काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादन गर्ने भएको छ । दुलेगौँडा बजारमा निर्माणधिन डेरी उद्योगबाट घ्यू, पनिर, दही लगायतका परिकार उत्पादनको अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए ।
उद्योग स्थापनाका लागि सहकारीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्र्तगत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाससँग अनुदान सम्झौता गरेको छ । उद्योगमा स्थापनाका लागि कुल ९९ लाख २९ हजार तीन सय लागत रहने अनुमान गरिएकोमा ४९ लाख ६४ हजार ६५० अनुदान र बाँकी रकम सहकारीले साझेदारी गर्नेछ । जसमा राष्ट्रिय सहकारी बैंकले समेत ३० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
पाँच वर्ष अगाडि स्थापना भएको सहकारीले हाल किसानबाट दूध संकलन तथा बिक्री वितरण गर्दै आएको छ । सहकारीमार्फत् दैनिक एक हजार लिटर दूध बिक्री हुने गरेको छ । सहकारीले किसानलाई भैँसीको दूधको रु एक सय र गाईको दूधको रु ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।
डेरी उद्योग स्थापनाका लागि संस्थाले तीन करोड लगानी गरिसकेको छ । त्यसमध्ये एक करोड ९० लाखमा जग्गा खरिद गरेको बताइएको छ ।
‘दूध प्रशोधन गरी आवश्यक परिकार उत्पादनका लागि उपकरण आइसकेका छन्, छिट्टै नै उत्पादनको चरणमा जान्छौं’ अध्यक्ष सिग्देलले भने ।
सहकारीमा हाल एक हजार २०७ जना पुरुष र एक हजार २६८ महिला सदस्यहरु आवद्ध छन् । सहकारीको ११ करोड शेयर पुँजी रहेको छ । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको सहकारीले कृषि र उत्पादनमा जोड दिँदै लगानी गर्दै आएको छ ।
Leave a comment