काठमाडौं । सहकारी संघसंस्थाहरुसँग होलसेल वित्तीय कारोबार गर्ने राष्ट्रिय सहकारी बैंकले एक वर्षपछि ब्याजदर घटाएको छ । तरलताको अवस्थामा सुधारसँगै बैंक, वित्तीय संस्थाहरुले पनि ब्याजदर घटाएपछि सहकारी बैंकले पनि निक्षेप र कर्जाको ब्याजदर घटाएको हो ।
बैंकले शुक्रबारदेखि लागू हुने गरी मुद्दतीमा निक्षेपमा अधिकतम ११.७५ प्रतिशत र ऋणमा अधिकतम १३.७५ प्रतिशत ब्याजदर लागू गरेको छ । यसअघिसम्म मुद्दति निक्षेपमा १३.५० र ऋणमा १४ प्रतिशतसम्म ब्याजदर कायम गर्दै आएको थियो ।
वित्तीय क्षेत्रमा तरलता अभाव भएपछि बैंकले एक वर्षअघि एनसीबीएल सम्बृद्ध मुद्दती खाता सुरु गर्दै अधिकतम ब्याजदर १३.५० प्रतिशतसम्म ब्याजदर प्¥याएको थियो । शुक्रबारदेखि भने उक्त योजना बन्द गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । यस्तै ३ देखि ४ वर्षसम्मको मुद्दति निक्षेपमा भने ११.७५ प्रतिशत ब्याजदर तोकिएको छ ।
‘सरकारको नीति र बजारको आवश्यक्ता ब्याजदर घटाउनुपर्छ भन्ने छ’ सिइओ गुरागाईले भने, ‘तरलताको अवस्था विश्लेषण गर्दै ब्याजदर समायोजन गरेका छौं, यसले सहकारीका संघसंस्था र सदस्यहरुलाई राहत हुन्छ ।’
बैंकले ऋणको ब्याजदर ०.२५ देखि ०.५० प्रतिशतसम्म घटाएको छ । बैंकमा ऋणको अधिकतम ब्याजदर १३.७५ प्रतिशतसम्म झरेको छ ।
सहकारी बैंकले प्रकाशित गरेको मासिक प्रतिवेदन अनुसार चैत मसान्तमा २४.३८ प्रतिशत तरलता अनुपात रहेको छ । बैंकसँग माघमा २२.३८ प्रतिशत र फागुनमा २३.८२ प्रतिशत तरलता थियो ।
निक्षेप बृद्धि भएपनि ऋण लगानी घटाएर बैंकले तरलताको अवस्था बलियो बनाएको हो । फागुन मसान्तमा बैंकसँग ४३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप रहेकोमा चैत मसान्तमा बढेर ४४ अर्व ४३ करोड रुपैयाँ पुगेको छ । निक्षेप बढेपनि कर्जा लगानीमा भने गिरावट देखिएको छ । फागुन मसान्तसम्ममा बैंकले ३३ अर्ब ८९ करोड रुपैयाँ ऋण प्रवाह गरेकोमा चैतमा ३३ अर्ब ६४ करोड रुपैयाँमा झारेको छ ।
पछिल्लो समय बैंकले ऋण लगानीमा कडाइ गर्दै असुलीमा जोड दिएको छ ।
Leave a comment