कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघको माग 

कच्चा दूध आयात रोक्न केन्द्रीय दुग्ध सहकारी संघको माग  :: Sahakari Akhabar

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले कच्चा दूध तथा दुग्धजन्य पदार्थको आयात नखुलाउन सरकारको ध्यानाकर्षण गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा वाह्य मुलुकबाट दैनिक एक लाख २० हजार लिटर कच्चा दूध आयातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले आन्दोलनको चेतावनी समेत दिएको छ ।

‘नेपालमा हाल दैनिक ३ लाख लि. धुलो दूध बनाउन सक्ने क्षमताका उद्योगहरु रहेका छन । उद्योगी र दुग्ध विकास संस्थानले किसानको दूधको भुक्तानी समयमै नगर्ने, दुर दराजको दूध नल्याउने, आनाकानी गर्ने अनि दूधको अभाव भयो भन्ने तथ्यहिन र भ्रामक समाचार छर्न उद्यत उद्योगीहरुलाई प्राथमिकता दिने राष्ट्रिय दुग्ध विकास बोर्डले किसानहरुको अभिभावकत्व भूमिका निर्वाह गर्नुपर्नेमा विपरित कार्य प्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख छ, ‘विदेशबाट कच्चा दूध आयातका कारणबाट दूधमा आत्मनिर्भर हुनुको साटो यो पेशानै धारासाही हुने अवस्थाका कारण कृषकहरु पुन आन्दोलित हुनुपर्ने अवस्थालाई मध्य नजर गर्दै कच्चा दूध आयात अविलम्ब रोक्न देशभर रहेका दुग्ध सहकारी संघ÷संस्थाहरुबाट नेपाल सरकारलाई अनुरोध गरिन्छ ।’

बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डलाई कच्चा दूध तथा दुग्धजन्य आयात रोक्न पत्र समेत पेश गरेको थियो । तर फ्लस सिजनमा समेत प्रचुर मात्रामा उपलब्ध दूधलाई उद्योगीहरुले पाउडर बनाई भण्डारण गरीरहेको अवस्थामा बोर्डले तथ्यगत अध्यन, विश्लेषण नगरि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेकोमा यस संघ गम्भिर आपत्ति जनाएको छ ।

नेपालमा १ हजार ८७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दूध संकलन हुदै आएको छ । जसमार्फत दैनिक १० लाख लिटर दुध संकलन गरी दैनिक ५ करोडको हाराहारीमा शहरको पूँजी गाउ पुर्याउदै आएको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।



Leave a comment