काठमाडौं । सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरुले नै बहिस्कार गरेका छन् । कार्यदलले बैशाख ९ गतेदखि सबै संघहरुमा ‘हामी आन्दोलनमा छौं’ भनेर कालो ब्यानर राख्ने तथा कर्मचारीहरुले कालोपट्टी लगाएर काम गर्ने घोषणा गरेपछि महासंघ, बैंकका साथै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले यसको पालना गरका छैनन् ।
आन्दोलनको कार्यक्रममा जिल्लास्तरिय संघमा मात्र कालो ब्यानर राख्ने घोषणा भएकाले महासंघमा नराखिएको महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङले बताइन् । ‘आन्दोलनको कार्यक्रममै जिल्ला स्तरिय संघमा मात्र ब्यानर राख्ने उल्लेख छ’ उनले अखबारसँग भनिन्, ‘त्यसैले हामीले राखेका छैनौं ।’
यसैगरी बचत तथा ऋण सहकारीहरुको संघ नेफ्स्कूनमा पनि कालो ब्यानर राखिएको छैन । कर्मचारीहरुले कालो पट्टी बाध्ने निर्देशन समेत संघले पालना गरेको छैन । संघका अध्यक्ष परितोष पौड्यालले रचनात्मक आन्दोलनमा मात्र आफुहरुको समर्थन हुने बताए ।
सहकारी बैंकका एक कर्मचारीले पनि कालो पट्टी बाध्ने र कालो ब्यानर राख्ने काम नगरिएको जानकारी दिए । ‘हामीलाई यसबारे कुनै निर्देशन आएको छैन’ उनले भने, ‘सहकारी बैंक राष्ट्र बैंकले समेत अनुगमन गर्ने भएकाले हामीलाई अप्ठेरो हुन्छ ।’
केही जिल्ला संघ तथा प्रारम्भिक संस्थामा भने ‘हामी आन्दोलनमा छौं’ भन्ने कालो ब्यानर राखेको र कर्मचारीहरु पनि कालो पट्टी लगाएर काम गरिरहेको जानकारी दिएका छन् । महासंघले गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
जसमा मंगलबारदेखि नै माग पुरा नभएसम्म निरन्तर सबै जिल्लास्तरीय संघहरुमा ‘हामी आन्दोलनमा छौं’ भन्ने कालो व्यानर राख्ने, सबै सहकारी संघ÷संस्थाका कर्मचारीहरूले कालोपट्टी लगाएर कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने, तीनै तहका सरकारद्वारा आयोजित अन्तरक्रिया गोष्ठी, छलफल, तालिमलगायतका कार्यक्रमहरूमा सहभागी नभई भद्र अवज्ञा गर्ने घोषणा गरेको छ ।
जेठ १३ गतेभित्र सबै जिल्लामा पूर्वतयारी भेला तथा जिल्ला सहकारी संघका अध्यक्षको संयोजकत्वमा ‘जिल्लास्तरीय सहकारी समस्या समाधान सहजीकरण संयन्त्र’ गठन गर्ने, जेष्ठ १४ गते विहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा जुलुससहित मागपत्र बुझाउने पनि कार्यक्रम रहेको छ ।
त्यस्तै, जेठ १६ गते विहान ११ बजे सहकारी विभाग, नयाँ बानेश्वर काठमाडौं र सबै प्रदेशका सहकारी महाशाखामा सिठ्ठी जुलुस निकाल्ने, जेष्ठ १९ गते विहान ९ः३० देखि १२ बजेभित्र सहकारी विभाग नयाँ बानेश्वर काठमाडौं र सबै प्रदेश सहकारी महाशाखामा धर्ना दिने पनि कार्यक्रम सार्वजनिक गरिएको छ ।
जेठ २१ गतेदेखि निरन्तर विहान ९ः३० बजेदेखि सहकारी विभाग नयाँ बानेश्वर काठमाडौं र सबै प्रदेश सहकारी महाशाखामा रिले अनसन गर्ने र सातै प्रदेशमा जिल्लास्तरीय संयन्त्रको आयोजनामा निरन्तर रूपमा जिल्लास्तरीय संयन्त्रको नेतृत्वमा ‘सदस्यसँग संचालक कार्यक्रम’आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
Leave a comment