोग लिएर अन्र्तक्रिया, गोष्ठी, सम्मेलन तथा महासम्मेलनलगायतका कार्यक्रम गर्ने गरेका छन् । संघहरुले लिने औपचारिक सहयोग बाहेक सहकारी नेताहरुले कुनै कामका लागि आर्थिक सहयोगका आवश्यक पर्दा तिनै ठूला प्रारम्भिक संस्थाहरुलाई गुहार्ने गर्छन् । अहिले महासंघसहित केन्द्रीय र जिल्लास्तरित संघहरुलाई सहयोग गर्ने संस्थाहरु धमाधम संकटमा पर्न थालेपछि संघ तथा नेतृत्वको भूमिकामाथी नै प्रश्न उठ्न थालेको हो ।
मासंघको भवन बनाउन सहयोगी संघ संस्थाको नाम अंकित शिलालेख
सहकारीका संघहरुले प्रारम्भिक संस्थालाई दुहुनो गाई मात्र बनाएको एक सहकारीका संचालकले टिप्पणी गरे । ‘हिजो संस्था बलियो हुँदा खुरुखुरु सहयोग लगेर खाने, अहिले समस्यामा परेपछि तिमीहरुले कानुन अनुसार काम गरेनौं भन्न कुन नैतिकताले दिन्छ ? संचालकले टिप्पणी गरे ।
संस्थाहरु समस्या समाधानका लागि महासंघले नेतृत्व नगरेको भन्दै केहि समयअघि काठमाडौंमा सहकारी बचाऔं अभियान गठन भएको थियो । अभियानले महासंघमा नै रिले अनशन सुरु गरेपछि महासंघले बाध्य भएर बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा समस्या समाधान सहजिकरण कार्यदल बनाएको छ ।
कार्यदलले आन्दोलन घोषणा गरेपनि त्यसको सहकारी क्षेत्रबाटै विरोध भइरहेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कून लगायतका संघहरुले नै आन्दोलनमा आफुहरुको समर्थन नरहेको स्पष्ट पारिसकेका छन् ।
यसैगरी झापा जिल्लामा पनि एलाइन्स नै बनाएर चलिरहेको आन्दोलन बाहेककाको ध्रुवीकरण सुरु भइसकेको छ । तर, अहिलेसम्म महासंघ र कार्यदलले आन्दोलनबारे सहकारी क्षेत्रभित्रैका नेतृत्वलाई एकमत बनाउन सकेको छैन ।
गत महिना भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा डेलिगेसनमा गएको महासंघको टोलीलाई सचिव डा. दामोदर रेग्मीले पनि अभिभावक बन्न नसकेको भन्दै आलोचना गरेका थिए । ‘तपाईहरु त सहकारी महासंघ हो नि, राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्नु पर्यो नि ! सचिवको भनाइ उधृत गर्दै स्रोतले भन्यो । तर, सहकारी अभियन्ताहरु भने सहकारीका कार्यक्रमहरुमा लामो भाषणमै रमाउने गरेका छन्।
उनीहरुले प्रारम्भिक संस्थाहरुको बारेमा यथार्थ बुझेर दिशानिर्देशन गर्न नसकेको विज्ञहरुको टिप्पणी छ । संघका नेतृत्वकर्ताहरु भने संविधानका साथै ऐन, कानुन सहकारी बनाउन लविङ तथा एड्भोकेसीको काम गरेको भन्दै आफ्नो उपलब्धी सुनाउने गरेका छन् । सैविधानमै सहकारीलाई अर्थतन्त्रको एक खम्बाको रुपमा राख्नु, सहकारी ऐन २०७४ र नियमावली २०७५ जारी गर्नुलाई उनीहरुले आफुहरुको उपलब्धीका रुपमा ब्याख्या गर्ने गरेका छन् ।
Leave a comment