हेल्लो कञ्चनजंघा र नयन सहकारीबीचको विवाद सतहमा : ‘सुसाइट नोट’ लेखेर नयनका अध्यक्ष वेपत्ता, बचत संघमार्फत वजगाईको प्रतिरक्षा 

हेल्लो कञ्चनजंघा र नयन सहकारीबीचको विवाद सतहमा : ‘सुसाइट नोट’ लेखेर नयनका अध्यक्ष वेपत्ता, बचत संघमार्फत वजगाईको प्रतिरक्षा  :: Sahakari Akhabar

काठमाडौं । २०७८ असोजमा ललितपुरका दुई सहकारी संस्थाहरु, हेल्लो कञ्चनजंघा बचत तथा ऋण र नयन बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भयो । एकीकरण पश्चात हेल्लो नयन बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार समेत सुरु भयो । तर, एकीकरण लामो समय टिक्न सकेन । संयुक्त कारोबार सुरु गरेको डेढ वर्षमै संस्थाहरुबीच विगठन भयो । विगठनपछि दुबै संस्थाले आ–आफ्नो नामबाट कारोबार सुरु गरे । 

तर, बैशाख १२ गते मंगलबार विहान १० :४८ बजे नयन बहुउद्देश्यीयका अध्यक्ष केशव दाहाल फेसबुकमा ‘सुसाइट नोट’ लेखेर वेपत्ता भएपछि दुई सहकारी संस्थाबीच एकीकरण तथा विगठनसम्मको विवाद सतहमा आएको छ । दाहलले जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका अध्यक्ष समेत रहेका हेल्लो कञ्चनजंघाका अध्यक्ष रामहरि बजगाईका कारण आफू आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेपछि सहकारी क्षेत्र तरंगित भएको छ । 

‘अन्तिम विकल्प’ शिर्षक दिएर दाहालले प्रकाशित गरेको नोटमा नयन सहकारीलाई विस्थापित गर्न सहकारी अभियानकै नेता लागेको बताउँदै वजगाईको नाम उल्लेख गरेका छन् । संस्था मर्जर गरेपछि संचालक हुन ५ लाखको बार्गेनिङ गरिएको, मर्जर गर्दा नयनको विभिन्न शिर्षकमा रहेका कोषहरुको ३० लाख रकम व्यक्तिगत खातामा सार्न भनिएको, पैसा नदिएको निहुँमा प्रक्रिया पुरा गरी मर्जर गरेको संस्था विगठन गरिएको, विगठनपछि गलत प्रचारबाजी गरी संस्थामा बचत र सेयर फिर्ता माग्नेको लाइन लगाइएको, रातको २ बजे अपहरण गरेकोलगायतका आरोप लगाइएको छ । यस्तै नोटमा निवर्तमान कोषाध्यक्ष रामकाजी पौडेल र सचिव मुकुन्द तिमल्सेनाको मिलेमतोमा फाउन्डेसमा ठूलो लगानी भएपनि हाल उपाध्यक्ष, सचिव र कोषाध्यक्ष मिलेर बस्नखान नदिएको उल्लेख गरेका छन् ।

तर, संघका अध्यक्ष बजगाईले भने दाहालको आरोप कपोल कल्पीत रहेको दावी गरे । मर्जरपछि दाहालले सबै हिसावकिताव नमिलाएकाले प्रक्रिया पुर्याएर नै विगठन गरिएको उनले बताए । दाहालले हेल्लो कन्चनजंङघाबाट ३ करोड ऋण लिएकाले असुलीको ताकेता मात्र गरिएको तर अपहरण नगरिएको उनले दावी गरे ।

सहकारी अभियानको नेताको रुपमा आफुले सबै सहकारीहरुलाई सहयोग गर्ने समेत बजगाईले बताए । दाहाल वेपत्ता भएपछि उनको खोजविनका लागि परिवार र संस्थालाई आफुले सहजिकरण समेत गरिरहेको उनले बताए । 

जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरद कुमार महर्जनले भने फेसबुकमा स्ट्याटस आएलगत्तै प्रहरी प्रशासनलाई जानकारी गराइएको र परिवारले प्रहरीमा उजुरी समेत दिएको बताए  । ‘सामाजिक संजालमा लेखेकै विषयमा केही भन्न मिल्दैन’ उनले भने, ‘तर बचत संघका अध्यक्षलाई समेत जोडेर गम्भिर विषय उल्लेख भएकाले छानविन तथा गल्ती गर्नेलाई कारवाही हुनुपर्छ ।’ यसबारेमा संघले प्रमुख जिल्ला अधिकारीलगायतसँग भेटेर अनुरोध गरेको र संस्था तथा परिवारसँग समन्वय गरिरहेको उनले बताए ।

अध्यक्षको प्रतिरक्षामा संघ

दाहालले बजगाईलाई विभिन्न आरोप लगाउदै वेपत्ता भएपनि जिल्ला बचत संघ भने अध्यक्षको प्रतिरक्षामा उत्रिएको छ । संघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै संघ र अध्यक्षलाई जोडेर भ्रामक र झुटा कुरा लेखेको भन्दै कारवाहीको समेत माग गरेको छ ।

‘इतिहास बोकेको सहकारी संघ लगायत सम्पूर्ण सहकारी क्षेत्रमा नै ठूलो आँच आउने गरी मिति २०८०/०१/१२ गते सामाजिक सञ्जाल मार्फत केशव दाहालको फेसबुक पेजमा यस संघको नाम समेत जोडी संघ र संघका अध्यक्षज्यूलाई समेत कपोकल्पित, भ्रामक र झुठा कुराहरु समेत लेखी उक्त नोट सामाजिक सञ्जालबाट प्रचार–प्रसार गरेको हुँदा सो कार्यप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तीमा उल्लेख छ, ‘सहकारी सदस्य र संघको सम्वृद्धी, विकास र सहकारी क्षेत्रप्रति नै वाधा पुग्ने दुरासायपूर्ण र अपराधिक घटना, क्रियाकलाप सचेत विवेकशिल सामाजिक प्राणीबाट हुनै नसक्ने भएकोले यस प्रकारका क्रियाकलापप्रति खेद एवं दुःख व्यक्त गर्दै यस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई सम्बन्धित निकाय मार्फत कारवाहीका लागि समेत जोडदार माग गर्दछौं ।’

अध्यक्षको प्रतिरक्षा गरेको संघले वेपत्ता भएका सदस्यको सुरक्षाको विषयमा भने केही बोलेको छैन । जबकी नयन सहकारी समेत संघको सदस्य हो । सुरुमा बचत तथा ऋण सहकारी रहेको नयन पछिल्लो समय उद्देश्य परिवर्तन गरी बहुउद्देश्यीय बनेको हो । संस्थाको बचत संघ ललितपुरमा ऋण रहेको बताइएको छ । 

यस्तो छ दाहालले लेखेको सुसाइट नोट :

यस्तो छ संघले प्रकाशित गरेको विज्ञप्ती : 



Leave a comment