हेल्लो कञ्चनजंघा र नयन सहकारीको विवादमा जिल्ला संघको वक्तव्य : विधिमार्फत समस्या समाधान गरौं 

हेल्लो कञ्चनजंघा र नयन सहकारीको विवादमा जिल्ला संघको वक्तव्य : विधिमार्फत समस्या समाधान गरौं  :: Sahakari Akhabar

काठमाडौं । ललितपुरका दुई सहकारी संस्थाहरु, हेल्लो कञ्चनजंघा बचत तथा ऋण र नयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षबीच देखिएको विवाद आपसी समझदारीमा समाधान गर्न जिल्ला सहकारी संघ ललितपुरले अनुरोध गरेको छ ।

संघले आईतबार विज्ञप्ती जारी गर्दै नयन सहकारीका केशव दाहालले फेसबुकमा लेखेको विषय र त्यसलाई लिएर जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरले जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको छ। ‘हामी सहकारी अभियानमा देखिएका हरेक समस्याप्रति गम्भिर छौं ।

हरेक समस्यालाई विधिमार्फत समाधानको पक्षमा छौं । जिम्मेवार सहकारीकर्मीको भूमिका निर्वाहा गर्दै उचित विधिमार्फत समस्या हल गर्न सकिन्छ भन्ने मान्यता अनुसार आपसी समझदारीमा समस्या समाधान गर्न अनुरोध गर्दछौं’ वक्तव्यमा भनिएको छ ।

जिल्ला संघका अध्यक्ष केदार गोर्खालीले सहकारीको विषयलाई लिएर एक अर्कालाई सार्वजनिक आक्षेप लगाउनु गलत भएको र यसलाई आपसी छलफलबाट समाधान गर्नुपर्ने बताए । ‘अहिले हामी दुवै पक्षले एकअर्कालाई लगाएको आरोपबारे केही बोलेका छैनौं’ उनले भने, ‘तर, दुवै पक्षले अपनाएको प्रक्रिया गलत भएको र यसले सहकारीमा नकारात्मक सन्देश गएको छ ।’ 

बैशाख १२ गते मंगलबार विहान १० : ४८ बजे नयन बहुउद्देश्यीयका अध्यक्ष केशव दाहाल फेसबुकमा ‘सुसाइट नोट’ लेखेर वेपत्ता छन् । उनले आफ्नो स्ट्याटसमा जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका अध्यक्ष समेत रहेका हेल्लो कञ्चनजंघाका अध्यक्ष रामहरि बजगाईका कारण आफू आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।

उनले मर्जरपछि कोषको रकम व्यक्तिगत रुपमा नदिएकाले विगठन गरिएको, संचालक बन्न ५ लाख घुस मागिएको, अपहरण गरिएको जस्ता आरोप लगाएका छन् । बजगाईलाई विभिन्न आरोप लगाउदै दाहाल वेपत्ता भएपछि जिल्ला बचत संघले गत बुधबार प्रेस विज्ञप्ती जारी गर्दै संघ र अध्यक्षलाई जोडेर भ्रामक र झुटा कुरा लेखेको भन्दै कारवाहीको समेत माग गरेको थियो । स्ट्याटस लेखेर वेपत्ता भएका दाहाल अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनी भारत गएको आशंकामा परिवारले खोजविन गरिरहेको बताइएको छ ।

जिल्ला संघका अध्यक्ष गोर्खालीले यस विषयमा परिवार, संस्था वा संघबाट कुनै आधिकारीक जानकारी नआएको बताए । ‘यस विषयमा हामीलाई अहिलेसम्म आधिकारिक जानकारी छैन’ उनले भने, ‘विषयको गाभिर्यताका आधारमा हामीले  वक्तव्य मात्र जारी गरेका हौं, सहयोग आवश्यक भएमा दुवै पक्षलाई सहजिकरण गर्छौं ।’



Leave a comment