काठमाडौं । ब्याजदरको चर्को विरोध हुन थालेपछि बैंक, वित्तीय संस्थाहरुले ब्याजदर घटाउन थालेका छन् । ब्याजदर घटाउन प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नसम्मले दवाव दिएपछि बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको छ ।
वैशाख १ गतेदेखि बाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतीको ब्याजदर ७.४९ प्रतिशत हुनेछ । यस्तै साधारण निक्षेपको ब्याजदर ५.४५ देखि ७.४५ कायम गर्नेछन् ।
यसअघि निक्षेप साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइरहेका थिए । व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ९ प्रतिशत थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सहकारीबाट निक्षेप बैंकमा सरेको थियो । बैंकमा ब्याज घट्न थालेपछि सहकारीमा निक्षेप फर्किनेमा संचालकहरु आशावादी देखिएका छन् ।
‘हिजो बैंकको ब्याजदर उच्च हुँदा सहकारीको निक्षेप बैंकमा गयो’ एक संचालकले भने, ‘अब बैंकको ब्याजदर घट्न थालेपछि सहकारीमा फेरी निक्षेप फर्किन सक्छ ।’
तरलताको अभाव भएपछि बैंकहरुले १० गुणासम्म भुक्तानी गर्ने योजना सहित मुद्दति निक्षेपका योजना ल्याएका थिए । त्यसपछि सहकारीबाट निक्षेप झिकेर बैंकमा राख्ने क्रम बढेको थियो ।
ठूलो मात्रामा निक्षेप बाहिरिएसँगै सहकारी संस्थाहरु तरलता अभावको समस्या भोगिरहेका छन् ।
Leave a comment