केही संस्थाहरुको कमजोरीले सिंगो सहकारी अभियान बदनाम : झापाबाट ध्रुविकरण सुरु 

केही संस्थाहरुको कमजोरीले सिंगो सहकारी अभियान बदनाम : झापाबाट ध्रुविकरण सुरु  :: Sahakari Akhabar

काठमाडौं । वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या सहकारी संस्थाहरु गहिरिदै गएको छ । कतिपय संस्थाहरु सदस्यको बचत रकम समेत फिर्ता गर्न नसक्ने गरी समस्यामा परेका छन् । जसको कारण आम सर्वसाधारण सहकारी संस्थाप्रति सशंकित हुन थालेको देखिएको छ । 

समस्या बढ्दै गएपछि समाधानको लागि भन्दै काठमाडौं उपत्यकाभित्रका केही सहकारीका संचाकहरुले ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ को नामबाट आन्दोलन सुरु गरेका छन् । जसको दवाव स्वरुप राष्ट्रिय सहकारी महासंघले पनि बरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लको संयोजकत्वमा ‘समस्या समाधान संयोजक समिति’ गठन गरी सरकारलाई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ । समितिले माग पुरा नगरे जेठ २ गतेपछि सडक संघर्षका कार्यक्रमहरु घोषणा गरेर आन्दोलनमा जाने चेतावनी समेत दिइसकेको छ ।

कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध, विश्वव्यापी आर्थिक मन्दीका कारण सहकारी संस्थाहरु समस्या परेको भन्दै महासंघले आन्दोलन घोषणा गरेलगत्तै झापामा भने यस विरुद्ध ध्रुविकरण सुरु भएको छ । केही सहकारीमा देखिएका समस्याका आधारमा सिंगो अभियान नै बदनाम हुन थालेको निकर्ष सहित उनीहरुले ‘कोअपरेटिभ एलायन्स अफ झापा’ गठन गरी शुद्धिकरण अभियान सुरु भएको घोषणा गरेका हुन् । 

‘सहकारी अभियानमा देखिएका हालका समस्या अस्थायी हुन्’ एलायन्सको अवधारणापत्रमा भनिएको छ ‘यी समस्या सहकारी अभियानका नभइ केही संचालक र व्यवस्थापन पक्षका कमजोरी हुन् ।’ केही प्रारम्भिक संस्थामा देखिएका समस्याले सदस्य र सर्वसाधारणमा समेत सहकारीप्रतिको विश्वासमा संकट उत्पन्न भएको र यसका लागि शुद्धिकरण अभियान आवश्यक भएको अवधारणापत्रमा उल्लेख छ । 

‘सबै सहकारीहरु ठग, फटाहा चोर हुन्, यीनीहरु विग्रीए, सकिए भन्ने हिसावले भइरहेको प्रचारलाई रोक्न राम्रा सहकारीहरुको ध्रुविकरण जरुरी छ’ एलायन्सका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले भने, ‘झापाबाट हामीले त्यसको सुरुवात गरेका छौं ।’ सहकारी विरुद्ध भइरहेको चौतफी आक्रमण रोक्ने र सहकारी विरुद्धको प्रचारलाई चिर्ने फोरमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । 

एलायन्सले गत सोमबार पत्रकार सम्मेलन नै गरेर एलायन्सको घोषणा गरेको हो । सात सदस्यीय कोअपरेटिभ एलायन्स अफ झापाको बोर्डमा रामचन्द्र उप्रेती, टसबहादुर प्रधान, मोहन शिवाकोटी, रुद्रमणि श्रेष्ठ, दुर्गा भुर्तेल खतिवडा, महेन्द्रकुमार गिरी र खोमप्रसाद बगाले रहेका छन् । एलायन्सको बैठकको अध्यक्षता चक्रीय प्रणालीमा गरिने बताइएको छ । 
 



Leave a comment