झापा । बैंक, वित्तीय संस्था र सहकारी विरुद्ध आन्दोलनको सुरुवात भएकै जिल्ला झापाबाट सहकारी जागरण अभियानको पनि सुरुवात भएको छ । बैंक, वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भन्दै अफवाह फैलिदै गएपछि यसले सहकारी संस्थाहरु समेत प्रभावित हुन थालेपछि जिल्ला सहकारी संघ झापाले भने ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सुरु गरेको हो ।
सहकारीमा देखिएका समस्याहरुबाट संस्थालाई जोगाउने र यसको सामना गर्न सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले सदस्य जागरण अभियान सुरु गरिएको संघका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए ।
संघले चैत ८ सम्म जिल्लाका विभिन्न चार स्थानमा गोष्ठी सञ्चालन गर्ने योजना अनुसार आइतबार विर्तामोडमा पहिलो गोष्ठी सम्पन्न भएको छ । यस्तै चैत ६ गते धुलाबारी, चैत ७ गते दमक र चैत ८ गते दुर्गापुरमा गोष्ठी संचालन गर्ने संघले जनाएको छ ।
आईतबार भएको गोष्ठीमा बिर्तामोड, हल्दिबारी र अर्जुनधारामा सञ्चालित सहकारी संस्थाबाट १४० जना प्रतिनिधिहरुको सहभागितामा थियो । जिल्ला संघका सञ्चालक सदस्य तथा २ नं. क्षेत्रीय संयोजक केशवप्रसाद बस्नेतको अध्यक्षतामा आयोजित गोष्ठीका सहभागीहरुले अभियानलाई जोगाउन सहकारीका सदस्यहरु र संस्थाका सञ्चालकहरु नै जागरुक हुनुपर्ने आवश्यकता औल्याए ।
‘जानीजानी गल्ती गर्नेहरुका लागि हाम्रो केही लाग्दैन, पछि उहाँहरु नियमानुसार दण्डित हुनुहुन्छ । तर अरुको लहैलहैमा लागेर कर्जा छुट हुन्छ, ब्याज छुट पाइन्छ भनेर हल्लाका कारण अहिले साँवा ब्याज तिर्न नचाहनेहरुका हकमा संस्था जागरण तथा संरक्षण गोष्ठी फलदायी हुनेछ’ संघका अध्यक्ष गणेश ढकालले बताए ।
संघका सचिव दंगालले सहकारी ऐन २०७४ मा भएको व्यवस्था सरकार र मातहत विभागले कार्यान्वयन गरिदिने हो भने आजका समस्याहरु स्वतः किनारा लाग्ने दावी गरे ।
गोष्ठीको सहजीकरण बचत तथा ऋण सहकारी केन्द्रीय संघका पूर्व प्रमुख कार्यकारी अधिकृत कुवेर निरौलाले सिङ्गो सहकारी अभियान अप्ठ्यारोमा परेको नभई बचत तथा ऋणको कारोबारमा मात्र समस्या सिर्जना भएको बताए । प्रारम्भिक सहकारी संस्थाका तीन पक्षहरु सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीबीच सक्रियता र नीतिगत तालमेल मिलेको अवस्थासम्म कुनै सहकारी धरासायी बन्नै नसक्ने उनले दावी गरे ।
हरेक सहकारी संस्थाले आफ्ना सदस्यहरुसँग आत्मीय सम्बन्ध बनाउने, उनीहरुलाई आफ्नो संस्थाप्रति विश्वस्त राख्ने, भविष्यको सुरक्षातर्फ ध्यानाकर्षण गराउने, सदस्यहरुमाझ कल्याणकारी कार्यहरु विस्तार गर्नु नै आजको समयमा सदस्य जागरणका लागि पर्याप्त हुने निरौलाले बताए । यस्तै सदस्य संरक्षणका लागि उनीहरुको वर्गीकरण, वर्गीकरणका आधारमा उपयुक्त सेवा विविधिकरण, पारदर्शी सूचना र मूल्य निर्धारण, सदस्य सम्मान र अपनत्वको भावनामा निरन्तरता, सदस्यको गुनासो व्यवस्थापन आदि कार्यहरु गर्न समेत उनले सुझाव दिए ।
Leave a comment