पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले २२औं स्थापना दिवसको अवसरमा युवा सम्मेलन गर्ने भएको छ । जेठ ६ गते सुरु हुने सम्मेलनमा संस्थाले ‘हन्ड्रेड युथ, सहकारी दूत’ भन्ने नारा तय गरेको र युवा सदस्यहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो ।
सय जना युवाहरुलाई सहभागी गराएर सहकारीको बारेमा बताउने, सहकारीले दिँदै आएको सेवाको बारेमा जानकारी दिने र सहकारीप्रति उनीहरुको धारणा र इच्छा बुझ्ने उद्देश्यले कार्यक्रम गर्न लागेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले जानकारी दिए ।
सम्मेलनबाट युवाहरुले के चाहन्छन्, त्यसको खोजी गर्ने र एक सय जना युवालाई सहकारीको बारेमा पढाएर जहाँ जहाँ उनीहरु बस्छन् त्यहाँ भोलेन्टर दूतको रुपमा पठाउने संस्थाको योजना रहेको छ । सहकारीमा नराम्रा पक्ष मात्र छैन, सहकारीले समुदाय र सदस्यको फाइदाको लागि पनि धेरै काम गरिराखेका छन् भन्ने जस्त विषयमा थोरै बहस गरियो भने समाजमा सकारात्मक सन्देश जाने प्रमुख कार्यकारी अधिकृत गुरुङ्ग बताउँछन् । कार्यक्रममा युवा र सहकारी तथा युवा र सहकारीको दायित्व भन्ने विषयमा कार्यपत्र पनि प्रस्तुत गरिने भएको छ ।
संस्थामा आवद्ध १८ देखि ४० बर्षका युवामध्ये ४–५ जनाले सहकारीमार्फत् हासिल गरेको सफलता कथा र उनीहरुको अनुभव पनि सम्मेलनमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । सहकारीले पनि प्रविधि प्रयोगमा ल्याएको छ र भविष्यमा सहकारीमार्फत् व्यवसायहरु गर्न सकिन्छ भनेर सम्भावनाको खोजी गर्न आँटेको उनको भनाइ छ ।
संस्थामा ८ हजार ५ सय सदस्यमध्ये १८ देखि ४० बर्ष उमेर समुहका सदस्य ४२ प्रतिशत रहेको संस्थाले जनाएको छ । अनलाइन र संस्थाको सबै सेवाकेन्द्र मार्फत आवेदन दिन सकिने र युवा युवती दुवै समावेश हुने गरी सम्मेलनमा सहभागिता गराउने उनले बताए । संस्थाले यस्तो कार्यक्रम पहिलो पटक गर्न लागेको हो ।
विषम परिस्थितिमा अझ बढी सदस्यमाझ पुग्नुपर्छ र संस्थाको बारेमा जानकारी दिनुपर्छ भन्ने उदेश्य पनि सम्मेलनको रहेको छ । सम्मेलनमा एक सय मात्र युवालाई सहभागि गराउने र सय जना पुगेपछि आवेदन लिन बन्द गरिने भन्दै उनले फस्ट कम फस्ट सर्भिस दिने जनाए । पहिलो चरणमा सय युवालाई मात्र सहभागि गराउने र आगामी बर्षदेखि अन्य युवाहरुलाई सहभागी गराएर बर्षमा यस्ता एक÷दुई वटा कार्यक्रम गर्ने उनले जनाए ।
Leave a comment