काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि नै वित्तीय क्षेत्रमा तरलता अभाव देखिन थाल्यो । समस्या विस्तारै सहकारी क्षेत्रमा पनि सर्न थालेपछि केही संस्थाहरु बचतकर्ताको निक्षेप समेत फिर्ता गर्न नसक्ने अवस्थामा पुगे । जसको प्रभाव सर्वसाधारणमा सहकारीप्रति नकारात्मकता बढ्दै गयो । फलस्वरुप सहकारीमा बचत गर्नेभन्दा झिक्नेको संख्या बढ्दै गयो ।
अर्कोतर्फ आर्थिक मन्दीलगायतका कारण ऋण असुली समेत प्रभावित भएपछि सहकारीहरुको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौं उपत्यकाका केही सहकारीमा देखिएको तरलताको समस्या भुसको आगोजस्तै दिनप्रतिदिन सल्किदै जिल्ला जिल्लासम्म पुग्न थालिसकेको छ ।
संस्थाहरु समस्यामा पर्न थालेपछि सहकारीका संचालकहरुले अभिभावक निकाय केन्द्रीय संघ र महासंघका साथै नियामक निकाय संघिय सहकारी विभागलाई गुहारे । उनीहरुको माग थियो : सर्वसाधारण सहकारीप्रति विश्वस्त हुने गरी सकारात्मक सन्देश जारी गर्ने र बैंकले ब्याज बढाएकाले सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउने । तर, सहकारीका संचालकहरुको मागप्रति अभियान र सरकार संवेदनशिल भएन ।
महासंघले पनि लामो समय समुदायमा आधारित नभएका केही सहकारीमा मात्र समस्या भएको भन्दै विज्ञप्ती जारी गरेर पन्छियो । सहकारीको समस्यामा संवेदनशिल नभएको भन्दै संचालकहरुले दवावमुलक आन्दोलन गर्न महासंघ र संघका नेताहरुलाई दवाव दिए । अघिल्लो वर्ष सन्दर्भ ब्याजदर विरुद्धको आन्दोलनपछि पाएको नकारात्मक प्रतिक्रियाले झस्केका नेताहरु आन्दोलनमा जान डराए ।
एकातर्फ समस्याबारे सरकार र अभिभावक संघको वेवास्ता अर्कोतर्फ संस्थामा बचत फिर्ताको दवाव झेलिरहेका संचालकहरुले नै २०७९ फागुनदेखि ‘सहकारी वचाऔं अभियान’ का नामबाट आन्दोलन सुरु गरे । नरेन्द्र विष्ट संयोजक रहेको अभियानमा काठमाडौं उपत्यकाका समस्या उन्मुख सहकारीका संचालकहरु जोडिएका छन् ।
फागुन १३ गते महासंघमा ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरेका उनीहरुले सहकारी दिवस र महासम्मेलनको सम्मुखमा महासंघ परिसरमै रिले अनसन सुरु गरेपछि महासंघ झुक्न बाध्य भयो । आन्दोलनकारीहरुले महासम्मेलनमा कालो झण्डासहित नारा लगाउने तयारी गरेपछि नेताहरु डराए र सम्झौता गर्न बाध्य भए । यस्तै सहकारी महासंघका नेता लक्षित गर्दै आक्रामक नारा उठाउन थालेपछि आन्दोलनकारीबाट सहकारीका नेताहरु भने डराउन थालेका छन् ।
महासंघले बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा समन्वय समिति बनाएर थामथुम बनाएको छ । महासम्मेलन लगत्तै आन्दोलन गर्ने भनेर घोषणा गरेको समितिले २ वटा बैठक बसेपनि कुनै काम अघि बढाउन सकेको छैन ।
समन्वय समितिले मंगलबार पनि केन्द्रीय संघहरुका साथै काठमाडौं उपत्यकाका जिल्ला संघहरुका नेताहरुसँग छलफल गरेको थियो । छलफलमा सहभागि एक केन्द्रीय संघका अध्यक्षका अनुसार सहकारी वचाऔं अभियानमा सक्रिय नेताहरुबाट महासंघदेखि जिल्ला संघका नेताहरु डराउन थालेको अनुभव सुनाए ।
‘जव बचाऔं आन्दोलनका नेताहरुसहितको बैठक हुन्छ, महासंघका नेताहरुको बोली नै छुट्टै हुन्छ’ उनले भने, ‘न उनीहरुको माग बोकेर महासंघ हिड्न सक्छ, न उनीहरुको विरोध नै ।’ बचाऔं अभियानका नेताहरु सहभागी भएपछि बैैठकको माहोल नै बेग्लै हुने अर्को नेताले बताए ।
विषयगत केन्द्रीय संघका नेताहरु सबै सहकारीमा समस्या नभएको र केही सहकारीमा देखिएको समस्यालाई लिएर सामान्यकरण गर्न नहुँने पक्षमा भएपनि बैठकमा भने बोल्न सक्दैनन् । ‘सबै सहकारीमा समस्या छैन, केही सहकारीको समस्यालाई लिएर महासंघ सडकमा उत्रिनु हुदैन भन्ने धेरै साथीहरुको राय छ’ उनले भने, ‘जसले फरक धारणा राख्यो त्यसलाई व्यक्तिगत टार्गेट बनाउने भएकाले कोही पनि बोल्नुहुन्न, जो बोल्नुहुन्छ, स्पष्ट कुरा आउदैन ।’
बचाऔं अभियानले केही समयअघि गरेको काठमाडौंको भेलामा सहकारीका नेताहरुले नेतृत्व गर्न नसकेको भन्दै उनीहरुलाई कालोमोसो दल्नुपर्नेसम्मको अभिव्यक्ति आएको थियो । त्यसपछि सहकारी नेताहरुको स्वर बदलिएको छ । महासंघको विज्ञप्तीको भाषा पनि बदलिएको छ ।
बचाऔं अभियानको नेतृत्वमा रहेका एक सहकारीकर्मीका अनुसार अहिले समस्यामा रहेका भनिएकै संस्थाबाट संघ महासंघका नेताहरुले कुनै न कुनै फाइदा उठाएका छन्, त्यसैले उनीहरु विरुद्धमा बोल्न सक्दैनन् ।
Leave a comment