काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्ना संस्थापक संचालकलाई ऋण तिर्न लागि ताकेता गरेको छ । बैंकले तिनकुनेस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई ३५ दिने सार्वजनिक सूचना जारी गर्दै पूर्व अध्यक्ष चन्द्र बहादुर (सीवी) तामाङका साथै संचालकहरुलाई ऋण तिर्न ताकेता गरेको हो ।
सहकारी बैंकको बानेश्वर शाखाबाट कान्तिपुरले व्यवसायी ऋण लिएको थियो । ऋणको साँवा, ब्याज, हर्जना नतिरेको तथा बारम्बार ताकेता गर्दा पनि वेवास्ता गरेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको हो ।
सूचनामा पूर्व संचालक तथा जमानीकर्ता तामाङका साथै अध्यक्ष हिमालय बिक्रम मल्ल ठकुरी, सचिव जोगलाल लामा, कोषाध्यक्ष प्रेमध्वज लामा, संचालकहरु नारायणप्रसाद रिमाल, इन्दु थापा र सानु कान्छा लामाको नाम उल्लेख गरिएको छ । संस्थाका पूर्व अध्यक्ष रहेका तामाङ सहकारी बैंकका संस्थापक संचालक समेत हुन् । यसअघि उनलाई बैंकले सम्मान समेत गरेको थियो ।
ऋण तिर्ने सूचनामा नाम प्रकाशित भएपछि तामाङले बैंकका कर्मचारीलाई फोनमार्फत धम्याएका थिए । त्यसपछि बैंकले पनि शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएको स्रोतले बताएको छ ।
कान्तिपुर सहकारी बैंकबाट २० करोड रुपैयाँ भन्दा बढी ऋण लिएको छ । उक्त ऋणका लागि संस्थाले तिनकुनेमा कित्ता नम्बर २९४, ३२९, ५०२, ३२१ को गरी २ रोपनी भन्दा बढी जग्गा धितो राखेको छ । उक्त जग्गामा हाल कान्तिपुर अस्पताल संचालनमा रहेको छ ।
पछिल्लो समयमा सर्वसाधारण सदस्यहरुको बचत फिर्ता गर्न समेत नसकिरहेको संस्थाले एक वर्षयता कर्जाको ब्याज समेत तिर्न नसकेको बताइएको छ ।

Leave a comment