काठमाडौं । सरकारलाई १३ बुँदे मागपत्र बुझाउँदै आन्दोलन घोषणा गरेको राष्ट्रिय सहकारी महासंघले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेको छ । राष्ट्रिय सहकारी महासंघले गठन गरेका सहकारी समस्या समाधान संयोजन समितिले बुधबार ओलीसँग भेट गर्दै माग पुरा गर्नका लागि आवश्यक पहल गरिदिन तथा पुरा नगरेमा आन्दोलनका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको हो ।
महासंघले यस अघि अर्थमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री, सहकारी विभागलगायतलाई १५ दिने अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएको थियो । महासंघले दिएको अल्टीमेटम जेठ २ गतेसम्म छ ।
भेटमा ओलीले सहकारी अभियानको माग सम्बोधन गराउनका लागि आफ्नोतर्फबाट ध्यानाआकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको महासंघकी वरिष्ठ उपाध्यक्ष तथा संयोजन समितिका संयोजक ओमदेवी मल्लले जानकारी दिइन् ।
त्यसैगरी सो टोलीले बुधबार नै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेलाई समेत भेटेर अभियानको मागका विषयमा छलफल गरेको थियो । रजिष्ट्रारले सहकारी अभियानमा देखिएको चुनौती समाधानका लागि आफ्नो कार्यक्षेत्रभित्र रहेर सहजीकरण गर्ने तयार रहेको बताए ।
उनले सहकारी संस्थालाई तिर्न बुझाउनुपर्ने रमक नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको ब्याज समेत सहकारी संस्थाले त्यस्तो व्यक्तिको जायजेथाबाट तोकिए बमोजिम असुल उपर गर्न सक्ने भएकाले त्यस विषयमा सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
Leave a comment